नेपालमा भ्रष्टाचार झन् बढ्याे : ट्रान्सपरेन्सी इन्टरनेशनल

 माघ १५, २०७७ बिहीबार १३:०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा भ्रष्टाचार झन् बढेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार (आज) संसारभरि सार्वजनिक गरेको रिपोर्टमा नेपालमा भ्रष्टाचार अझ बढेको उल्लेख गरिएको छ । भ्रष्टाचारका कारण कोरोना भाइरसको महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको रिपोर्टमा उल्लेख गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले एक सय ८० देशका सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा लिएको थियो । यसका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीको १ सय १७ औँ स्थानमा छ ।

गएको वर्ष यस सूचीमा नेपाल ११३ औँ स्थानमा थियो । नेपालमा गरिएको सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग हुनु, सार्वजनिक पदाधिकारीमाथि कारबाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनुजस्ता समस्या कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार नियन्त्रण गर्न नियमनकारी निकायहरुको शक्तिकरण, खुला तथा पारदर्शी ठेक्का प्रक्रिया, लोकतन्त्रको रक्षा, नागरिक संस्थाको स्वतन्त्रता, तथ्याङ्क सम्प्रेषण र सूचनामा पहुँचजस्ता सुझावसमेत दिएको छ ।

एक सय ८० देशमध्ये डेनमार्क र न्युजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीको पहिलो नम्बरमा छन् भने सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा साउथ सुडान र सोमालिया रहेका छन् । डेनमार्क र न्युजिल्याण्डले कुल एक सयमा ८८ अङ्क पाएका छन् । सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेका दक्षिण सुडान र सोमालियाले भने १२ अङ्क पाएका छन् ।

दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरि २४ औँ स्थान, माल्दिभ्स ४३ अङ्क प्राप्त गरि ७५ औँ स्थान, भारत ४० अङ्क प्राप्त गरि ८६ औँ स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरि ९४ औँ स्थान, पाकिस्तान ३१ अङ्क प्राप्त गरि एक सय २४ औँ स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरि एक सय ४६ औँ स्थान र अफगानिस्तान १९ अङ्क प्राप्त गरि १६५ औँ स्थानमा रहेका छन् ।

यस्तै, चीन ४२ अङ्क प्राप्त गरि ७८ औँ स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि हरेक वर्ष रिपोर्ट सार्वजनिक गर्दै आएको छ भने यसमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको थियो ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया