कोरोनाविरुद्धको खोप लगाएसँगै डाक्टरको मुस्कान : ‘खोप सुरक्षित र प्रभावकारी छ’

 माघ १४, २०७७ बुधबार १७:२७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशको एकमात्र सरुवा रोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले मुस्कुराउँदै कोरोना भाइरसविरुद्धको खोप लगाएको फोटो सार्वजनिक भएपछि खोपलाई लिएर भइरहेको गसिप र डर कम भएको छ । 

धेरैलाई कोरोनाविरुद्धको खोपमा आशङ्का र डर थियो । तर त्यसका बाबजुद बुधबार (आज) पहिलो खोप डाक्टर राजभण्डारीले लगाउनुभयो । मुस्कानसहित खोप लगाउनुभएका राजभण्डारीलाई देखेर धेरैकाे आत्मविश्वास बढेको छ ।

राजभण्डारीपछि कोरोनाविरुद्धको खोप टेकु अस्पतालकै सङ्क्रामक रोग विषेशज्ञ डा. अनुप बास्तोला र जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर रुणा झाले खोप लगाउनुभयो । 

के भन्छन् त खोप लगाएका डाक्टर ?

डा. सागर राजभण्डारी

धेरै लामो पर्खाइपछि आज कोरोना भाइरसविरुद्धकाे खोपको सुरुवात भयो । आजको दिनलाई खोप इतिहासकै महत्त्वपूर्ण दिनका रूपमा लिन सकिन्छ । 

एक वर्षमा नै खोपको उत्पादन भएको छ । धेरै देशमा यसको परीक्षण भएको छ । खोपले अहिलेसम्म नकारात्मक असर देखिएको छैन । एकदमै सुरक्षित छ । निर्धक्कका साथ खोप लगाएको छु । तपाईँहरूले पनि शङ्का गर्नुपर्दैन । खोप लगाउनु हुने सबैलाई धन्यवाद । 

अहिले उपलब्ध भएको कोभिशिल्ड खोप १८ वर्षमुनिका, गर्भवती, स्तनपान गराइरहेकाले  भने लगाउनुहुँदैन । अरु सबैले उपलब्ध भएसम्म लगाउँदा हुन्छ ।  

डा. अनुप बास्तोला 

केही महिना अगाडि मैले रुघाखोकीविरुद्वको खोप लगाएको थिएँ । सामान्य समस्या देखिएको थियो । तर आज कोरोना भाइरसविरुद्वको खोप लगाएपछि मलाई कुनै स्वास्थ्य समस्या देखिएको छैन । दुख्ने, सुन्निने जस्ता केही पनि अनुभूति भएको छैन । भारतमा कतिपयलाई  समस्या भएको, ज्यान नै गएको भन्ने कुराहरु पत्रपत्रिकामा आएका थिए । तर मलाई त्यस्तो केही पनि भएको छैन । 

कसैलाई तत्काल समस्या नदेखिएर पछि पनि देखिन सक्छ । कसैलाई दुई दिनसम्म पनि समस्या रहन सक्छ । दोस्रो डोज लगाउँदा पहिलो डोज लगाउँदाभन्दा धेरै ‘साइडइफेक्ट’ देखिन सक्छ । कसैलाई असाधारण अवस्था पनि हुन सक्छ । तर लगाउनेबित्तिक्कै समस्या देखिएन भने आत्तिन पर्दैन ।  

समस्या देखिएमा लक्षणअनुसार उपचार गर्नुपर्छ । त्यसका लागि स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुपर्छ । उहाँहरुको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।  

धेरैजसोलाई खोप लगाउँदा सामान्य लक्षण देखिएकै हुन्छ । उदाहरणका लागि डीपीटी, मौसमी रुघाखोकी, टिटानसको खोप लगाउँदा पनि सामान्य ‘साइडइफेक्ट’ देखिएकै हुन्छ । 

खोपको बारेमा जानकारी नभएकाहरूले शङ्का गर्नु स्वाभाविक हो । तर खोप लगाउनेबित्तिक्कै ज्यान गइहाल्छ भन्ने झुट हो । अहिलेको खोपले ६२ देखि ९० प्रतिशतसम्म रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ । यो एकदमै राम्रो हो । मौसमी रुघाखोकीभन्दा पनि यो बढी प्रभावकारी छ । समुदायमा गएपछि यसले कत्तिको काम गर्छ ? भन्ने चाहिँ हेर्न बाँकी छ । 

कोरोना सङ्क्रमितको सङ्ख्या कम भए पनि हामी अझै महामारीको जोखिममा छौँ । विश्वका कतिपय देशमा पहिलो चरणको कोरोना भाइरस नियन्त्रण भएपछि दोस्रो चरणमा फेरि फैलिएका उदाहरणहरू छन् । 
नेपाल पनि दोस्रो चरणको महामारीको जोखिममा छ । यस्तो अवस्थामा खोप लगाउन पाउनु खुसीको कुरा हो ।

खोप लगाउँदा कुनै समस्या हुँदैन रहेछ भन्ने कुराको पनि प्रमाणित भएको छ । त्यस कारणले ज–जसले लगाउन पाउनुभएको छ ,उहाँहरूले ढुक्कले लगाउँदा हुन्छ । 

खोप लगाएको ठाउँमा दुख्ने, रातो हुने, अलिअलि चिलाउने, सामान्य ज्वरो आउने वा खोकी लाग्ने भएमा त्यो सामान्य नै हो । 

कसैमा भने लगाउनेबित्तिक्कै रातो दाग देखिने, श्वासप्रश्वासमा समस्या हुने, ग्रन्थीहरू सुन्निने, रिँगटा लाग्ने, ढल्ने समस्या हुन सक्छ । त्यस्तो हुनु जटिल प्रकारको स्वास्थ्य समस्या हो । यस्ता समस्या खोपसँग एलर्जी भएकाहरूमा देखिन सक्छ । 

खोप लगाइसकेपछि पनि रोग प्रतिरोधात्मक शक्ति बढ्न समय लाग्न सक्छ । यसको दुई वटा डोज हुन्छ । एउटैले रोग प्रतिरोधात्मक शक्ति बढाउँदैन । 

दोस्रो डोजको खोप लगाइसकेपछि पनि दुई चार हप्तापछि मात्र रोग प्रतिरोधात्मक शक्ति बढ्न सक्छ । त्यस कारणले खोप लगाइसकेपछि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । 

नयाँ देखिएको कोरोना भाइरसविरुद्ध यो खोपले काम गर्छ वा गर्दैन भन्ने प्रमाणित भइसकेको छैन । त्यसैले खोप लगाए पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । त्यसैले नयाँ कोरोना भाइरसको जोखिम वा अरू रोगबाट सुरक्षित हुनका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ । 

उपलब्ध भएसम्म सबैले खोप लगाउनुहोस् । सुरक्षित तरिकाले खोप लगाउनुहोस् । खोप लगाउन पाउनु हाम्रो लागि भाग्यको कुरा हो । अहिले खोप लगाउँदा जटिल स्वास्थ्य समस्या भएकाहरूले दोस्रो डोजको खोप लगाउनु हुँदैन । 

अन्य सामान्य लक्षण देखिएकाले भने दोस्रो डोज पनि ढुक्कले लगाउँदा हुन्छ । नयाँ स्वरूपको कोरोना भाइरसको सङ्क्रमण पनि देखिएको हुनाले पूर्णरूपमा हामी सुरक्षित छैनौँ । त्यसैले स्वास्थ्य मापदण्डको पालना गर्न नभुलौँ ।   

डा. रुणा झा

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउँदा खुसी लागेको छ । खोप सुरक्षित छ । अरु महिलाले पनि निर्धक्क भएर खोप लगाउँदा हुन्छ । खोप लगाउँदा थाहै भएन । सामान्य दुख्ने हो । 
एक वर्ष अगाडि आजकै दिन कोरोनाको पहिलो परीक्षण नेपालमा भएको थियो । सबैको मेहनतले खोप नेपालमा भित्रिन सफल भयो । 

के होला, कसो होला ? भनेर मनमा शङ्का नराख्नुहोस् ? सामान्य औषधि खाँदा पनि सामान्य ‘साइडइफेक्ट’ हुन सक्छ । यसलाई सामान्य औषधि जस्तै मान्दा हुन्छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया