माउण्ट के टूको शिखरमा जागेको अद्भुत एकता

 माघ १४, २०७७ बुधबार ७:२७:५६ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

पर्वतारोहीहरुको एउटा समूह राष्ट्रिय गान बजाएर नेपालको झण्डा फहराउँदै शिखरतर्फ लम्किरहेको भिडियो सामाजिक सञ्जालमा धेरैले हेरेका छन् । राष्ट्रभाव जागेर शरीरका रौं ठाडा बनाउने त्यो भिडियो नेपाली पर्वतारोहीको समूहले पाकिस्तानको के टू हिमाल आरोहण गर्दाको हो । 

माघ तीन गते शनिबार राति १० जना नेपाली पर्वतारोही आठ हजार ६११ मिटर अग्लो संसारकै दोस्रो अग्लो चुचुरो केटूको शिखरमा पुगेका हुन् । जाडोयाममा अहिलेसम्म कोही पनि शिखरमा नपुगेको के टू आरोहण गरेर नेपाली टोलीले विश्व कीर्तिमान कायम गर्यो । विश्व कीर्तिमान त छँदैथियो, त्यहाँ आरोहीहरुबीच अद्भुत एकता पनि थियो ।

आरोहण दलका सदस्य मिङ्मा डेभिट शेर्पाले उज्यालोसँग भन्नुभयो ‘प्रायः हिमाल आरोहणमा एक पाइला भए पनि आफू अगाडि शिखरमा पुगौं भन्ने हुन्छ, हामीले विदेशीहरुलाई आरोहण गराउँदा बाटो बनाउने लगायतका सबै काम गरेर पनि शिखरमा भने उनीहरु नै पुग्न चाहन्छन्, उनीहरुको लगानी हुने भएकोले हामी केही पाइला वरै बसेर उनीहरुलाइ पहिलो बनाउँछौं, तर के टूमा हामी १० जना सँगै गयौँ ।’ 

तेश्रो शिविरबाट उकालो लागेर रातको समयमा शिखर नजिक पुग्दा आरोहीहरु अघिपछि थिए । तर शिखरभन्दा १० मिटर वर सबैले साथीलाई पर्खिए । सबैजना जम्मा भए । देशलाई सम्झिए । राष्ट्रिय झण्डा फहराए, राष्ट्रिय गान बजाए र एकसाथ शिखरतर्फ लम्किए । त्यहाँ पहिलो हुने अभिलाषा कसैलाइ थिएन । सबैले सँगै शिखरमा पाइला टेके, १० जनाकै नाममा विश्व कीर्तिमान बन्यो । आरोही शेर्पा यो आफूहरु बीचको सहकार्य र आरोहणको क्षेत्रमा अद्भुत संयोग भएको बताउनुहुन्छ । 

एक भएमा सबथोक संभव : पुर्जा 

केटू आरोहण समूहका लिडर एवम् कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा पनि एकसाथ शिखरमा पुगेको क्षण महत्वपूर्ण रहेको बताउनुहुन्छ । केटू हिमाल आरोहणपछि नेपाल फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा आरोही पुर्जाले मेरो नभइ हाम्रो भन्ने भावनाका साथ आफूहरु सँगै शिखिरमा पुगेको बताउनुभयो । 

पुर्जाले भन्नुभयो ‘टिमको सबै सदस्यलाई मनदेखि नै नेपालका लागि यो गर्नुपर्छ भन्ने थियो, यो सफलता विश्वमा ओलम्पिक वा वल्र्डकप जितेभन्दा ठूलो हो । यसमा अघि जान मन त लाग्छ तर समिट अगाडि हामी १० मिटरको दूरीमा रोकियौं । किनकी यो जस एक जनाको मात्र नभइ सबैको थियो । ३५ किलोभन्दा बढी भारी, माइनस ६५ डिग्री भन्दा कम तापक्रम, बेगले चलेको हावालाई चिर्दै हामी एक साथ चुचुरामा पुग्यौं । यसबाट हामीले दिन खोजेको सन्देश थियो, विश्वमा हामी एक भयौं भने सबथोक गर्न सक्छौं । विभाजनबाट केही पनि गर्न सक्दैनौं । यो सन्देश दिएका छौं ।’ 

पर्वतारोही मिङ्मा डेभिड शेर्पा यो हरेक पर्वतारोहीले सिक्नुपर्ने कुरा रहेको बताउनुहुन्छ । सगरमाथा लगायतका हिमाल आरोहणमा अहिले पनि पहिलो हुने होड धेरैलाई हुन्छ । लगानी गर्नेले अरुको संघर्षलाइ बेवास्ता गर्दै आफ हिरो बन्ने चलन छ । अत्यन्तै चुनौतीपूर्ण भूमिमा त्यस्तो व्यवहारले समस्या ल्याउने भएकोले साझा प्रयासलाई साझा सफलताका रुपमा चिनाउन आफुहरु सफल भएको शेर्पाले बताउनुभयो । 
पाकिस्तानको उच्च सम्मान

