नेकपाले चुनावबाट पाएकाे जनादेश गुमायाे : गगन थापा

‘पुनर्स्थापना पनि नहुने, चुनाव नहुने अवस्थामा कांग्रेसले संविधानलाई ट्र्याकमा ल्याउँछ’

 माघ ७, २०७७ बुधबार १९:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शासन गर्ने वैधानिकता सकिएको बताउनुभएको छ ।

बुधबार काठमाण्डाैमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता थापाले नेकपाले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताउनुभएको हो । नेकपाले चुनावबाट प्राप्त जनादेश गुमाएको उहाँको भनाइ छ । जनादेश गुमाउँदा राजनीतिक निष्‍ठाका आधारमा नागरिकसँग क्षमा माग्नुपर्ने भए पनि दुवै पक्षले क्षमा नमागेको उहाँले बताउनुभयो । 

नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधानअनुसार सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो । कम्युनिस्टकाे अधिनायकवादी र सर्वसत्तावादी चेतनाका कारण प्रतिनिधि सभा विघटन भएको उहाँको भनाइ छ । यसको सम्पूर्ण अपजस नेकपाले बोक्नुपर्ने उहाँले बताउनुभयो ।

नेता लेखकले नेपाली कांग्रेस प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भूमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे चुनावमा सहभागी हुने बताउनुभयो । पुनर्स्थापना पनि नहुने र चुनाव पनि नहुने अवस्थामा नेपाली कांग्रेस आन्दोलनमार्फत संविधानलाई ट्र्याकमा ल्याउन तयार रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया