जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको हाे : अर्थमन्त्री पौडेल

 माघ ३, २०७७ शनिबार १४:४९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताउनुभएकाे छ ।

शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले देश प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गर्नुभएको हो । देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता जनता हुने भन्दै उहाँले जनता सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताउनुभयो ।

नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको उहाँको भनाइ छ । याे विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि मन्त्री पौडेलले बताउनुभयो ।

मन्त्री पौडेलले आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधि सभाको निर्माण गर्ने पनि बताउनुभयो । निर्वाचनले देशलाई राजनीतिक स्थायित्व दिने उहाँको भनाई छ ।

यस्तै मन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्दको भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको पनि जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया