‘महिलालाई भिजिट भिसामा विदेश जाँदा सिफारिस आवश्यक पर्नेबारे निर्णय भइसकेको छैन’

 माघ २९, २०७७ बिहिबार ११:४८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अध्यागमन विभागले जोखिमयुक्त देशमा भिजिट भिसामा जाँदा महिलालाई परिवार र पालिकाको सिफारिस आवश्यक पर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । 

विभागले आज विज्ञप्ति निकालेर महिलाहरु भिजिट भिसामा जाँदा परिवार र सम्बन्धित वडाको सिफारिस चाहिने विषय सञ्चारमाध्यममा आए जस्तो नभएको दाबी गरेको हो ।

विभागले खाडी र अफ्रिकी देशजस्तो जोखिमयुक्त देशहरुमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारी समेत नभएका महिलाको सुरक्षाका विषयमा  आन्तरिक छलफल भएको तर निर्णय नभइसकेको स्पष्ट पारेको छ । 

विभागले पहिलो यात्राको सामान्य जानकारी समेत नभएका महिलाको सुरक्षाको लागि अनौपचारिक रुपमा भइरहेको छलफललाई भ्रम फैलाउने गरी फिँजाएको भन्दै आपत्ति पनि जनाएको छ । 

आन्तरिक छानबिन कार्यदलका सुझावहरुका रुपमा आएको विषयलाई नबुझिकनै समाचार बनाइँदा अनावश्यक भ्रम फैलिएको विभागको भनाइ छ । विभागले यो विषयमा अधिकार र मौलिक हक कुण्ठित नहुने गरी निर्णय गरिने पनि स्पष्ट पारेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया