खेलाडीलाई गृहमन्त्रीकाे आह्वान : ‘प्रचण्ड–नेपालले नेतृत्व गरेको गुटमा हाेइन हाम्राे पक्षमा उभिनुस्’

 पुस २८, २०७७ मंगलबार १७:५७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पूर्ण खेलाडीहरुलाई आह्वान गर्नुभएको छ । 

ललितपुरमा मङ्गलबार अखिल नेपाल खेलकुद महासङ्घको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाइ राजनीतिक स्थायित्व कायम गराउनका लागि प्रधानमन्त्री ओलीको पक्षमा उभित्र खेलाडीहरुलाई आह्वान गर्नुभएको हो । उहाँले प्रचण्ड–नेपाल समूहलाई ‘गुट’ को संज्ञा दिदै पार्टी फुटाउने र गुटबन्दी गर्नेको नभइ पार्टीको पक्षमा उभिन निर्देशन दिनुभयो ।  

उहाँले भन्नुभयो, ‘हामी पार्टीको पक्षमा उभिने कि गुटको पक्षमा उभिने ? नेकपा फुट्नु र फुटाउनु ठिक थियो त ? नेकपा फुटाएर देशको विकास सम्भव छ ? नेकपा संसदीय दललाई विभाजन गरेर र नेकपाको नेतृत्वलाई अपदस्थ गरेर सरकारको प्रधानमन्त्रीलाई हटाएर के देशमा राजनीतिक स्थायित्व कायम हुन्छ ? देश विकासको दिशामा अघि बढ्न सक्छ ? यो प्रश्न हाम्रो अगाडि उभिएको छ । स्थिरताको पक्षमा उभिने कि अस्थिरताको पक्षमा उभिने ?’ 

उहाँले जनसङ्गठनहरू पनि विभाजित भएको अवस्थामा प्रचण्ड–नेपालले नेतृत्व गरेको गुटमा नभइ ओली बादलले नेतृत्व गरेको पार्टीको पक्षमा उभिन आह्वान गर्नुभयो ।

देशमा अस्थिरता चाहनेहरु र एकता तथा स्थिरता चाहनेहरु विभाजित भएको र यस्तो अवस्थामा देशप्रेमी खेलाडीहरु स्थिरता र एकताको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो । साथै भेलामा भएको उपस्थितिले पनि स्थिरताको पक्षधर धेरै भएको पुष्टि गरेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया