बजार अभावका कारण बिक्दैन दूध, दुहुना भैँसी नै बेच्छन् किसान

 माघ ७, २०७७ बुधबार १३:२९:५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–१, भारते सिरुबारीका कृष्णराज अधिकारी भैँसीपालक किसान हुनुहुन्छ । विगतमा निर्वाहमुखी ढंगले भैँसी पाल्दै आउनुभएका अधिकारीले २०७५ सालबाट ‘सान्दारी भैँसी फर्म’ दर्ता गरी व्यावसायिक रुपमा भैँसी पाल्दै आउनुभएको हो ।  

सुरुमा ३ वटा भैँसीबाट व्यावसायिक भैँसीपालन सुरु गर्नुभएका अधिकारीको फर्ममा हाल ८ वटा भैँसी पालिएका छन् । ‘भैँसीपालन व्यवसायबाट राम्रो कमाइ हुने सम्भावना देखेर भैँसीपालन व्यवसाय सुरु गरेको हुँ,’ उहाँले भन्नुभयो ।

सुरुमा एक लाखको लगानीमा सुरु भएको उहाँको फर्ममा अहिले १० लाख बढीको लगानी भइसकेको छ । सुरुवातका चरण भएकाले अहिले वार्षिक डेढ–दुई लाख हाराहारीमा आम्दानी हुँदै आएको उहाँले बताउनुभयो ।  बजार अभावका कारण उत्पादित दूध बिक्री नहुने भएकाले फर्मबाट दुहुना भैँसी नै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । दुहुना, लैना भैँसी ८० हजार देखी १ लाखसम्ममा बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।  
‘उत्पादित दूध बिक्री हुन सकेमा नियमित आम्दानी हुन्छ । तर स्थानीय स्तरमा बजार अभावले दूध बिक्री हुन सकिरहेको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले लैना भैँसी उत्पादन गरी बिक्री गर्दै आएका छौँ ।’

गोठ निर्माण, पानीको व्यवस्थापनका साथै चरनको व्यवस्थापन गर्दै बिस्तारै भैँसीपालन व्यवसाय विस्तार गर्दै लैजाने उहाँको सोच छ । ‘१५ वटासम्म भैँसी पाल्ने सोच छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिरहेको छु ।’

यस्तै, दोर्दी गाउँपालिका–३, केराबारीकै राजीव श्रेष्ठले पनि १५ वटा भैँसी पाल्नुभएको छ । ‘गाउँघरमै उद्यम गर्नुपर्छ’ भन्दै उहाँले स्वदेशमै बसी व्यवसायिक रुपमा भैँसीपालन गर्दै आउनुभएको छ ।  

उहाँले पनि दुहुना, लैना भैँसी बिक्री गर्दै आउनुभएको छ । उहाँहरुझैँ पछिल्ला समय दोर्दी गाउँपालिकाका किसानले फर्म दर्ता भैँसी पाल्दै आएका पशुपंक्षी शाखा, दोर्दी गाउँपालिकाका प्रमुख शंकर पन्थीले बताउनुभयो ।

‘फर्म दर्ता गरी व्यवसायिक रुपमा भैँसी पाल्नुका साथै घुम्ती गोठमा पनि किसानहरुले भैँसी पाल्दै आएका छन्,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार उत्पादित दूध लमजुङको सिउँडीबार, भोटेओडारसम्म पुर्याउन सके उत्पादित दूधले बजार र मूल्य पाउन सक्छ । 

तर बजारी क्षेत्र टाढा रहनुका साथै श्रोत–साधनको अभावले पनि ग्रामीण क्षेत्रका किसानले उत्पादित दूध बजारसम्म पुर्याउन नसकिरहेको उहाँले बताउनुभयो ।  

‘स्थानीय स्तरमा व्यवस्थित बजारको अभाव छ । श्रोत–साधनको कमीले  किसानले उत्पादित दूध अन्य बजारी क्षेत्रसम्म पुर्याउन सकिरहेका छैनन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले यहाँका अधिकांश व्यवसायिक भैँसीपालक किसानहरुले दूध बिक्रीभन्दा पनि दुहुना, लैना भैँसीका साथै पाडापाडी नै बेच्दै आएका छन् ।’

अन्तिम अपडेट: बैशाख ९, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया