प्रधानमन्त्री ओलीले आत्मालाेचना गर्दै राजीनामा दिनुपर्छ : वामदेव गाैतम

‘पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएकाे गाँठाे फुकाउने पहलकदमी दाहाल–नेपालले लिनुपर्छ’

 फागुन १२, २०७७ बुधबार १४:२६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गर्दै राजीनामा दिन सुझाव दिनुभएको छ । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने नेता गाैतमले बताउनुभएको हो ।

बुधवारकाे कुराकानीमा नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहलकमदी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लिनुपर्ने पनि बताउनुभयो । (उहाँसँग गरिएको कुराकानीको सारांश)

प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ । यो निर्णयले नेपाली नागरिककाे सार्वभौम अधिकारलाई पुनर्स्थापित गरेको छ र यसले स्वेच्छाचारी तरिकाले मनपरी जे मन लाग्यो त्यहीँ गर्दै हिंँड्न पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ । त्यसैले यो निर्णय नेपालको संविधानबमोजिम, नेपालको संविधानको मर्म र भावनाबमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ । प्रतिनिधि सभा भङ्ग गर्ने काम असंवैधानिक हो र यससित सम्बन्धित भएर सरकारले जति पनि काम गरेको छ त्यो सबै असंवैधानिक हुन् भनेको हुनाले प्रतिनिधि सभा मात्रै पुनर्स्थापित होइन अरू धेरै काम पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन् । ज्यादै ठूलो ऐतिहासिक महत्त्व राख्ने निर्णय भएको छ । मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु । 

मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयले राष्ट्रिय राजनीति, पार्टीभित्रको राजनीति सबै खलबलिएको थियो । अब कोर्स कताबाट सुरु गर्नुपर्छ र कसले पहलकदमी लिनुपर्छ, कसको के भूमिका हुनुपर्छ ? तपाईँले उठाउँदै आउनुभएको पार्टी एकताको कुरा अब कुन सिराबाट सुरु हुन्छ ?

पार्टी एकताको निम्ति सुरु गर्नुपर्ने दुई वटा अध्यक्षले हो । दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनु भएन । पार्टी त विभाजन भइसक्यो अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाइ आयो र पार्टी फुटाएको हामीले होइन केपी ओलीले हो भनेर भन्नुभएको छ । पार्टी फुटाउने काम प्रचण्ड–माधवहरूले हो भनेर यतातिर भनेको छ अनि साइडबाई साइड पार्टी फुटाउने वामदेव हो भनेर दुवैले आ–आफ्नो तरिकाले भन्नुभएको छ । जसले जे काम गर्नुभएको छ त्यसको जिम्मा नलिने चलन छ । राम्रो भएमात्रै आफूले जिम्मा लिने, नराम्रो भयो भने त्यसको अरूलाई लगाउने, आफै गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँको कामलाई सहयोग गर्नेहरूलाई अगाडि सार्ने र उनीहरूले गर्दाखेरि नै यो सबै भएको भनेर भन्ने चलन छ । एउटा हुँदाखाँदाको पार्टी, नेपाली नागरिकले विश्वास गरेको त्यस्तो पार्टीलाई फुटाएर उहाँहरू हिँड्नुभएको छ । यो पुनर्स्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुनर्स्थापित गर्नुपर्छ । यद्यपि सर्वाेच्च अदालतले गरेको निर्णय हाम्रो पार्टीभित्र लागू हुँदैन, पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । त्यसैले पार्टीका नेताहरूले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरूले एकता गर्नका लागि पहलकदमी गर्छौँ र यो निरन्तर अगाडि बढ्छ । 

प्रधानमन्त्रीकाे कदम असंवैधानिक छ भनी हिजो पनि हट र आज पनि हट भनेर भन्ने अर्को पक्षबीच अब कसको पहिलो स्टेप हुनुपर्छ । कहाँबाट सुरु हुनुपर्छ ? 

जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट सुरु हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुने । उहाँले चाल्नुभएको कमद सही सावित भएको छ, केपी ओलीले चाल्नुभएको कदम गलत साबित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरि पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो । उहाँले भन्नुपर्ने हो । पराजित भएकोले भनेर त अरूले मान्दैनन् । त्यसैले जसले आफूलाई म विजयी भए भनेर भन्छ उसले भन्ने हो । तर प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइन । पार्टी एकता हुन्छ, पार्टी एकता गर्नुपर्छ, अब सबै साथीहरू एकजुट हुनुहुन्छ । म उहाँहरूलाई आह्वान गर्छु एकता हुनका लागि भनेर भन्नुभन्दा अब सबै मैले बनाएको पार्टीमा आउनुहोस् भनेर भन्नुहुन्छ । त्यो भएर जिम्मेवारी कसैले पनि लिनुभएन । लिनुपर्ने जिम्मेवारी यस पटक प्रचण्डले हो । माधव नेपालले हो । पार्टी फुटिसक्यो, त्यो फुटेको पार्टी गइसक्यो अब हामीसँग भएको पार्टीमा आउनुपर्छ भन्ने उहाँहरूको अभिव्यक्ति पाइयो । त्यो अभिव्यक्ति उहाँहरूका लागि त सही होला तर मलाई राम्रो लागेन । 

अब तपाईँ के गर्नुहुन्छ ?

मैले औपचारिक र अनौपचारिक रूपमा एकताका लािग प्रयत्न गर्ने हो । पहिला म दुई वटा अध्यक्षलाई नै गएर भन्छु, महासचिवलाई भन्छु पार्टी एकताका लागि पहल गर्नुहोस् भनेर । केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मालोचना गर्नुपर्छ । मैले यस्तो गरेँ, त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ, अब म आत्मालोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरू पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनका लागि लागौँ भनेर उहाँले भन्नुपर्ने हो । उहाँले त्यो भनेको अहिलेसम्म मैले सुनेको छैन । त्यसो भएर हामीहरूले नै सबै काम गर्नुपर्ने भयो । अरू एकताको पक्षमा रहेका साथीहरू जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौँ र नेतृत्वलाई हामीले एकतामा आउनका लागि एकताबद्ध हुनका लागि एउटा ठूलो दबाब सिर्जना गर्ने हो त्यो गर्छौँ । 

सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपतिमाथि नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ? 

नैतिकताको प्रश्न नीति मान्नेहरूलाई उठ्दो रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठ्दो रहेनछ । तर म के ठान्छु भने लामो समय कम्युनिस्ट आन्दोलनमा लागेकाहरूले यो नैतिकता बुझ्नुहुन्छ । त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नुभएको कदम असंवैधानिक भइसकेपछि, उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनका लागि राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपर्थ्याे । सर्वोच्च अदालतको निर्णय बाहिर आउनेबित्तिकै राजीनामा गर्नुपर्थ्याे, अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरि पनि यही सूचना केन्द्रबाट भन्न चाहन्छु उहाँले तुरुन्तै राजीनामा गर्नुहोस् । राजीनामा गरेर पार्टी एकताको आह्वान गर्नुहोस् । मैले गल्ती गरेको थिएँ, म आफूलाई सच्याउन चाहन्छु, त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौँ भनेर उहाँले भन्नुपर्छ ।    

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • केशवप्रसाद भट्टराई

    April 16, 2021, 6:19 a.m.

    अनि संविधान संसोधन गरेर उनलाई प्रधानमन्त्री बनाउनु पर्दछ !

  •  0 Reply

तपाईको प्रतिक्रिया