निकै चुनौतीपूर्ण मानिने केटू हिमालमा जाडोयाममा अहिलेसम्म गरिएका आरोहण प्रयास सफल भएका थिएनन् । नेपाली आरोहीहरुको समूहले आफ्नै बलबुतामा पहिलो पटक आरोहण गरेर विश्व किर्तिमान् कायम गर्यो । संसारभर चर्चा कमाएको यो काम गर्ने टोलीलाई पाकिस्तानले पनि उच्च कदर गरेको आरोही मिङ्मा डेभिट शेर्पा बताउनुहुन्छ । 

शेर्पा भन्नुहुन्छ ‘आरोहण सफल भएर आधार शिविर फर्कन नपाउँदै पाकिस्तानी सेनाले बधाइ दिएर फर्कनको लागि हेलिकोप्टर उपलब्ध गरायो, माउण्ट केटु भएको प्रदेशका पर्यटन मन्त्रीले भेटेर बधाइ दिए, राष्ट्रपतिले आफ्नै कार्यालयमा बोलाएर बधाइ दिनुको साथै समस्या सुने, सेना प्रमुखले भेटे । पाकिस्तानले हामीलाई कुनै अर्को देशबाट आएका उच्च तहका व्यक्तिलाई जस्तै सम्मान दियो ।’

आफ्नै खर्चमा आरोहण

कोरोना महामारीले पर्यटन क्षेत्र अस्तव्यस्ता बनाएको बेला माउण्ट केटूमा कीर्तिमानी रच्ने योजना बन्यो । आउँदो वर्षको लागि योजना बनाइएको भए पनि पाकिस्तानले पर्वतारोहणका लागि जाँदा क्वरेण्टीनमा बस्न नपर्ने जस्ता सजिला व्यवस्था गरिदिएपछि नेपाली टोली यही वर्ष पाकिस्तान जाने निधोमा पुगेको शेर्पा बताउनुहुन्छ । दुई महिनाको समयमा खर्च जुटाउने, अनुमति लिने लगायतका काम गरेर नेपालका जल्दाबल्दा आरोहीको टोली पाकिस्तान गएको हो । 

नेपालमा सरकारसँग सिधा पहुँच नभई आरोहणमा जान खर्च पाउन निकै मुश्किल हुन्छ । पर्यटन क्षेत्र अस्तव्यस्त भएको समयमा अरुबाट रकम जुटाउन पनि सजिलो छैन । आरोहीहरु आफैंले खर्च जम्मा गरेर आरोहणमा गए । सँधैजसो अरुको सहयोगी भएर आम्दानी गर्न शिखरतर्फ उक्लने नेपाली आरोही अहिले आफैं खर्च गरेर आरोहणका लागि गएका थिए । जसमा नेपालको नाम उच्च बनाउने अभिलाषा थियो । 

सगरमाथा, माउण्ट केटू लगायतका हिमाल चढेका अनुभवी पर्वतारोहीहरुको टोली भएकोले व्यवस्थापनमा सजिलो भएको शेर्पा बताउनुहुन्छ । केटूको बारेमा सबै जानकारी भएकोले त्यहाँ आउन सक्ने संभावित प्राविधिक समस्या हल गर्ने गरी तालिम र उपकरणको व्यवस्था भएकोले समूहका सबै सदस्य शिखरमा पुगेको उहाँले बताउनुभयो । 

सरकारले पर्वतारोहणलाई जोगाउनुपर्छ 

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन व्यवसाय हो । यसमा पर्वतारोहणको क्षेत्र अस्तव्यस्त नै भएको छ । दुई वटा सिजनमा आरोहण शून्य हुँदा त्यसमा आश्रित मजदुरहरुको बेहाल भएको छ । तर सरकारले ध्यान दिएको छैन । अझै कही सिजन पर्वतारोहण पहिलेको गतिमा नआएमा यो क्षेत्रको दक्ष जनशक्ति पलायनको सम्भावना छ । उनीहरुका लागि कम्तीमा बाँच्न सक्ने व्यवस्था सरकारले गर्नुपर्ने कीर्तिमानी आरोही मिङ्मा शेर्पा बताउनुहुन्छ । 

यस्तै सरकारले नेपाल आउने पर्यटकलाइ अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको छ । यसो गर्दा आरोहीहरु आउन समस्या हुने भएकोले पाकिस्तान सरकारले जस्तै सजिलो बनाइदिनुपर्ने उहाँ बताउनुहुन्छ । कोरोनाको कहर बिश्वभर भएकोले कतिपय आरोहीहरु आर्थिक लगायतका कारण पनि नआउन सक्छन् । यस्तो बेलामा राजश्व छुट वा अरु कुनै योजना ल्याएर आउँदा वसन्त ऋतुमा बढीभन्दा बढी आरोही भित्राउन पहल गर्नुपर्ने शेर्पाको सुझाव छ । 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया