‘लू’ काे जाेमिखसँग लड्न सरकारसँग रणनीति छैन, पूर्वतयारीकाे ...
बैशाख ११, २०८१ मंगलबार
मैले अँध्यारो टेक्दै हिँडेको सडक सम्झिँदा
लाग्छ अझै पनि म
ब्रेललिपी पढिरहेको छु आँखा छामेर
दासयुगको पिंढीमा ।
जब स्नायुले काम गर्न छोड्छ
अनि गतिहीन हुँदोरहेछ मान्छे,
अँध्यारो ल्याम्पोस्टमै भेटिन्छ्न्
अनगिन्ती सालिक जस्ता कुरुप अनुहार
ती प्रत्येक अनुहार छाम्छु म
तर म भेट्दिन मेरो जिजीविषा ।
अँध्यारोमै भेटिन्छन्
यौनक्रिडामा रमाइरहेका अर्धनग्न शरीरहरू
जसको उच्चारण गर्ने सामर्थ्य छैन मसँग,
अँध्यारो रच्छ्यानमै भेटिन्छ
जूनले टेक्दै गरेको मेरा बुढा बाको अनुहार
जूनकीरी नाच्दै गरेको साँझ भेटिन्छ
ओसिला झाङ्हरूमा
र
अँध्यारोमै भेटिन्छ
दियो जलिरहेको एक अनाथ मन्दिर
जस्को पिंढीमा भोक निलेर
निन्द्रा चपाउँछन् सयाैँ गरिबीका ज्यानहरू
जसको उज्यालो छेड्ने एक भित्ता जमिन छैन
जसको घाटसम्म पुगेर फर्कने मलामी छैन ।
कात्रोभित्र बरखी बारिरहेको मुर्दा
समाधी कसेर
मुर्कुटाहरूको नली खुट्टा बजाउँछ,
मध्यरातमा सन्नाटा चिरेर
ओर्लिएपछि बिधवा जून
रक्त क्रान्तिले कोरिएका
मुक्तिका पदचापहरू कुल्चिएर दौडन्छ,
जुनकीरीहरूको मसाल
दिग्भ्रमित आँखाहरू हराउँछ्न्
गाण्डिवधारीको जुलुसभित्र ।
मैले कहिल्यै सोधिन
जून निदाउने आकाश कसको हो ?
सूर्य उदाउने भूगोल कसको हो ?
अनगिन्ती भ्रुण फुटेर निस्किएका
नीरव सुकुम्बासी र
अँध्यारोले पोतिएका
दासी अनुहार म पढिरहेछु आज पनि ।
आकाश चुहिएर निस्किएको
एक धर्को अँध्यारोभित्र
भोकै निदाएका पत्थरको मूर्ति सम्झन्छु म
क्लोम ध्वनिले ब्युँझदैन ऊ
निम्सरा मान्छेको पुकार सुन्दैन ऊ
अनाथ मोहरको सिरानीमा
लिप्त छ ऊ
अँध्यारोमा रजस्वला भएर
आत्महत्या गर्छन् कुमारी पारिजात क्षितिजमा
म अँध्यारोमै रक्तक्रान्तिका योद्धा सम्झन्छु
नीलडामले थलिएका सिपाहीका गाथा कोरिरहेछु म
निर्जीव डटपेनको आँशुले ।
अँध्यारो ओडेर निदाएको चिहानघारीमा
स्वर्णिम युगले दासीयुगको बैशाखी टेकेर दौडिएपछि हो
नालापानी दुखीरहेको
लालकिल्ला दुखीरहेको
योद्धाको रातो रगतले आर्जित मेरो देश
जल्लादको साम्राज्यभित्र
शोक धुन अलापी रहेछ अजङ्ग जङ्गलको ओडारभित्र
चिथोरी रहेछन् चारैतिरबाट
नाक चुच्चे देशको आकृति
स्याल, गिद्ध र ब्वाँसाहरूले ।
सेतो केशको झण्डा फहराइरहेको
वृद्धतन वर्षौंदेखि
ओरालो झरेको बूढो घाम झैं
पिंढीमा सुतेर इतिहास देख्छन् वीर शहीदको
र सम्झन्छन्
कमल समाउने हातहरूमा बन्दुकको नाल थमाएको
अपहरणकारी होस गुमाएर फर्किएछ
आफ्नै करङ्को स्टेचरमा ।
मृत्युको साइरन बजाउँदै निस्लोट अँध्यारोमा
रगतको रेखीले कोरिएका
ती पत्थरका शिलालेख देख्दा
चौतारीमा बसेर म
तिनै ज्ञात अज्ञात शहीदका अनुहार देख्छु
र पार्थना गर्छुं
वीर शहीदहरू अमर रहुन् ।