क्याल्सियम भरिएको मुटुको नशाको विना शल्यक्रिया उपचार अब नेपालमै

 माघ १४, २०७७ बुधबार १६:३०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मुटुको नसामा धेरै मात्रामा क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको विना चिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमा सुरु भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका डाक्टरहरुले युरोप/अमेरिकामा मात्र सम्भव प्रविधि प्रयोग गरि एक बिरामीको सफल उपचार गरेका छन् ।

नर्भिक अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ यादवकुमार भट्ट नेतृत्वको टोलीले धेरै मात्रामा क्याल्सियमका कारण बन्द भएको मुटुको नशा विना चिरफार खुलाउने विशेष खालको शल्यक्रिया गरेको हो । यस्तो शल्यक्रिया नेपालमै पहिलोपटक भएको अस्पतालले जनाएको छ । 

८० वर्षीय बिरामीलाई डा. भट्ट नेतृत्वको टोलीले अल्ट्रासाउण्डिङ वेभको सहाराबाट नशामा भरिएको क्याल्सिम फुटाएर सफल उपचार गरेको हो । किड्नी वा पिसाब थैलीमा बनेको ढुङ्गालाई विना चिरफार वेभको मदतले फुटाएर बाहिर निकाल्ने काम गरिन्छ, मुटुको एन्जियोप्लास्टीमा पनि यस्तै खालको प्रविधि अपनाएर सफल उपचार गरेको डा. भट्टले बताउनुभयो ।

मेडिकल भाषामा यो विधिलाई ‘इन्ट्राभास्कुलर लिथोट्रिस्पी’ अर्थात् आईभीएल भनिन्छ । यो प्रविधिमा सानो बेलुनको सहायताले च्यापिएको नशालाई खोल्ने र वेभको माध्यमबाट त्यहाँको क्याल्सियम ध्वस्त पार्ने काम गरिन्छ । ‘यो प्रविधिबाट स्वदेशमा उपचार सम्भव नहुँदा धेरै बिरामी विदेश जानुपर्ने बाध्यता थियो । तर अब त्यो बाध्यताको अन्त्य भएको अस्पतालले बताएको छ ।

नर्भिकको कार्डियोलोजी विभागका डाइरेक्टरसमेत रहनुभएका डा. भट्ट भन्नुहुन्छ, ‘यो प्रविधिको उपचार मुटुको नशामा क्याल्यिसम भरिएका बिरामीलाई मात्र काम लाग्छ ।’ नेपालमा मुटुको नशा च्यापिँदा त्यसलाई खोलेर स्टेन राख्ने प्रविधि अर्थात् एन्जियोप्लास्टीको उपचारसमेत डा. भट्टले नै सुरुवात गर्नुभएको थियो । 

यो प्राविधिक रुपमा निकै जटिल खालको उपचार विधि पनि हो  । भट्ट नेतृत्वको पाँच डाक्टरसहित १० जनाको टोलीले डेढ घण्टा लगाएर नेपालमै पहिलोपटक आईभीएल प्रविधिबाट एन्जियोप्लास्टीको काम गरेको हो । यो प्रविधि नहुँदा क्याल्सियम भरिएको मुटुको नशा खुलाउन पनि बाइपास सर्जरी गर्नुपर्ने बाध्यता हुन्थ्यो, आधुनिक प्रविधिको सफलतमा प्रयोगबाट अब नेपालमा पनि विना चिरफार उपचार सम्भव भएको हो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले मुटुको अत्याधुनिक शल्यक्रियामा अस्पतालले निकै महत्त्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्दै यसबाट विदेश जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । ‘अन्तर्राष्ट्रियस्तरका अस्पतालका डाक्टर झैँ हाम्रा डाक्टरहरु पनि उत्तिकै सक्षम छन् भन्ने उदाहरण पनि हो यो’, उहाँले भन्नुभयो, ‘मुटु रोगको उपचारमा विशेष योगदान गर्दै आएको नर्भिकले भविष्यमा अन्य यस्ता आधुनिक प्रविधि भित्र्याउँदै जानेछ ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया