खोप सुरक्षित छ, शंका गर्नु पर्दैन

 माघ १२, २०७७ सोमबार १०:३४:३२ | डा. भीमसिंह तिंकरी
unn.prixa.net

सबै प्रदेशमा खोप पठाउने काम भइरहेको छ । बुधबारदेखि खोप लगाउन सुरु हुन्छ । ४ लाख ३० हजार जनालाई पहिलो चरणमा खोप लगाउने हो । 

काठमाण्डौ, भक्तपुर, ललितपुरलगायतका सुगम ठाउँमा आजभोलिमै खोप लगाउन पनि सकिन्छ नै । तर पनि सरकारले सबै प्रदेशमा एकैपटक लगाउने भनेकाले सरकारको नीतिलाई मान्नै पर्छ ।  भण्डारण र ढुवानीमा खासै समस्या नभए पनि दुर्गम जिल्लामा ढुवानीका लागि भने केही समस्या आउन सक्छ । 

खोप पुग्नका लागि दुई दिन लाग्न सक्ने ठाउँहरु पनि छन् । तर खोप लगाउने समय बुधबारभन्दा अगाडि नै पुग्छ भन्ने आशा राखौँ ।  खोप आएको धेरै समय नभएकाले लगाउनका लागि ढिला भएको छैन ।

सहज हुने जिल्लाहरुमा खोप लगाइहाल्न आवाज उठे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएन । मन्त्रालयले सबै जिल्लामा एकैपटक खोप लगाउने भनेको छ । मन्त्रालयको निर्णयका आधारमा नै कसरी जाने भन्ने कुराको निर्धारण हुन्छ । 

हेटौँडा, बुटवल, नेपालगञ्ज, धनगढीलगायतका ठाउँमा प्रादेशिक आपूर्ति केन्द्रहरु  छन् । यी केन्द्रहरुबाट अरु जिल्लाहरुमा खोप पठाउने हो । ढुवानी र भण्डारणमा चुनौती छैन । २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्ने खोप भएकाले सहज नै छ ।  प्रदेशसम्म ढुवानी गर्न पनि गाह्रो छैन । 

कुनै-कुनै जिल्लामा ढुवानी गर्न भने गाह्रो हुन सक्छ । जस्तै नेपालगञ्जबाट कर्णाली प्रदेशमा लैजान समस्या हुन सक्छ । मुगु, डोल्पा, हुम्लालगायतका जिल्लामा हेलिकप्टर चलेमा मात्र लैजान सकिने भएकाले कठिन हुन सक्छ । अरु ठाउँमा खासै समस्या हुँदैन । जम्मा २ प्रतिशत नागरिकलाई अहिले खोप लगाउने हो ।

स्वास्थ्यकर्मीले नै स्वास्थ्यकर्मीलाई खोप लगाउने लगाउने भएकाले तालिम दिन त्यति आवश्यक छैन । खोप लगाउने विधि सजिलो छ । खोप लगाइसकेपछि १५ मिनेटदेखि आधा घण्टा आराम गर्न लगाइन्छ  । तालिम भर्चुअल माध्यमबाट सामान्य तरिकाले दिइन्छ । समुदायमा गएर सबैलाई लगाउनुपरेको अवस्थामा चाहिँ तालिमको धेरै आवश्यकता पर्छ । 

काठमाण्डौ उपत्यकामा वीर, पाटन, प्रसूतिगृहलगायतका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने आवश्यकता त्यति हुँदैन । तर  नयाँ खोप भएकाले काउन्सिलिङ भने गर्नुपर्ने हुन्छ ।  

खोपबारे आशंका गर्नु पर्दैन

नयाँ खोप भनेर कतिपयमा आशंका हुनु स्वभाविक हो । भारतबाट ल्याइएको खोप भनेर भारतकै खोप त हो नि भन्ने धेरैको बुझाइ छ ।  

भारतमा बन्दैमा खोप भारतको हुँदैन । अहिले भारतबाट नेपाल ल्याइएको खोप बेलायतको एउटा कम्पनीसँग मिलेर बनाएको खोप हो । यो सुरक्षित छ । शंका गर्न पर्दैन । तर काउन्सिलिङको पाटो एकदमै महत्त्वपूर्ण हुन्छ । समुदायमा, प्रत्येक स्वास्थ्यकर्मीमा काउन्सिलिङ हुनुपर्छ । 

काउन्सिलिङको कुरामा मन्त्रालयको पनि निक्कै चासो छ । खोप विकास हुनका लागि ५ देखि ७ वर्ष लाग्छ । ५, ६ महिनामा नै तयार भएको खोप भएकाले मानिस सशंकित भएका हुन  सक्छन् । अहिलेको खोप पनि  परीक्षण गरेर विकास गरिएको हो । पहिलो चरण, दोस्रो चरण र तेस्रो चरण गरेर तयार पारिएको हो । 

भारतमा ३ लाखभन्दा धेरैलाई यही खोप दिइसकिएको छ । खोप लगाएकामध्ये केहीको ज्यान गएको छ । केही अस्पतालमा भर्ना भएका छन् ।  ७० वर्षभन्दा माथिका तथा सिकिस्त बिरामीलाई खोप लगाएमा स्वभाविक रुपमा ज्यान जान्छ । त्यस्ता व्यक्तिको खोप नलगाएको भए पनि ज्यान जान्थ्यो । दोष मात्र खोपले पाएको हो । 

तेस्रो चरणको परीक्षण  पार गरेर आएको खोप भएकाले आत्तिनुपर्ने आवश्यकता छैन । कसैलाई लगाउन मन लाग्दैन भने जबर्जस्ती लगाउनै पर्छ भनिएको छैन । तर  खोप पाएसम्म र उपलब्ध भएसम्म सबैले लगाउँदा राम्रो हुन्छ । सरकारले पनि ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने  भनेर प्रतिबद्धता जनाएको छ । 

अहिले २ प्रतिशत नागरिकका लागि मात्र खोप आएको छ । थप खोप आएपछि मात्र आम मानिसलाई लगाउने हो । सरकारले आफ्नो दायित्व पूरा गर्ने हो । कसैलाई खोप लगाउन इच्छा नलागे नलगाउन पनि पाइन्छ ।  मन्त्रालयले सबैलाई खोप दिनुपर्छ भनेर भनिरहेको छ । 

विश्व स्वास्थ्य संगठनले अहिले कुनै पनि खोपलाई आम मानिसलाई प्रयोगका लागि अनुमति दिएको छैन । आपतकालीन प्रयोगका लागि मात्रै अनुमति दिएको हो । फाइजर कम्पनीले बनाएको खोप अमेरिका र बेलायतमा प्रयोग भयो । यी खोपलाई पनि विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि मात्र अनुमति दिएको हो । 

अमेरिका, बेलायत र भारतमा बनेका सबै खोप एकै लेबल हुन् । खोपले आम परीक्षणको लागि अनुमति पाउनका लागि भने केही समय लाग्छ । खोप लगाउनका लागि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउनु भन्नुको अर्थ खोप नै खराब छ भन्ने होइन । कुनै पनि खोप लगाउँदा स्वभाविक रुपमा नै सतर्कता अपनाउनुपर्छ । 

कोरोनाको खोप मात्र नभइ अरु कारणले अस्पताल जाँदा वा अरु रोगको खोप लगाउँदा पनि सतर्कता त अपनाउनै पर्छ । दादुरा, रुबेलालगायतका नियमित खोप लगाउँदा पनि सतर्कता अपनाउनुपर्छ भनेर भनिएको हुन्छ ।

कुनै खोपले कसैलाई एलर्जी लगायतका समस्या हुन सक्छ । अप्ठ्यारो हुन सक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता भने अपनाउनै पर्छ । कसैलाई अप्ठ्यारो भएमा त्यसको पनि समाधानतर्फ लाग्नुपर्छ ।  आम मानिसमा प्रयोग गर्दा झनै सतर्कता अपनाउनु पर्छ । 

खोपको वितरण पारदर्शी हुन्छ

पहिलो चरणमा लगाएका समूहलाई नै फेरि ४ हप्तापछि दोस्रो डोजको खोप लगाउने हो ।  १० लाख डोज खोप छ भनेर १० लाख मानिसलाई अहिले नै  दिँदा दोस्रो डोज लगाउने बेलामा खोप आएन अथवा पाइएन भने समस्या हुन्छ । 

गर्भवती, स्तनपान गराउने र  बालबालिकालाई कोरोनाको खोप लगाइँदैन । पहिला डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई सुरक्षित गरिएन भने अरुको उपचार कसरी गर्ने ?

दीर्घरोगी, सिकिस्त बिरामीहरु अहिले लगाउने  भनिएको तीन प्रतिशतभित्र परेका छैनन् । ती  दोस्रो प्राथमिकतामा पर्छन् कतिपय विवादित कुराहरु पनि छन् । कतिपयले युवालाई पहिले खोप दिनुपर्छ भनेका छन् । तर युवामा रोगसँग लड्न सक्ने क्षमता धेरै हुने भएकाले पहिला युवालाई भन्दा अरुलाई नै दिनुपर्छ । कोरोना लागिसकेका मानिसले पनि कोरोनाविरुद्धको खोप लगाउनुपर्छ। 

खोपको वितरण पारदर्शी रुपमा हुन्छ । स्वास्थ्य संस्थाको मागको आधारमा खोपको वितरण हुन्छ । जतिलाई आवश्यक पर्छ,  त्यति माग्नुपर्छ र लगाइसकेपछि अभिलेख सार्वजनिक पनि गर्नुपर्छ । पहुँचवालाले मात्र खोप लगाउने होइन । स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, मन्त्रीहरु पनि अहिले प्राथमिकतामा पर्दैनन् । 

नेपाल र भारत सरकारको समन्वयमा खोप आएको हो । अब कहिले खोप आउँछ थाहा छैन । गाभीबाट २० प्रतिशत खोप सन २०२१ को  पहिलो चौमासिकमा आउने भनिएको छ ।  दोस्रो प्राथमिकतामा पर्नेको पालो कहिले आउँछ वा अब के गर्ने भन्ने बारे छलफल हुनै बाँकी छ । विश्वभर खोपको माग छ । उत्पादन थोरै छ । त्यसकारण अझै एक वर्ष जति कुर्नुपर्छ होला । 

निजी कम्पनीलाई खोप ल्याउने अनुमति तत्काल दिनु हुँदैन । पहिला गरिब नेपालीलाई दिएपछि पछि जस्ले पाएको छैन, जो किनेर पनि लगाउन सक्छ, र सरकारले ल्याउनै सकेन भने मात्रै निजी कम्पनीलाई खोप ल्याउनका लागि अनुरोध गर्ने हो । पछि व्यापार गर्ने कुरा भनेको आफ्नो ठाउँमा छ । 

 

अन्तिम अपडेट: मंसिर २, २०७८

डा. भीमसिंह तिंकरी

भीमसिंह तिंकरी स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख  हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया