प्रतिनिधि सभा विघटन गरेकाे बारेमा राजपत्रमा छापिएकाे सूचना माग

 माघ ८, २०७७ बिहिबार १९:७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गरेको बारेमा राजपत्रमा छापिएको सूचना माग गरेको छ ।

बिहीवार बहसका क्रममा रिट निवेदकका कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधि सभा विघटन गरिएको सूचना राजपत्रमा प्रकाशन नभएको हुनाले विघटनको सूचना अनधिकृत भएको बताउनुभयो भने अधिवक्ता टीकाराम भट्टराईले पनि राजपत्रमा प्रतिनिधि सभा विघटनको सूचना प्रकाशित नभएको बताउनुभयो ।

अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा पुनर्स्थापना गरेर राजा ज्ञानेन्द्रले जस्तै नागरिककाे नासो नागरिकलाई फर्काउन सक्ने पनि बताउनुभयो ।

रिट निवेदकका तर्फबाट राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै प्रश्न उठाएपछि संवैधानिक इजलासले राजपत्रमा छ कि छैन ? भनेर सरकारी पक्षलाई सोधेको थियो । तर महान्यायाधिवक्ता कार्यालयका अधिकारीले यसबारेमा जवाफ दिन नसकेपछि इजलासले राजपत्रमा छापिएको सूचना ल्याउन भनेको हो ।

बहसका क्रममा अधिवक्ता टीकाराम भट्टराईले इजलासमा प्रश्न र बहसको पनि स्तरीयता हुने भन्दै इजलासले संसदमा के हुन्छ, केपी ओली पदमा कायम हुने कि नहुने जस्ता विषयमा चासो राख्न नहुने बताउनुभयो ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथि गएकाे आइतवारदेखि संवैधानिक इजलासमा नियमित बहस भइरहेको छ । बिहीवार पाँचाैँ दिनकाे सुनुवाइ पनि हेर्दाहेर्दैमा राखिएको छ । सुनुवाइ हुँदा हुँदै समय अभावका कारण हेर्दाहेर्दैमा शुक्रबारका लागि तय भएको छ ।   

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया