योग राम्राे मात्रै भनेर बस्नु हुँदैन, यसकाे अनुसन्धान हुनुपर्छ : डा. चिन्तामणि गौतम

 माघ १, २०७७ बिहिबार १४:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : गाैतमकाे फेसबुकबाट

काठमाण्डौ – योगको महत्त्व आफैमा ठूलो छ । हाम्रो शारीरिक, मानसिक, समाजिक सद्भाव र भावनात्मक सन्तुलनका साथै आध्यात्मिक उन्नतिका लागि योगको महत्त्व छ ।

योगले कोरोना जित्नलाई नैतिक बल पनि मिल्छ । अहिले मृत्युदर घटेको छ । सुरुसुरुमा आत्तिएर पनि कोरोना सङ्क्रमण हुनेबित्तिकै मानिसको ज्यान गयो । यस्ता सङ्क्रमणहरूमा रोग प्रतिरोधात्मक क्षमता भयो भने रोगसँग लड्न सकिन्छ भन्ने विज्ञानले पनि पुष्टि गरेको छ ।

तर हामी हतोत्साही भयौँ, डरायौँ र आत्तियौँ भने हाम्रा शरीरको हर्मोनल अवस्था बिग्रिन्छन्, त्यसले गर्दा हाम्रो प्रतिरोधात्मक क्षमता घट्छ अनि हामी रोगसँग लड्न सक्दैनौ भन्ने स्वास्थ्य विज्ञानले पनि भनेको कुरा हो ।

योगले एकाग्रता बढाउने, निडर हुने, अनावश्यक कुरामा ध्यान नदिने, सकारात्मक कुरामा ध्यान जाने जस्ता आत्मविश्वास, अनुशासन र एकाग्रता बढाउँछ । योगमा लाग्ने व्यक्तिहरूले यसका विभिन्न चरण अभ्यास गर्ने हुँदा मानिसलाई यो कारणले रोग प्रतिरोधी क्षमता बढाउँछ र कोभिडको सङ्क्रमण देखिए पनि नोक्सान कम हुने वा निष्प्रभाव पार्न सक्छ । 

योग भनेको सम्पूर्ण जीवनशैली हो । आसन त एउटा चरण हो । यसले सबैभन्दा पहिला सामाजिक मूल्य–मान्यता, व्यक्तिगत स्थिरता र स्वास्थ्यका कुरा गर्छ । त्यसपछि आसन, प्राणायम, समाधी, ध्यान भन्ने कुरा हुन्छ । त्यसैले यसमा खानपानको कुरा गरिन्छ । उठ्ने बस्ने, सुत्ने शैलीको कुरा गरिन्छ । योग एउटा पूर्ण विज्ञान हो । यसलाई आफैसँग मात्रै जोड्नु हुँदैन । 

योग जहाँ पनि हुन्छ । आँगनमा हुन्छ, उठेर हुन्छ, बसेर हुन्छ, गीत गाएर हुन्छ, नाचेर हुन्छ । तर यसका आफ्नै आचरणहरू छन् । योग भने जस्तो त्यत्ति सरल होइन, यसका मूलभूत सिद्धान्त छन् । सिद्धान्तलाई बुझाउँदा योगलाई सरलीकृत चाहिँ गरियो, महत्त्व राम्रो छ भनियो । मूलभूत सिद्धान्त के हुन् र त्यसलाई किन पालना गर्नुपर्छ र छोड्नु हुँदैन अनि छोडिएन भने बल्ल योगको उद्देश्य प्राप्त गरिन्छ भन्ने विषयमा सिकाउन चुक्यौँ जस्तो लाग्छ ।

त्यस्तै, दोस्रो कारण– अहिले पनि हामी भौतिक संसारका सुख सुविधाहरू, तत्काल ट्याब्लेट खाएर, ड्रग्स लिएर आउने आनन्दहरूलाई योगसँग तुलना गर्‍याैँ भने योग, आयुर्वेद र प्राचीन सभ्यता हुन्, यसको तुरुन्तै फल पाइँदैन, केही समय कुर्नुपर्छ । योग सुरु गरेपछि जीवनपर्यन्त राख्न सक्नुपर्छ भन्ने सोचाइको अभाव छ । योग बालबालिकादेखि वृद्धवृद्धाहरुका लागि प्रभावकारी हुन्छ । योग के हो भन्ने विषयमा राम्रोसँग बुझ्नुपर्छ र योग्य व्यक्तिसँग सिक्नुपर्छ ।

सुरुमा योग नजान्ने मानिसले युट्युब, वेबसाइटबाट सिक्नु हुँदैन । योग गर्नुपर्छ भन्ने सबैमा चेतना छ तर प्राथमिकता दिइएको छैन । अभ्यास गर्ने मान्छेलाई गाह्रो लाग्छ, जसले अभ्यास गरेर अनुभूत गर्दैन त्यसको मर्म नबुझेपछि योग सजिलो सित्तैमा पाइन्छ । जहाँ गरे पनि हुन्छ, जसले सिकाए पनि हुन्छ भनिन्छ । तर त्यस्तो होइन । योगलाई सजिलो बनाउने बहानामा यसरी भन्याैँ भने यो विषयमा दिग्भ्रम हुन्छ अनि मान्छेमा यसको उद्देश्य र प्रभाव अर्कोतिर पर्न जान्छ ।

विज्ञानले पनि भनिसक्यो, योग राम्रो मात्रै भनेर बस्नु हुँदैन । यसको विषयमा अनुसन्धान हुनुपर्छ अबको शताब्दीमा । आधुनिक युगका बालबालिका र युवालाई बुझाउन विज्ञानको एउटा प्रमाण ल्याउनुपर्छ । सरकार वा यसको महत्त्व बुझ्ने पक्ष र जिम्मेवार पक्षले पहल गरेर काम गर्ने अध्ययन–अनुसन्धानको वातावरण मिलाउन आवश्यक हो, तर यो हुन सकेको छैन । 

अन्त्यमा स्वस्थ र कोरोना सङ्क्रमित व्यक्तिलाई आग्रह गर्छु– कोरोनाका लागि मात्रै योग नगरौँ, योग सिकौँ । विज्ञानले पनि गर्न नसकेको काम योगले गरेको छ । योगले स्वस्थ, सन्तुलित र भावनात्मक सन्तुलितमा जीविकोपार्जन गर्न सहयोग गर्छ । त्यसैले निरन्तर सिकौँ र निरन्तर योग गरौँ । कोरोना सङ्क्रमित व्यक्ति सङ्क्रमण भएको समयमा आत्तिनु हुँदैन । यस्तो बेलामा आसन गर्ने, प्राणायाम, ध्यान गर्नाले मनलाई शान्त र एकाकार बनाउँछ र योगलाई निरन्तरता दिन आवश्यक छ । 

(योगमाण्डुका अध्यक्ष तथा नेपाल योग एकेडेमीका सञ्चालक डा.चिन्तामणि गौतमसँगको कुराकानीमा आधारित । गौतम नेपालमा योगका विषयमा पीएचडी गर्नुभएका पहिलो व्यक्ति हुनुहुन्छ ।)  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया