तराईमा चिसो बढ्यो, सुकेका उखुका पात बालेर खेती स्याहार्दै किसान

 माघ १२, २०७७ सोमबार ७:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तराईमा जिल्लामा चिसो धरै बढेको छ । हिजो बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको छ ।

अझै केही दिन तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेकाले चिसो अझै बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताउनुभयो । उहाँकाअनुसार उत्तर पश्चिम वायुको प्रभावका कारण तराईका केही शीतलहरको जोखिम रहेको छ ।

बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्ला महोत्तरी, सप्तरी, बारा, रौतहट र धनुषामा दैनिक मजदूरी गरी जीवनयापन चलाउनेहरु समस्यामा परेका छन् । महोत्तरीमा चार दिनदेखि घामै नलागेको त्यहाँका उज्यालो सहकर्मी धनवीर महतोले बताउनुभयो ।

चिसो बढेपछि महोत्तरीमा दाउरा बालेर आगो ताप्नेहरु बढेका छन् । यतिबेला उखु खेती स्याहार्ने बेला भएकाले उखु किसान भने चिसोका बाबजुत पनि खेतबारीमा जान बाध्य छन् । चिसोबाट बाँच्न उनीहरुले काम गर्दै गर्दा सुकेको उखुका पातलाई जलाएर आगो ताप्ने गरेका छन् ।

यस्तै, महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव विमलीले चिसोका कारण नागरिक प्रभावित भएका भन्दै विपद् व्यवस्थापनको बैठक बसेर राहत वितरण गर्ने तयारी भएको जानकारी दिनुभयो । यस्तै, चिसो बढेपछि जिल्लाका पालिकाहरुले पनि दाउरा बाँड्न थालेका छन् ।

मौसमविद्ले तराईका जिल्लामा शीतलहरकै सम्भावना रहेकाले स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् । मौसमविद्ले तराईसँगै देशभर चिसो बढ्ने पूर्वानुमान गरेका छन् ।  उत्तर पश्चिम वायुको प्रभावका कारण देशका धेरै ठाउँमा चिसो हावा चल्न थालेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । हिजो न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस थियो । काठमाण्डौ उपत्यकालगायत केही जिल्लामा घाम लागे पनि चिसो हावा चल्ने भएकाले चिसो बढ्ने मौसमविद्ले बताएका छन् । तर, चिसो बढे पनि तत्काल पानी भने नपर्ने मौसमविद्को भनाइ छ । 

यसैबीच, वर्षा र हिमपात गराउने पश्चिमी वायुको शक्तिशाली प्रणाली नेपाल प्रवेश नगर्दा यसपालि हिउँ समेत राम्ररी परेको छैन । हिउँ नपर्दा सेता हिमाल काला हुँदै गएका छन् । हिउँ पर्न छाडेपछि लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया