तोकिएको समयभन्दा अगाडि नै बन्यो नेपालको दोस्रो लामो पक्की पुल, प्रधानमन्त्रीद्वारा उद्घाटन

 माघ १२, २०७७ सोमबार १२:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती नदीमा बनेको पुल उद्घाटन गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्नुभएको हो । राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण अवधिभन्दा अगाडि नै बनेको थियो । 

झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गर्नुभएको थियो ।

नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाट कर्णाली नदीमा छ । गेरुवा पुलको लम्बाइ एक हजार १५ मिटर छ । पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

यसअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन गर्नु भएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया