‘प्रधानमन्त्रीको साथमा गाली रुचाउने कार्यकर्ताबाहेक कोही छैनन्’

 माघ १, २०७७ बिहिबार १९:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरुद्धमा काठमाण्डौ केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

पार्टीकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार (आज) बसेको स्थायी कमिटीको बैठकले काठमाण्डौमा कार्यकर्ताको व्यापक उपस्थिति जनाउने गरी सडक आन्दोलनलाई चर्काउने निर्णय गरेको हो । 

गएकाे पुस १४ गते भएको सडक आन्दोलनमा ठूलो जनसहभागिता भए पनि त्यसपछि खासै सडक आन्दोलन नभएको र अब हुने आन्दोलनमा ठूलै भिड जम्मा गर्ने बैठकले निर्णय गरेको नेता रघुजी पन्तले बताउनुभयो । 

अहिले प्रधानमन्त्री केपी शर्मा ओली एक्लिँदै गएको र उहाँको छवि धुमिलिएको बैठकले निष्कर्ष निकालेको छ । सम्पूर्ण बौद्धिक जगत, स्वतन्त्र विज्ञ, संविधानविद्, पूर्वप्रधानन्यायाधीश, प्राध्यापकलगायतको वर्ग ओलीको कदमको विपक्षमा रहेकाले आफूहरूको नैतिक जित भइरहेको पनि प्रचण्ड–नेपाल समूहको निष्कर्ष रहेको छ ।

‘कुनै पनि बौद्धिक व्यक्तित्व ओलीको पक्षमा छैनन्, गाली रुचाउने कार्यकर्ताबाहेक कसैले पनि साथ दिएको छैन, यस्तो अवस्थामा हाम्रो आन्दोलनलाई थप सशक्त बनाउने अवसर रहेको विषयमा पनि छलफल भयो’, एक स्थायी कमिटी सदस्यले उज्यालोलाई जानकारी दिए । 

प्रधानमन्त्री ओलीले अत्यन्तै अमर्यादित हिसावले भाषणबाजी गरिरहेको र यसले उहाँकै इज्जत थप खस्किएको विषयमा पनि बैठकमा छलफल भएको थियो । स्थायी कमिटीको अर्को बैठक शुक्रबार (भोलि) बस्नेछ । 

पहिलेको सिङ्गो नेकपाका ४५ जना स्थायी कमिटी सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २८ जना रहेका छन् । यो समूहले कृष्णबहादुर महरालाई पनि स्थायी कमिटी सदस्य बनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया