प्रधानमन्त्रीले सचिवहरूमार्फत सरकार चलाउन थाल्नु भयाे : नेता नेपाल

 पुस २९, २०७७ बुधबार १९:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ । 

बुधबार आफ्नो समूहको काठमाण्डौ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी मूल पार्टी भएकाले प्रधानमन्त्री केपी ओली पक्षका नेता तथा कार्यकर्तालाई यसैमा गोलबद्ध हुन आग्रह गर्नुभएको हो ।

ओलीसँगको लडाइँ पद र प्रतिष्ठाको नभइ विचार, नीति र पद्धतिको भएको भन्दै उहाँले आफूहरु पार्टीमा परिपाटी स्थापित गर्न लडेको बताउनुभयो । पार्टीको बहुमत आफूहरुसँग भएको तथा ओलीलाई अनुशासनको कारबाही गरिसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले ओलीसँग असल कार्यकर्ता अत्यन्तै कम रहेको दाबी गर्नुभयो । आफ्नो पार्टीमा आउनेहरूको उचित मूल्याङ्कन र सम्मान गरिने उहाँको भनाइ छ ।

उहाँले कतिपय कार्यकर्ताले पार्टीको आधिकारिकता प्रतीक्षा गरिरहेको भन्दै आधिकारिक पार्टी आफूहरु नै हुने दाबी गर्नुभयो । सूर्य चिह्न आफूहरुले नेतृत्व गरेको नेकपासँगै हुने भन्दै उहाँले भ्रममा नपरि आफ्नो पार्टीमा लाग्न आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीको देशलाई सङ्कटमा पुर्‍याउने चाहना रहेको अध्यक्ष नेपालको भनाइ छ । वैशाखमा चुनाव नहुने उहाँले बताउनुभयो । प्रतिनिधि सभा विघटनको कदमविरुद्ध अपार समर्थन पाएको भन्दै उहाँले प्रधानमन्त्री ओली सबै हिसाबले एक्लिनुभएको बताउनुभयो । आफूहरु पद प्राप्तिका लागि नभइ नागरिक जिम्मेवारी र कम्युनिस्ट कर्तव्य निर्वाह गर्नका लागि सङ्घर्षको मैदानमा उत्रिएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको भन्दै उहाँले ओलीको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरङ्कुश चरित्र देखाएको आरोप लगाउनुभयो । नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको उहाँको भनाइ छ । मन्त्रीहरूको अधिकार खोसेर उनीहरुको अपमान गरिएको तथा सचिवहरूमार्फत सरकार चलाउन थालेको उहाँको भनाइ छ ।

ओलीले मदन भण्डारी फाउन्डेशनमार्फत पार्टीमा समानान्तर गतिविधि विगतदेखि नै निरन्तर चलाइरहेको र नयाँ पार्टी बनाउने अभ्यास पहिलेदेखि नै सुरु गरेको उहाँले बताउनुभयो । पार्टीलाई विधिमा चलाएर नेपाली राजनीतिको बलियो खम्बाका रुपमा पार्टीलाई स्थापित गराऔँ भन्ने आफूहरुको प्रस्ताव प्रधानमन्त्री ओलीले नमानेको उहाँको भनाइ छ । एकीकरणको यस अवधिमा पार्टी विचारको आधारमा नचलेको, नेता कार्यकर्तालाई सङ्गठित नगराइएको उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले ओलीले पार्टी चोइट्याउन लागेको भन्दै भ्रमको पछि लागेर उता लाग्नेहरुलाई बुझाउनुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । सङ्गठित गराएर पार्टीलाई धारिलो र गतिशील बनाउन उहाँले पार्टी नेता कार्यकर्तालाई ध्यानाकर्षण गराउनुभयो । साथै प्रतिनिधि सभा विघटनको विरुद्धमा दृढताका साथ उभिनुपर्ने उहाँको भनाइ छ । आफूहरुको सङ्घर्षले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षतालगायतका राजनीतिक उपलब्धिको रक्षा गर्न सक्नुपर्ने नेता नेपालले बताउनुभयो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदानको सम्बन्धमा प्रश्न पनि उठाउनुभएको छ । उहाँले ओलीलाई विध्वंशकारी मान्छे भन्दै कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गर्नुभयो । झापादेखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्या मात्रै खडा गरेको उहाँले जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीसँग सिर्जनात्मकता नभएको र उहाँ विघटनको प्रतिकको रुपमा रहेको अध्यक्ष नेपालको भनाइ छ । प्रधानमन्त्री ओलीले पार्टीमा सधैँ बेइमानी र जालझेल गरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया