कोटेश्वर–कलङ्की सडकखण्डमा ट्राफिक बत्ती जडान गरिने

 माघ १२, २०७७ सोमबार १३:२६:४२ | रासस
unn.prixa.net

काठमाण्डाै - सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारकाे आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलङ्की सडकमा सात ठाउँमा बत्ती राख्न लागेको हो ।

विभागले गाडीको चाप बढी भएका र पैदलयात्रु बढी भएका सडकमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । यस सडकमा चालु आवभित्रै सम्झौता गर्ने योजना रहेको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो । 

चक्रपथका विभिन्न खण्डमा बत्ती राख्न चालु आवमा बजेट नभए पनि अर्को वर्ष निरन्तर हुने गरी सम्झौता गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'यो वर्ष ठेक्का सम्झौता भइसकेर अर्को वर्ष बनिसक्नेछ ।'

सरकारले दुई वर्ष पहिलेदेखि उपत्यकाका विभिन्न सडकमा र जेब्राक्रसिङमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । बढी गाडी चाप भएका ठाउँमा बत्तीका कारण गाडी व्यवस्थापन गर्न सजिलो भएको देख्न सकिन्छ । विभागले चालु आवभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गर्दैछ । 

उपत्यकाका बढी गाडी चाप र यात्रुले सडक पार गर्ने ठाउँ छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने गाडी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख ओझाले जानकारी दिनुभयो । ती बत्ती जडानका लागि एक करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका थिए । पहिले थापाथलीमा एउटा निजी संस्थाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । यस प्रविधि सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको उहाँले जानकारी दिनुभयो । 

तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया