पत्रकार देख्नेबित्तिकै डराउनुपर्ने बेला आयाे : मन्त्री गुरुङ

 पुस २८, २०७७ मंगलबार १६:५९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।  

मन्त्रालयमा मङ्गलबार पत्रकार महासङ्घ काठमाण्डाै जिल्ला शाखाका प्रतिनिधिसँगको भेटमा मन्त्री गुरुङले अहिले भइरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व व्यवस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भइरहेको बताउनुभयो । 

अहिले पत्रकार देख्नेबित्तिकै डराउनुपर्ने अवस्था रहेको उहाँले टिप्पणी गर्नुभयो । सरकारले राम्रो काम गरे पनि विरोध नै गर्नुपर्ने भन्दै पत्रकारिता पेसाको सम्मानका लागि सच्चिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

राम्रो कामको प्रशंसा प्रतिपक्ष दलले गरेकाे भए पनि सञ्चार जगत किन पूर्वाग्राही भएकाे भन्दै आश्चर्य व्यक्त गर्नुभयो । मन्त्री गुरुङसँगको भेटमा काठमाण्डाै शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।   

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया