सम्झाैताअनुसार बक्याैता रकम नपाएपछि उखु किसानद्वारा फेरि आन्दाेलन घाेषणा

 माघ ८, २०७७ बिहीबार १७:१३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारसँग भएको सम्झौताअनुसार बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन् ।

उखु किसानले शुक्रबारदेखि फागुन सात गतेसम्म जागरण अभियान, फागुन आठ गतेदेखि १४ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र फागुन १४ गतेदेखि २१ गतेसम्म एक छाकमात्र खाएर खेतमा काम गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यसपछि अर्को चरणको आन्दोलन गर्ने सङ्घर्ष समितिले जनाएको छ ।

चिनी उद्योगबाट उखुको बक्यौता नपाएपछि काठमाण्डौ आएर आन्दोलन गरेका किसानहरू सरकारले २१ दिनभित्र सबै बक्यौता उपलब्ध गराउने सम्झौता गरेपछि फर्किएका थिए । तर २१ दिने समयसीमाभित्र सबै बक्यौता भुक्तानी नभएपछि फेरि आन्दोलन गर्नुपरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानले पाउनुपर्ने ६५ करोड रुपैयाँमध्ये ५७ करोड भुक्तानी भएको र आठ करोड मात्रै बाँकी रहेको बताए पनि त्यसको विवरण नदिएको रायले बताउनुभयो । कुन किसानले कति रकम पाए भन्ने विवरण मन्त्रालयले नदिएकाले उद्योगीले गरेको भनिएको भुक्तानी पनि विश्वसनीय नभएको किसानको भनाइ छ । 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया