म असफल भएर केही हुँदैन, देश असफल हुनु हुँदैन : प्रधानमन्त्री ओली

हरेक दिन एउटा पुल, दुई किलाेमिटर सडक बनाइँदै छ विकास भएन भन्नेहरू कहाँ छन् : मन्त्री नेम्वाङ

 माघ १२, २०७७ सोमबार १८:२३:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिककाे साथ लिएर देश बनाउने दिशामा आफू लागेकाे बताउनुभएकाे छ । ‘म असफल भएर केही हुँदैन । देश असफल हुनु हुँदैन । नागरिक असफल हुनु हुँदैन । हामीले प्राप्त गरेका उपलब्धिहरू गुम्न दिन हुँदैन’, दाङमा बृहत् जनसभालाई सम्बाेधन गर्दै उहाँले भन्नुभयो, ‘म शासनमा बसिरहन्छु भन्या छैन । मलाई काम गर्न खोज्दा खोज्दै पनि कामै गर्न नदिने तत्त्वलाई दण्डित गर्न चुनावमा जाने घोषणा गरेको हुँ । त्यस्ता नेतालाई नागरिकले छानीछानी दण्डित गर्ने छन् ।’ 

संसद् जस्तो गरिमामय ठाउँमा झुक्किएर पनि कुतत्त्वहरूलाई जिताएर नपठाउन ओलीले आह्वान गर्नुभएकाे छ । उहाँले भन्नुभयो, ‘चुनावमा सानदार विजय हासिल गरेर देशलाई अघि बढाउने छौँ ।’ 

देशमा अब कोही भोको बस्नु नपर्ने, भोको बस्न नदिइने सरकारको स्पष्ट नीति रहेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयाे । ‘अब कोही भोको बस्नुपर्ने छैन । भोको बस्न दिइने छैन’, उहाँले भन्नुभयो, ‘सडकमा कोही पनि सडक आश्रित मानव रहने छैनन् । सबैलाई उद्धार गरिने छ । सडक बालबालिकालाई सरकारले उद्धार गरेको छ ।’

दाङमा औद्योगिक क्षेत्र

मन्त्रिपरिषदको बैठकले दाङको घोराहीमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको प्रधानमन्त्री ओलीले बृहत् जनसभामा जानकारी दिनुभयो । ‘दाङलाई औद्योगिक क्षेत्र बनाउन चाहन्छौँ । त्यसका लागि हामीले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिसकेका छौँ’, उहाँले भन्नुभयो, ‘दाङमा एअरपोर्ट बनाउने दिशामा हामी गएका छौँ ।’ उहाँले लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई आधुनिक सहरको रूपमा विकास गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सभालाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले चुनावबाट नेपाल कम्युनिस्ट पार्टी कमजोर नभइ अझ बलियो हुने दाबी गर्नुभयाे । ‘जनमतलाई बीचमै अपहरण गर्न खोजियो । प्रधानमन्त्रीले त्यो षड्यन्त्रलाई असफल पारिदिनुभयो’, उहाँले भन्नुभयाे, ‘लोकतन्त्रलाई बलियो बनाउन चुनाव चाहिन्छ । चुनावले नै देशमा निकास दिन्छ ।’ 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले सुदृढ कम्युनिस्ट पार्टी निर्माणको बाटोमा आफूहरू रहेको बताउनुभयाे । 

‘यो देशको नेतृत्व अब फेरि केपी शर्मा ओलीले गर्नुपर्छ’, उनले भन्नुभयाे, ‘उहाँको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा हुन्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको पालामा विकासको पर्रा छुटेको मन्त्री नेम्वाङले दाबी गर्दै भन्नुभयाे, ‘हरेक दिन एउटा पुल निर्माण सम्पन्न भइरहेको छ । हरेक दिन दुई किलोमिटर नयाँ सडक बनाइँदै छ । विकास भएन भन्नेहरू कहाँ छन् ? सरकारको यो काम देख्छन् कि देख्दैनन् ।’ 

खानेपानी मन्त्री मणी थापाले प्रचण्डले नेपाली नागरिकलाई धोका दिँदै आएको बताउनुभयाे । ‘जनयुद्धलाई धोका दिनुभयो । सहकर्मी साथीहरूलाई धोका दिनुभयो । अझैँ भन्ने हो भने प्रचण्डको राजनीति धोकादारी राजनीति भयो’, उहाँले भन्नुभयाे ।  

अन्तिम अपडेट: चैत २, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया