कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
दाङ - ज्ञान विज्ञानको केन्द्रबिन्दु र खोज अनुसन्धानको केन्द्रका रुपमा विश्वविद्यालय रहनुपर्छ भन्ने सिद्धान्तअनुसार २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालय स्थापना भएको हो । लामो समयसम्म संस्कृत भाषालाई प्रमुख धार बनाएर विश्वविद्यालय अघि बढ्यो । तर अहिले नेपाल संस्कृत विश्वविद्यालय व्यावसायिक सोचकासाथ अघि बढेको छ ।
वैदिक संस्कृतका विभिन्न विधामा अध्यापन हुँदै आएको विश्वविद्यालयले इञ्जिनियरिङ, कृषि, जीवन व्यवस्थापन, योग, चिकित्सालगायतका शिक्षाको पनि अध्यापन गर्ने भएको छ ।
विश्वविद्यालयले यसै वर्षदेखि वास्तु इञ्जिनियरिङकाे पढाइ सुरु गर्न थालेको छ । वास्तु इञ्जिनियरिङकाे अध्यापनका लागि पाठ्यक्रम तयार भइसकेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादव प्रकाश लामिछानेले जानकारी दिनुभयो ।
किन व्यावसायिक धार समात्यो त संस्कृत विश्वविद्यालयले ?
नेपाल संस्कृत विश्वविद्यालयमा पढ्ने शुद्ध संस्कृतका विद्यार्थीको संख्या घट्दो क्रममा छ । संस्कृत ज्ञानको अथाह भण्डार हो, तर संस्कृतप्रतिको आकर्षण घट्दै गएको छ ।
संस्कृतको महत्त्व बुझाउँदै नयाँ र पुरानो विषयलाई जोडेर जाने योजनामा विश्वविद्यालय लागेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर लामिछाने नयाँ-नयाँ विषयलाई समेत जोड्दै जाने योजनामा विश्वविद्यालय लागेको बताउनुहुन्छ ।
नयाँ सीप पनि दिने र त्यसैकै माध्यमबाट उनीहरुलाई, आयआर्जनको बाटोमा लगाउने गरी योजना भइरहेको उहाँले बताउनुभयो ।
‘पहिले-पहिले संस्कृत पढ्नेहरुको संख्या पनि धेरै थियो, संस्कृत विद्यालयहरु पनि धेरै थिए’ उपकुलपति लामिछानेले भन्नुभयो, ‘अहिले विद्यार्थी घट्दै गए र यसलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आयो । यसलाई पण्डित्याइँ भाषा मात्रै हो भन्ने बुझाइलाई व्यापकता दिइयो । त्यसैले संस्कृतप्रतिको आकर्षण पनि घट्यो र विद्यार्थी संख्या न्यून भयो । यसैलाई मनन गर्दै नेपाल संस्कृत विश्वविद्यालयले आफूलाई व्यावसायिक बनाउन थालेको छ ।’
वैदिक संस्कृतका विभिन्न विधामा अध्यापन हुँदै आएको संस्कृत विश्वविद्यालयले इञ्जिनियरिङ, कृषि, जीवन व्यवस्थापन, योग, चिकित्सालगायतका शिक्षाको पनि अध्यापन गर्ने भएको छ।
इञ्जिनियरिङ, वास्तु र ज्योतिष शास्त्रको त्रिकोणीय संयोजन : वास्तु इञ्जिनियरिङ
विश्वविद्यालयले यसै वर्षदेखि वास्तु इञ्जिनियरिङकाे पढाइ थालेको छ । घर बनाउँदा सेफ्टी ट्याङ्की र पानी ट्याङ्की राख्ने ठाउँ, भर्याङको ठाउँलगायतका विषयमा ज्ञान दिन वास्तु इञ्जिनियरिङको पढाइ थालिएको विश्वविद्यालयले जनाएको छ ।
धेरैको घरमा आधुनिक इञ्जिनियरिङ डिजाइन त हुन्छ, तर अन्य महत्त्वपूर्ण कुरामा ध्यान दिइएको हुँदैन । यसैलाई ध्यान दिएर इञ्जिनियरिङको पढाइ सुरु गर्न लागिएको नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताउनुभयो ।
‘घरको पूर्व उत्तरको कुनामा पानी हुनुपर्छ, पश्चिम उत्तरको कुनामा कुवेरको बास हुनुपर्छ, दक्षिण पूर्वको कुनामा अग्निको बास हुन पर्छ, दक्षिण पश्चिमको कुनामा मालिक घरको प्रमुख बस्नुपर्छ भन्ने शास्त्रमा उल्लेख छ’ रजिष्ट्रार अधिकारीले भन्नुभयो, ‘वास्तु नमिलेर घरमा अशान्ति हुन्छ भनिन्छ, त्यसैले यसबारे पढाउन खोजेका हौं ।’
वास्तु इञ्जिनियरिङमा वास्तु र इञ्जिनियरिङसँगै ज्योतिष शास्त्र पनि जोडेर लगिएको छ । मानिस जतिसुकै आधुनिकतामा प्रवेश गरे पनि घरको जग खन्दा र घर प्रवेश गर्दा ‘साइत’ हेर्ने गरिन्छ । यसलाई पनि वास्तु इञ्जिनियरिङको पाठ्यक्रममा समेटिएको छ ।
वास्तु इञ्जिनियरमा इञ्जिनियरिङ, वास्तु र ज्योतिष पनि पढाउँदा तीनवटै कोणको विद्यार्थी तयार हुने र त्यसको अन्तर्राष्टिय बजारमा व्यापक माग हुने तथा विद्यार्थीले राम्रो अवसर पाउने विश्वास विश्वविद्यालयको छ ।
वेदमा रहेका विषयलाई आधुनिक कृषिसँग जोडेर लैजान वैदिक कृषि
वैदिक कृषिलाई आधुनिक कृषिसँग जोड्ने गरी कृषि विषयको पनि पाठ्यक्रम तयार भइरहेको विश्वविद्यालयले जनाएको छ ।
महर्षि युनिभर्सिटी अमेरिकासँग र चितवनको रामपुर कृषि क्याम्पससँग समन्वय गरेर तयार पारिएको प्राचिन वैदिक ग्रन्थ वेदमा रहेका विषयवस्तुलाई आधुनिक कृषिसँग जोडेर लैजाने उद्देश्यका साथ तयार गरिएको वैदिक कृषिमा प्राचिन ग्रन्थ वेदमा उल्लेख गरिएका कृषिका प्रसङ्गलाई जोडेर आधुनिक कृषिसँग अध्ययन गर्ने गरी प्रारुप तयार गरिएको संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताउनुभयो ।
वेदका महत्त्वपूर्ण विषयलाई प्रष्ट्याउन र संस्कृत वाग्मयलाई वेदभित्र लगेर विद्यार्थीलाई वेदका कुरा उजागर गर्न वैदिक कृषि पढाउन थालिएको छ । वेदमा कृषिको चर्चा नयाँ पुस्ताले थाहा पाउन भन्ने कुरा उद्देश्यले पढाइ सुरु गर्न लागिएको उपकुलपति प्राध्यापक डाक्टर लामिछानेले बताउनुभयो ।
यी दुवै विषयले वैदिक दर्शनलाई आधुनिकतासँग जोडेर वर्तमान समयको आवश्यकता पूर्ति गर्ने तथा बेरोजगार नहुने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको विश्वास छ । नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न क्याम्पसमा अध्यापन भैरहेका ५६ विषयको पाठ्यक्रम २२ वर्षपछि परिवर्तन गरी शास्त्री तहलाई चार वर्षे बनाएको छ ।
देशभित्रकै अन्य विश्वविद्यालयसँग समकक्षी हुने गरी तीन वर्षे शास्त्री तहलाई यसै शैक्षिक सत्रदेखि चार वर्षे बनाउन थालिएको उपकुलपति प्राध्यापक डाक्टर यादव प्रकाश लामिछानेले बताउनु भयो । विश्वविद्यालयले स्नातकोत्तर तहमा जीवन व्यवस्थापन, स्नातक तहमा फार्मेसीलगायतका नयाँ विषयको अध्यापन पनि सुरु गर्ने तयारी गरिरहेको छ ।
विद्यार्थीको अभ्यासका लागि दुई सय शैय्याको अस्पताल बनाइँदै संस्कृत विश्वविद्यालयले नेपालमै पहिलो पटक संकाय नै बनाएर योग तथा प्राकृतिक चिकित्साको पढाइ सुरु गर्न लागेको छ।
लामिछानेले भन्नु भयाे ‘आयुर्वेदको पठनपाठनको भइरहेको छ, हामी फार्मेसीको कुरा पनि गरिरहेका छौँ, तीन चार वटा विधालाई समेटेर एउटा एकीकृत अस्पताल बनाइएन भने विद्यार्थीहरुलाई अभ्यास गर्न अप्ठ्यारो हुन्छ भनेर दुई सय शैय्याको अस्पताल बनाउने प्रक्रिया अघि बढाएका छौँ’ ।
दक्ष जनशक्ति उत्पादनका लागि पढाइसँगै पढ्ने विद्यार्थीको अभ्यासका लागि दाङमा २ सय शैय्याको एकीकृत अस्पताल बनाउने प्रक्रियामा रहेको विश्वविद्यायलका उपकुलपति प्राध्यापक डाक्टर यादव प्रकाश लामिछानेले बताउनुभयो ।
उपकुलपति लामिछानेले थप्नुभयो ‘प्रधानमन्त्रीले विश्वविद्यालयको सभामा अस्पताल बनाउने योजनालाई प्राथमिकतामा राखेर अघि बढाउन निर्देशन दिनुभएको थियो । त्यसैअनुसार अहिले लुम्बिनी प्रदेशले कार्यक्रममा पारेको जानकारी प्राप्त भएको छ र मैले पनि केन्द्रबाट अस्पताल बनाउनका लागि सम्बन्धित निकायमा पहल गरिरहेको छु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।