आफ्नो बिहे आफै रोक्ने केटी

 फागुन ४, २०७७ मंगलबार १५:७:५४ | इन्द्रसरा खड्का
unn.prixa.net

परिवारको कुरा मानेर बेहुली बन्न राजी हुनुभएकी भए सरस्वती अहिले नव दुलहीको भेषमा हुनुहुन्थ्यो । बिहानै उठेर भान्छाको काम, दिनभरि बारीको काम । पढाइलाई निरन्तरता दिन्छु भनेर परिवारभित्रै सङ्घर्ष गरिरहनु पर्थ्याे होला सायद । 

उहाँसँगैका बिहे गरी गएका साथीहरूको कहानी यस्तै छ । थाहा छैन, त्यस्तो नहुन पनि सक्दो हो । तर उहाँलाई लाग्छ मेरो बेलैमा बुद्धि आयो । नयाँ घर, नयाँ ठाउँ कस्तो हुन्थ्यो ? राम्रै हुन्थ्योे कि आफ्नै आँखाले देखेका आफ्नै साथीहरूको जस्तै हाल हुन्थ्यो ?  तर अहिले जे गरेँ त्यो सही गरेँ जस्तो लाग्छ उहाँलाई । 

उहाँ अर्थात् सरस्वती । सरस्वतीको घर बैतडीको डिलाशैनी गाउँपालिका ३ दौखोला हो । दौखोला पुग्न बैतडीको सतबाजबाट दार्चुला जाने महाकाली राजमार्ग हुँदै जानुपर्छ । बैतडी र दार्चुलाको सीमामा पर्ने डिलाशैनी गाउँपालिका चमेलिया नदीको किनारमा छ ।

चमेलिया नदीले बैतडी र दार्चुला जिल्लालाई छुट्याएको छ । वारि बैतडीको डिलाशैनी गाउँपालिका पर्छ भने पारि दार्चुलाको शैल्यशिखर नगरपालिका पर्छ । दौखोला पुग्न गोकुलेश्वरबाट चमेलिया नदीको किनारै किनार पन्सेरा पुग्नुपर्छ । पन्सेराबाट दायाँपट्टिको झण्डै तीन घण्टा उकालो चढेपछि दौखोला पुगिन्छ । 

हल्का गुलाबी रङको कुर्ता सलवारमाथि उस्तै रङको स्विटर, गहुँगोरो वर्णकी सरस्वती उमेरले १९ वर्ष पुग्नुभयो । उहाँ गाउँमै रहेको शिक्षा केन्द्र अमर माविमा कक्षा ११ पढ्नुहुन्छ । सरस्वतीका तीन भाइबहिनी छन् । उहाँका बुबा कामको सिलसिलामा भारतको बेङ्गालेरमा हुनुहुन्छ भने हजुरबुबा–हजुरआमा र आमा घरमा हुनुहुन्छ । 

गएको मङ्सिर २५ गते सरस्वतीको बिहेको मिति तय भयो । सरस्वतीलाई थाहै नदिइ उहाँका हजुरबुबा, हजुरआमाले कञ्चनपुरको झलारीका केटासँग बिहेको कुरा पक्का गरे । तर सरस्वती बेहुली हुन राजी हुनुभएन । उहाँले आफ्नै हजुरबुबा, हजुरआमासँग अहिले बिहे नगर्ने बताउनुभयो । सरस्वतीलाई २० वर्ष नपुगेर बिहे गर्न हुँदैन भन्ने थाहा थियो । हजुरबुबा, हजुरआमाले जिद्दी गरे । 

आफ्नो इच्छा विपरीत परिवारले गराइदिन लागेको बिहे सरस्वती आफैले रोक्नुभयो । अहिले सरस्वती आफ्नो बिहे रोकेर पढाइलाई निरन्तरता दिरहनुभएको छ ।

बिहे रोक्न सङ्घर्ष

असोज २२ गते सरस्वती बाख्रा चराउन जानुभएको थियो । घरमा उहाँका हजुरबुबा, हजुरआमा र आमा थिए । सरस्वतीको गाउँको भाउजु नाता पर्ने महिला आफ्नो भाइलाई लिएर सरस्वतीको घर आउनुभयो । 

ती महिलाले भाइसँग सरस्वतीको बिहेको प्रस्ताव राख्नुभयो । केटो हेर्दा राम्रो, पढेलेखेको र खानदानी परिवारको भन्दै सरस्वतीका बाजे बज्यैले बिहेको कुरा पक्का गरिदिनुभयो ।

सरस्वतीलाई यो कुरा थाहा थिएन । दिनभरि बाख्रा चराएर घर फर्कँदा सरस्वतीलाई आफ्नाे बिहेको कुरा पक्का भएको थाहा भयो । सुरुमा सरस्वतीलाई विश्वास नै लागेन । उहाँले घरमा पुगेर आमासँग सोध्नुभयो । आमाले मङ्सिर २५ गते बिहेको मिति तय गरिसकेको बताउनुभयो ।

आफूलाई थाहा नदिइ बिहेको मिति नै तय गरेपछि सरस्वतीले आफू बिहे नगर्ने अडान कस्नुभयो । त्यो दिन सम्झँदै सरस्वतीले भन्नुभयो, ‘सुरुमा त जति सम्झाउँदा पनि मान्नु भएन । हामी बुढा हुँदै गयौँ, उमेर भइसकेकी नातिनीको खुट्टा धोएर पानी खान पाएमात्र पनि आनन्द हुन्थ्यो, भन्नुभयो । तर मैले बिहे रोकेरै छोडेँ ।’ 

सरस्वतीका बाजे उमेरले ७० लाग्नुभयो । मर्नुअघि नातिनीको खुट्टा धोएर पानी खाने उहाँको धोको थियो । तर सरस्वतीको बिहे गरेर पुण्य कमाउने बाजेको धोको पूरा हुन दिनुभएन । उहाँले सामुदायिक छलफल केन्द्रका महिलाको सहयोगमा आफ्नो बिहे रोक्नुभयो ।

बिहे रोक्न सामुदायिक छलफल केन्द्रको सहयोग

महिला र बालिकामाथि हुने हिंसा अन्त्यका लागि अभियानअन्तर्गत दौखोलामा सामुदायिक छलफल केन्द्रमा सञ्चालनमा आएको छ । सरस्वती सामुदायिक छलफल केन्द्रकी सहभागी हुनुहुन्छ । 

उहाँले सामुदायिक छलफल केन्द्रमा जान थालेपछि २० वर्षमुनि बिहे गर्न हुँदैन भन्ने कुरा थाहा पाउनुभयो । घरमा हजुरबुबा हजुरआमाले विवाह रोक्न नमानेपछि सरस्वती सहयोग माग्न सामुदायिक छलफल केन्द्रमा जानुभयो ।

सरस्वतीले आफ्नो समस्या सुनाइ सकेपछि सामुदायिक छलफल केन्द्रका सहभागी उहाँकै घरमा गए । सरस्वतीका हजुरबालाई सरस्वतीको बिहे गर्ने उमेर नपुगेकाले बिहे नगर्न सुझाव दिए । तर सरस्वतीका हजुरबुबाले सहभागीलाई उल्टै गाली गर्नुभयो । 

‘नातिनी मेरो हो । यसको कहिले बिहे गर्ने, कोसँग बिहे गर्ने भन्ने तिमीहरू को हौ भन्दै गाली गरे । सुरुमा त हाम्रो कुरा सुन्दै सुनेनन् । जब हामीले प्रहरीलाई खबर गर्छाैँ भन्यौँ अनि बल्ल बिहे रोक्न तयार भए’, सिद्धनाथ सामुदायिक छलफल केन्द्रकी सहजकर्ता दमयन्ती बोहोराले बताउनुभयो । 

अब छोरी आफ्नै राजीले बिहे गर्छे

उसो त सरस्वतीकी आमा मथुरा पनि सामुदायिक छलफल केन्द्रमा जानुहुन्छ । उमेर नपुग्दै छोराछोरीको बिहे गराउन हुँदैन भन्ने मथुरा पनि थाहा थियो । तर उहाँ आफूलाई थाहा हुँदा पनि सासु–ससुराको अघि केही बोल्न नसकेको मथुरा बताउनुहुन्छ ।

‘छोरीको बिहे गराइदिने मन त मेरो पनि थिएन । मेरी नातिनी मैले पालेको हो । ससुराले नातिनीको बिहेको लागि कसैलाई सोध्नुपर्दैन भन्दै आफै केटा खोजेर बिहेको कुरा चलाउनुभयो । मैले केही भन्न सकिनँ’, मथुराले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ, 'छोरीले आफ्नो बिहे आफै रोक्दा खुसी लाग्यो । अहिले पढ्दै छे । अब आफ्नै इच्छाले जहिले, जोसँग बिहे गर्छ, हामी खुसी छौँ ।’

बालविवाहबारे सम्झाउँदै आमाछोरी 

परिवारले गराइदिन लागेको आफ्नो बिहे रोकेपछि सरस्वती अहिले आफूजस्तै किशोरीलाई बालविवाहबारे सम्झाउनुहुन्छ । सानै उमेरमा बिहे गर्दा आउने समस्याबारे उनीहरूलाई पनि चेतना दिनुहुन्छ ।

‘मसँगैका केही साथीहरूले बिहे गरेका छन् । उनीहरूले भोगेको समस्या देखेर पनि मलाई उमेर नपुगिकन बिहे गर्न हुँदैन भन्ने लाग्यो । अहिले म गाउँकामात्र नभइ मसँगै पढ्ने स्कुलका साथीहरूलाई पनि सम्झाउँछु’, सरस्वतीले भन्नुभयो ।

सरस्वतीकी आमा मथुरा पनि केटाकेटीको उमेर नपुग्दै, उनीहरूको चाहाना विपरीत बिहे नगराइदिन सल्लाह दिनुहुन्छ । हामीले छोरीको इच्छा विपरीत बालविवाह गर्न खोज्दा बिहे रोक्न छोरीले सङ्घर्ष गर्नुपर्‍याे ।उहाँ भन्नुहुन्छ, ‘पहिले छोराछोरीको पढाइ सकौँ, आफ्नो खुट्टामा उभिन सिकाऔँ । त्यसपछि बिहे छोराछोरी आफैले आफ्नै खुसीअनुसार गर्नेछन् ।’ 

अन्तिम अपडेट: चैत १३, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया