आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदै

 माघ २, २०७७ शुक्रबार ८:२०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ । 

यो दिवस हरेक वर्ष माघ २ गते मनाइँदै आएको छ । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ का रूपमा मनाउने गरिएको हो । 

यसवर्ष मध्यपुर नगरपालिका थिमिको बोडेमा रहेकाे कुमारी पार्कमा भूकम्प सुरक्षा दिवस मनाउन लागिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । दिउँसो हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ । भूकम्प सुरक्षा दिवस मुल आयोजक समितिका संयोजक गृहमन्त्री रामबहादुर थापा रहनुभएको छ । नगरपालिकाको उपसंयोजनमा दिवसको आयोजना गर्न लागिएको हो ।  

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भूकम्पलगायतका विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबै निकाय र नागरिकबीच सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको अनुभवलाई आधार बनाएर बाढी पहिरोले क्षति गरेका हजारौँ घर पुनर्निर्माण गर्न यसै हप्ता कार्यविधि पारित गरिएको समेत बताउनुभयो ।प्राधिकरणले जोखिमको जानकारी गराउन विपद् पोर्टलमा राख्ने व्यवस्था, बाढी र पहिरोको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कार्य सुरु गरिसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ  । 

प्रधानमन्त्रीले विपद् जोखिम न्यूनीकरणका लागि प्राथमिकता र लक्ष्यका आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया