प्रचण्ड-नेपाल समूहकाे प्रदर्शनकाे प्रभाव : चक्रपथभित्रका धेरै ठाउँमा जाम, भाडाका गाडी चलाउन रोक

 माघ ९, २०७७ शुक्रबार १०:५९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले चक्रपथभित्रका अधिकांश सडकमा गाडी जाम भएकाे छ । 

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाण्डाैमा गरेकाे शक्ति प्रदर्शनका कारण गाडी जाम भएकाे हाे । साथै प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको छ ।

विरोध कार्यक्रमलाई लक्षित गर्दै अहिले काठमाण्डाैको चक्रपथभित्र भाडाका गाडी चलाउन दिइएको छैन । काठमाण्डाैका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुने भएकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा त्यसैअनुसार तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बाहिरी जिल्लाबाट समेत प्रदर्शनमा सहभागी हुनेहरु आउने भएकाले गाडी आवतजावतमा विशेष ध्यान दिइएको महाशाखाले जनाएको छ । नेकपाको प्रचण्ड-नेपाल समूहले अहिले काठमाण्डाैको प्रदर्शनी मार्गकाे एकतर्फी सडकमा कार्यक्रम गर्ने ठाउँ बनाइरहेको छ । 

माइतीघर, डिल्लीबजारको चालखाल, लैनचौर, त्रिपुरेश्वर, शान्तिबाटिका, त्रिचन्द्र क्याम्पस, वाल्मीकि क्याम्पसलगायत ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा शक्ति प्रदर्शनको रुपमा प्रदर्शन हुनेछ । उनीहरुको प्रदर्शनका कारण सडक अवरुद्ध हुने भएकाले गाडीहरुलाई आवश्यकताअनुसार डाइभर्सन गरिने महाशाखाले जनाएको छ । 

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै यसको विरोध भइरहेको छ । प्रतिनिधिसभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा पनि रिट निवेदन परेको छ । सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया