हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – पछिल्लो एक महिनाको अवधिमा केही दैनिक उपभोगका सामानहरू– जस्तै: खाने तेल र निर्माण सामग्रीमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएकाे देखिएको छ, त्यसलाई स्वीकार गर्नुपर्छ ।
के कारणले यसको मूल्य बढेर आयो, एक्कासी बढाउनुपर्ने थिएन भन्ने लागेर हामीले बजारमा अनुगमन टोली पठायाैँ । यसबारेमा हामी आफै सामान किन्न जाँदा पनि बुझेर र उद्योगी व्यवसायीसँग विवरण मागेर छलफल गरिरहेका छौँ ।
विदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगीले कच्चा पदार्थकै मूल्य बढेर आएकाले मूल्य बढाउनुपरेको भनेका छन् । अर्कोतर्फ, उद्योग र थोकबाट मूल्य बढेर आएकाले बजार भाउ बढेको व्यापारीले बताउँछन् । यी दुई वटै कुरालाई हामीले नजिकबाट नियालिरहेका छौँ, विश्लेषण गरिरहेका छौँ ।
कतिपय कुरा कच्चा पदार्थमै देखिएको विषय विदेशी वेबसाइटमै हेरियाे भने पनि देखिँदो रहेछ । खासगरी निर्माण सामग्रीको मूल्य बढेकै देखिन्छ । त्यस्तै, तेलको लागि चाहिने कच्चा पदार्थ अर्जेन्टिनालगायतका देशबाट ल्याउनुपर्ने हुन्छ, त्यहाँ सहजरूपमा उपलब्ध भएन, मूल्य पनि बढ्यो भन्नुभएको छ ।
व्यवसायीले त्यति नै रुपैयाँ बढाउनुपर्ने हो वा होइन भन्ने विषयमा हामीले हेरिरहेका छौँ । बजारमा जाँदा देखिएका खराबी सामग्रीका सम्बन्धमा त हामीले कारबाही गरिरहेकै हुन्छौँ । विदेशबाट ल्याएर मूल्य राख्दा कतै गलत भएको छ कि भन्ने विषय झट्टै भनिहाल्न नसकिँदाे रहेछ । त्यो विषयमा हामी टुङ्गोमा पुग्न बाँकी छ । यदि अस्वाभाविक बढाएको भए व्यवसायीलाई बोलाएर यतिसम्म मात्रै बढाउन पाउनुहुन्छ भनेर भन्ने छौँ ।
बजारमा फरक–फरक खालकाे स्वभाव देखिन्छ । एउटा उद्योगले मूल्य बढाउँदा सबैतिर प्रभाव नपार्ने रहेछ । फेरि कुनै सामानको मूल्य घटेको पनि छ, त्यो पनि हेर्नुपर्ने हुन्छ । तर उपभोक्तालाई सामग्रीकाे मूल्य बढ्दा असर पर्ने हुँदा हाम्रो चासो यसैमा छ ।
यदि कसैले पुरानो स्टकका सामानमा नयाँ मूल्य राख्छ भने हामी कारबाही गर्छाैँ । उद्योगले पनि मूल्य निर्धारण गरेर गलत गरेको भए सच्याउन भन्छौँ । व्यवसायी सबै गलत छैनन्, कतिपयले इमानदारितापूर्वक जति बढेको छ त्यति बढाएर काम गर्नुभएको छ ।
हामीले उपभोग गर्न पाउनुपर्छ, विदेशमा बढे पनि यहाँ सस्तै खान पाउनुपर्छ भन्यौँ भने उपभोक्ता पनि उत्पादनमा लाग्नुपर्याे नि त ! उपभोक्ता सचेत भएर सामानको गुणस्तरियता र मूल्यवृद्धिको विषयमा हेर्नुपर्याे, त्यसलाई म समर्थन गर्छु तर व्यवसायीहरूले गरेका काम सबै गलत हो चाहिँ भन्नुभएन ।
यो मूल्यवृद्धिलाई नियन्त्रण गर्नका लागि उपभोक्ता, नियामक निकाय, सञ्चारकर्मी सबै मिलेरै जाने हो । तर एउटा व्यक्तिले गरेको गल्तीलाई सबैले गरेकाे भनिदियो भने राम्रो हुँदैन होला । त्यो हुनाले गल्ती जसले गर्छ उसलाई चाहिँ कानुनले समात्ने र कारबाही गर्ने हो । यसमा विभागले जादु देखाउन सक्दैन, हामी दिनदिनै गएर १५/२० वटा फर्ममा अनुगमन गरिरहेका छौँ ।
हरेक जिल्लामा त्यो काम साझेदारीमा गरेका छौँ, हामीले मात्रै गर्छौँ भनेका छैनौँ । यसलाई प्राथमिकता दिएर हेर्ने काम सबै निकायको होला नि त होइन ? हामी बजारमा नगएको भए, कारबाही नगरेको भए विभागले केही गरेन भन्ने हुन्थ्यो, अनुगमनको तथ्याङ्क हेर्ने हो भने दिनदिनै कारबाही देखिएको छ । तर पनि किन व्यवसायीको प्रवृत्ति फेरिएन भन्ने तपाईँको प्रश्न हुन सक्छ । त्यसमा सबैले सरोकार राख्न जरुरी छ । हामीले पुराना कुरा उठाउँदै आयौँ, व्यवसायीहरू नयाँ–नयाँ थपिँदै आए ।
उनीहरूले चाँहि चलाउँदै गर्ने पछि कानुनी कुरा पूरा गर्ने भन्ने रूपमा बुझ्छौँ, भनेपछि हामी सबै व्यापारी हुन खोज्दा रहेछौँ । त्यो खालको प्रवृत्ति देखिएको छ व्यापारीमा । अब यसलाई नजिकको सरकारले भनिदिनुपर्याे, त्यो लाइनमा हामी अघि बढ्न खोजेका छौँ ।
नजिकको सरकार भनेको अहिले पालिका, अलि बृहतमा प्रदेश तहले पनि यसलाई एजेण्डा बनाएर अघि जानुपर्छ । त्यहीअनुसार नै उहाँहरूलाई अनुशिक्षण दिएर बजार नियन्त्रण अधिकृतहरू तोकेर अगाडि बढेका छौँ । अब यो सुधार हुँदै जानेछ भन्नेमा आशावादी छु ।
व्यवसायीहरूले म्याद सकिएको सामान पनि बेचिदिने, उत्पादकहरूले फिर्ता नलिने यी कुरालाई पनि हामीले व्यवसायीहरूलाई बोलाएर उपभोक्तालाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिएका छौँ ।
यो विषय अझै पनि पूरै नियन्त्रणमा आएको जस्तो लाग्दैन, त्यही भएर हाम्रो टोली अनुगमनमा जाँदा म्याद सकिएका सामान बेचेकाे/नबेचेको, सामानमा मिसावट भएकाे/नभएकाे भन्ने विषयमा ध्यान दिएर हेर्नुहुन्छ ।
हाम्रो अनुगमन नियमित छ, मनाेमानी गर्नेलाई हामी जुनै बेला पनि कडा कारबाही गर्न तत्पर छौँ । अहिले विभागले दैनिकरूपमा चार वटा टोली बनाएर काठमाण्डौ उपत्यकामा अनुगमनलाई निरन्तरता दिएको छ ।
(उद्योग आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीसँगको कुराकानीको आधारमा)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।