काेराेनाविरुद्धको खोपको दोस्रो मात्रा आउँदाे वैशाख ७ देखि

 फागुन २१, २०७७ शुक्रबार २०:३:८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले पहिलो चरणमा कोभिड–१९ (काेराेना भाइरस) विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आउँदाे वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आउँदाे वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताउनुभयो । 

माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ । 

पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म झण्डै चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । त्यस खोप अभियानमा कुल जनसङ्ख्या १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । यसअघि भारतको सेरम इस्चिस्युट कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप २० लाख किनेकोमध्ये १० लाख आइसकेको छ । त्यही खाेपप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी दिनुभयो । उहाँले यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा–रुबेला, बिफर, जापानिज इन्सेफेलाइटिस रोगलाई निवारण गरेको उल्लेख गर्दै कोभिड–१९ लाई पनि खोपद्वारा नै नियन्त्रण गर्ने बताउनुभयो । उहाँले खोपबारे बुझाउन नसक्दा सुरुमा खोप नलगाउन मानिस हिच्किचाएको समेत बताउनुभयो ।  

विश्व स्वास्थ्य सङ्गठन नेपालका नेशनल प्रोफेसनल अफिसर डाक्टर राहुल प्रधानले कोभिशिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको बताउनुभयो । उहाँले विश्वमा २२ करोड ७६ लाख मानिसले लगाइसकेको समेत जानकारी दिनुभयो । उहाँले विभिन्न अध्ययनले कोभिशिल्ड पहिलो मात्रा लगाएको आठ हप्तामा लगाए ७१ प्रतिशत र १२ हप्तामा लगाए ८१ प्रतिशत प्रभावकारी देखिएको बताउनुभयो । गम्भीर रोग लागेकालाई शत प्रतिशत केही नभएको समेत उहाँले स्पष्ट पार्नुभयो । खोपमा एक डलर खर्च गरे ४२ डलर फिर्ता हुने उहाँको भनाइ रहेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया