नेकपाका दुवै समूहले निर्वाचन आयोगमा जवाफ पठाए

आफूहरू नै आधिकारिक रहेको ओली समूहको दाबी, संवैधानिक अङ्गको धर्म नबिर्सिन प्रचण्ड–नेपाल समूहको आग्रह

 पुस २९, २०७७ बुधबार २०:१५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समूहले निर्वाचन आयोगमा जवाफ पठाएका छन्  । गएको बिहीबार ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पेस गर्न आयोगले गरेको पत्राचारअनुसार दुवै समूहले बुधवार जवाफ पठाएका हुन् । 

ओली पक्षबाट नेता सुवास नेम्वाङको टोलीले र प्रचण्ड पक्षका नेता लीलामणि पोखरेलसहितको टोलीले आयोगमा गएर जवाफ पेस गरेका हुन् । 

जवाफमा ओली समूहले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरीयताको अध्यक्ष कायम रहेको जानकारी गराएको छ । 

यस्तै प्रचण्ड–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेस गर्नुको औचित्य र वैधानिकता नभएको दावी ओली समूहले गरेको छ । 

यता प्रचण्ड–नेपाल पक्षले भने आयोगलाई संवैधानिक अङ्गको धर्म नबिर्सिन र त्यसले पार्न सक्ने दूरगामी असरका बारेमा सोच्न आग्रह गरेको छ । 

आयोगले मागेका कागजात र विवरण आफूहरूले पहिले नै पठाइसकेको प्रचण्ड–नेपाल समूहको जवाफ रहेको छ । झण्डै दुई तिहाइ केन्द्रीय सदस्य आफूहरूसँग रहेकाले आफूहरू नै मूल नेकपा भएको प्रचण्ड–नेपाल पक्षले दाबी गर्दै आएको छ । 

ओली पक्षले पहिलो वरीयताको अध्यक्ष र महासचिव विनाका बैठकका निर्णयहरू आधिकारिक नहुने अडानसहित आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आएको छ । 

गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटन भएदेखि नेकपा दुई समूहमा विभाजित भएकाे छ । अध्यक्ष ओली र प्रचण्ड–नेपाल पक्षले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचारसमेत गरेका थिए ।

प्रतिनिधि सभा विघटनका विरुद्ध परेका मुद्दामाथि सुनुवाइ जारी नै रहँदा दुवै पक्ष एकअर्काको आराेप–प्रत्याराेपमा उत्रिएका छन् ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया