अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमतिपछि साेमवारदेखि काम सुरु

 फागुन ३, २०७७ सोमबार १७:३२:० | नवीन गुरुङ
unn.prixa.net

अरुण तेस्रो ड्यामसाइड, मकालु–५ फ्याक्सिन्दा दोभान । तस्बिर : नवीन गुरुङ/उज्यालो

सङ्खुवासभा – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रोमा टिपरको ठक्करबाट ज्यान गएपछि रोकिएको काम सोमबारदेखि सुरु भएको छ । 

मकालु गाउँपालिका ५ फ्याक्सिन्दाबेसीमा गएको शुक्रबार टिपरको ठक्करबाट खड्गबहादुर राईको ज्यान गएपछि स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन चर्काएपछि काम ठप्प भएको थियो । आइतबार राति अबेरमात्रै आयोजना र पीडित पक्षबीच छलफलपछि पीडित पक्षले चार दिनपछि मृतकको शव बुझेका हुन् । 

मृतक खड्गबहादुरका सालो दीपेन्द्र राईले अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमति भएपछि मात्रै सोमवार शव उठाएर अत्येष्टि गरिएको बताउनुभयो । उहाँका अनुसार इन्स्योरेन्सबापतको २० लाख रुपैयाँ उपलब्ध गराउने, मृतकका दुई जना छोराछोरीको लालनपालनको सम्पूर्ण खर्च बेहोर्ने र उनीहरुको उच्च शिक्षाका लागि भारतीय राजदूतावासबाट छात्रवृत्ति उपलब्ध गराउने, मृतकका बुबाआमाको भरणपोषणका लागि मुद्दति खातामा १० लाख रुपैयाँ जम्मा गर्ने सहमति भएको छ । 

त्यस्तै मृतकका परिवारबाट दुई जनालाई जेपी कम्पनीमा रोजगारी उपलब्ध गराउने, हेलिकप्टरमार्फत काठमाण्डौ लगिएकी घाइते प्रेमकुमारीको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र स्थानीयले उठाएका विभिन्न मागको समेत सम्बोधन गर्ने भनि १० बुँदै सहमति भएको उहाँले बताउनुभयो । 

पीडित पक्ष र अरुण तेस्रो आयोजनाका जेपी एसोसिएट कम्पनीबीच मृतकका परिवारलाई ५२ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएपछि सोमवारदेखि अरुण तेस्रोको काम सुरु भएको हो । 

बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना सङ्खुवासभामा निर्माणाधीन छ । सन् २०२३ भित्र सम्पन्न गर्ने गरी काम अघि बढिरहेको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय सतलज कम्पनी एसजेभीएनले काम गरिरहेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया