खाद्यान्नमा उपभोक्ता ठग्ने क्रम बढ्याे, कारबाहीबाट ४४ लाख राजश्व सङ्कलन

 माघ १२, २०७७ सोमबार ८:२५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खाद्यान्नमा मनलाग्दी मूल्य र मिसावट गरी उपभोक्ता ठग्ने क्रम बढेको छ ।

सरकारले गरेको बजार अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्यान्न पसल र खाद्यवस्तु उत्पादन गर्ने कम्पनी कारबाहीमा परेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पुस महिनामा १ सय ६ खाद्यान्न पसल अनुगमन गर्दा २७ फर्म कारबाहीमा परेका छन् । ६२ फर्मलाई निर्देशन तथा १६ फर्मलाई स्पष्टीकरण सोधिएको छ ।

मनलाग्दी मूल्य र म्याद नाघेका वस्तु बेच्ने फर्मलाई गरिएको कारबाही र जरिवानाबाट ४४ लाख पाँच हजार रुपैयाँ राजश्व सङ्कलन भएको विभागका सूचना अधिकारी शिवराज सेढाईँले जानकारी दिनुभयो । ५४ हजार रुपैयाँ बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको छ ।

उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको पनि विभागले जनाएको छ । गएको पुसमा महिनामा खाद्यान्नसहित विभिन्न २८ विषयगत क्षेत्रका ३ सय ५१ फर्मको अनुगमन गरिएको थियो ।

तीमध्ये खाद्यान्नसहित १ सय ९ फर्म कारबाहीमा परेका छन् । १ सय ६८ फर्मलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ । ६६ फर्मलाई स्पष्टीकरण सोधिएको छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा अण्डा तथा दाना, अस्पताल, उद्योग, कपडा तथा कस्मेटिक पसल, किराना तथा खाद्यान्न, डिपार्टमेन्ट स्टोर, निर्माण सामग्री, मदिरा पसल, मार्ट र मासु पसल तथा फार्मेसीको अनुगमन गरिएको थियो । 
 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया