ऊनी कपडाकाे माग उच्च, तर उत्पादनमा छैन युवा पुस्ताको चासो

 फागुन १२, २०७७ बुधबार १३:३६:७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – ऊनबाट उत्पादित विभिन्न सामग्रीको बजार र बजार भाउ निकै राम्रो छ । तर भेडापालनका साथै गुणस्तरीय ऊन उत्पादन र ऊनबाट विभिन्न सामग्री उत्पादनमा युवा पुस्ताको ध्यान जान सकिरहेको छैन ।    

यहाँ वार्षिक झण्डै ६ हजार मेट्रिक टन हाराहारीमा ऊन उत्पादन हुन्छ । ऊनबाट केही स्थानीयले बख्खु, राडीपाखी बनाइ उच्च मूल्यमा बिक्री गर्दै आएका छन् । तर नयाँ पुस्ताले ऊनका सामग्री बनाउने सीप सिक्नमा खासै ध्यान नदिएको पाकोपुस्ता बताउँछन् ।

गुणस्तरीय ऊन उत्पादन गरी विभिन्न सामग्री बनाउन सके यसैबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भेडाको ऊनबाट बनेको प्रति बख्खुको मूल्य ८ हजार रुपैयाँ र ऊनबाट बनेको राडीको १५ हजार रुपैयाँसम्म पर्छ ।

जिल्लामा ऊनका उत्पादित विभिन्न सामग्रीको बिक्रीबाट मात्रै वार्षिक १२ लाख बढी आम्दानी हुँदै आएको छ । लमजुङमा पर्याप्त मात्रामा गुणस्तरीय ऊन उत्पादन हुन नसकेको र कतिपय ठाउँमा ऊन त्यसै खेर जाने गरेको विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठले बताउनुभयो ।

‘ऊनबाट बनेका सामग्री देशका साथै विदेशमा समेत खपत हुने गरेको छ,’ उहाँले भन्नुभयो, ‘ऊनबाट विभिन्न सामग्री बनाउन सकेमा यसको बजार र बजार मूल्य दुवै राम्रो छ । तर यसप्रति नयाँ पुस्ताले चासो दिएका छैनन् ।’

जिल्लामा धेरै संख्यामा भेडा पालिएका ठाउँमा उत्पादित ऊनको उपयोग भएतापनि थोरै संख्यामा पालिएका ठाउँमा उत्पादित ऊन त्यसै खेर जाने गरेको छ । जिल्लामा उत्पादित ऊन प्रशोधनका साथै यसको बजारीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने चरणमा विज्ञ केन्द्र रहेको उहाँले बताउनुभयो ।

घुम्ती गोठमा भेडा पाल्ने परम्परा कायमै

परम्परागत रुपमा घुम्ती भेडीगोठमा भेडा पाल्ने परम्परा अझै लमजुङमा कायम छ । लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भूलभूले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दूधपोखरी लगायतका ठाउँमा घुम्ती भेठीगोठ रहेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा ९० वटा घुम्ती भेडीगोठ रहेका छन् । ती भेठीगोठमा झण्डै १५ हजार ‘बरुवाल’ जातको भेडा रहेका छन् । यसका साथै ती भेडीगोठमा झण्डै ६ हजार ‘सिन्हाल’ जातका बाख्रा पालिएका छन् । घुम्ती भेडीगोठमा पालिएका भेडाहरुबाट वार्षिक दुई सय मेट्रिक टन मासु उत्पादन हुने गरेको छ ।

प्रतिभेडाको मूल्य ३० हजार रुपैयाँ भन्दा बढी पर्छ । जिल्लामा भेडाको मासु बिक्रीबाट मात्रै वार्षिक १२ करोड आम्दानी हुँदै आएको छ । जिल्लामा उत्पादित भेडाको मासु काठमाडौँ, पोखरा, चितवन लगायतका शहरमा पुग्छन् ।

भेडापालन व्यवसायबाट मासु र ऊन बिक्रीबाट मनग्य कमाउन सकिने भएता पनि कठीनाइ हुने भएकाले यस व्यवसायमा युवापुस्ताले खासै चासो नदिएको पाको भेडीगोठालाहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया