छिटाे चुनाव गरेर सरकारले फजुल खर्च बढाउन खाेजेकाे नबुझिदिन...
माघ १२, २०७७ सोमबार
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाउनुभएको छ ।
बुधवार दाहाल–नेपाल समूहको काठमाण्डौ भेलालाई सम्बोधन गर्दै वाग्मती प्रदेश इञ्चार्ज शाक्यले प्रधानमन्त्री ओलीले कम्युनिस्ट मूल्य, मान्यता विपरीत प्रतिगमन गरेको दाबी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओली प्रतिगमनकारी, तनाशाही र स्वेच्छाचारी भएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘केपी ओली कमरेड होइन प्रतिगमनकारी हो । तानाशाही हो । स्वेच्छाचारी हो । उहाँले संविधानमाथि धावा बोल्नुभयो । गणतन्त्रमाथि धावा बोल्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चिरहरण गर्नुभएको छ । उहाँ तानाशाही नेता हो । प्रतिगमनकारी नेता हो ।’
नेतृ शाक्यले केन्द्रीय कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गर्नुभयो । ‘१४ वर्ष जेल बसेको रे ? तर केपी ओलीमा कम्युनिस्ट चरित्र विरोधी रुपको झल्को देखिन्छ । केपी ओलीमा कम्युनिस्ट सोच छैन । आदर्श छैन । मूल्य, मान्यता छैन । त्यसैले प्रतिगमनले घुँडा टेक्नुपर्छ । केपी ओली तानाशाहाले घुँडा टेक्नुपर्छ । काठमाण्डौ तात्दै तात्दैन तर तातेपछि सेलाउँदैन । कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्याउनका लागि काठमाण्डौको योगदान रहँदै आएको छ । यो बृहत् भेलाले काठमाण्डौ तातिसकेको मैले महसुस गरेको छु । अहिले काठमाण्डौ सिङ्गै आन्दोलनको केन्द्रविन्दु भएको छ । काठमाण्डौवासी तातिसकेकाले प्रतिगमन र तानाशाही केपी ओलीविरुद्धको आन्दोलन निर्णायकमा पुग्न समय लाग्दैन । उहाँ अब कुर्सीबाट झर्नैपर्छ । फेरि पनि सडकमा धक्का दिनुपर्ने स्थिति आएको छ’, उहाँले भन्नुभयो ।
काठमाण्डौवासीहरू निरङ्कुशतन्त्र, एकात्मक व्यवस्था र राजतन्त्र व्यवस्थामा विश्वास नगर्ने र लोकतन्त्र र गणतन्त्र मन पराउने भन्दै उहाँले काठमाण्डौवासीहरू प्रतिगमन नसच्चिएसम्म सेलाएर नबस्ने चेतावनी दिनुभयो ।