प्रवीण बाँस्ताेला मृत्यु प्रकरण : सबै आराेपी पक्राउ

 फागुन २३, २०७७ आइतबार १८:१३:५८ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोलाकाे मृत्यु प्रकरणसँग जोडिएका सबै व्यक्ति पक्राउ परेका छन् । उर्लाबारी ५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणसँग जोडिएका सबै फरार व्यक्तिहरू पक्राउ परेका हुन् । 

आइतवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न सबै प्रहरीको नियन्त्रणमा आएको जनाएको हो । घटनामा संलग्न भनिएका उर्लाबारी ६ का ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपलिका ९ का ३१ वर्षीय दीपेश पौडेल, होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, मोरङ रतुवामाई नगरपालिका–१० २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरी पक्राउ परेको प्रहरीले जनाएको हो । 

घटनाको अवस्था र उनीहरूलाई पक्राउ गर्नुपर्ने कारणको बारेमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले घटनासँग सम्बन्धित व्यक्ति पक्राउ परिसकेको जानकारी दिनुभयाे । एसपी खड्काले घटनाबारे अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक उद्धव पोखरेल र प्रहरी जवान योगिन सार्कीलाई विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको छ।  उनीहरूसँग बयान लिने काम भइरहेको उहाँले बताउनुभयाे । 

यस्तो छ घटना विवरण

गएकाे पुस ५ गते उर्लाबारी नगरपालिका ६ मा रहेकाे रमेश गिरीको घरकाे कोठामा उर्लाबारी ५ का प्रवीण बास्तोलाको मृत्यु भएको थियो । यही घटनाको विषयलाई लिएर मृतकका आफन्तले प्रहरीले निष्पक्ष छानबिन नगरेको भन्दै आन्दोलन गरेका थिए । दोषीलाई उन्मुक्ति दिएको आरोप लगाएका उनीहरूले मिसिलमा अन्यको फोटो हालेर नक्कली मिसिल तयार पारेको आरोप लगाउँदै आएका थिए । मृतकका आफन्त र गाउँलेले आन्दोलनलाई उग्र बनाएपछि गएकाे फागुन ९ गते जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायब उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएकाे थियो ।

दुई जना धरौटीमा छुटे, अरू हिरासतमा

घटनामा संलग्नमध्ये केहीलाई पक्राउ गरेर कारागार चलान गरिसकिएको छ भने केही अझै प्रहरी हिरासतमा रहेका छन् । पक्राउ परेका मेहरमान दर्जी उर्लाबारीबाट पक्राउ परि पुर्पक्षका लागि कारागार चलान भएका छन । त्यस्तै कुमार राई र रमेश गिरी पनि उर्लाबारीबाट पक्राउ परेका थिए । राई तीन लाख र गिरी एक लाख रुपैयाँ धरौटीमा छुटेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न रहेको भनिएका सुदीप परियारलाई धरानबाट पक्राउ गरी कारागार चलान भएका छन् । अर्का राजेश रणपहेलीलाई बुटवलबाट पक्राउ गरी अदालतमा पेस गरिएको एसपी खड्काले जानकारी दिनुभयाे । झापाका दिपेश पौडेल इलाका प्रहरी कार्यालय दमकबाट मोटरसाइकल चोरी मुद्दामा पक्राउ परि अनुसन्धानका लागि हिरासतमा रहेको मोरङ प्रहरीले जनाएको छ ।

छानबिन समितिको प्रतिवेदन यस्तो–

अनुसन्धान टोलीले घटनाको विस्तृत अध्ययन गरेको थियो । अनुसन्धान टोलीले दिएको प्रतिवेदनकाे बारेमा जानकारी दिँदै एसपी खड्काले प्रहरीले गरेको अनुसन्धानमा कुनै कैफियत नगरेको बताउनुभयाे । 
छानबिन समितिले दिएको प्रतिवेदनअनुसार– प्रेमप्रसाद बाँस्तोलाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेश रणपहेलीसमेत भएको कर्तव्य ज्यान कसुरमा अनुसन्धानका क्रममा जाहेरवाला पक्षबाट अनुसन्धान मिसिलमा अर्कै फोटो बनावटी गरी राखी बदनियतपूर्वक अनुसन्धान गरेको तथा मृतकले लगाएको कपडासमेत च्यातिएको कुरा मुचुल्कामा उल्लेख नगरेको सम्बन्धी गुनासो रहेको सम्बन्धमा स्थलगत रूपमा सम्बन्धित मानिस तथा अनुसन्धान मिसिल समेतको अध्ययन गर्दा नक्कली भनिएको फोटो मिति २०७७ भदौ ३ गते करेन्ट लागि घाइते भएको भनिएको छ । त्यस फोटो लेटाङ नगरपालिका ८ घर भइ उर्लाबारी नगरपालिका ७ का २६ वर्षीय नवीनराज घिमिरे गहतराजको भएको प्रहरीले जनाएको छ । गोदावरी अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको फोटो इलाका प्रहरी कार्यालय उर्लाबारीमा अनुसन्धानका लागि राखिएको र प्रहरी जवान योगिन सार्कीले कार्यालयको कम्प्युटरबाट मृतकको फोटो प्रिन्ट गरी राखिएको देखिन्छ तथा त्यस फोटो मिति २०७७ फागुन ९ गतेको अनुसन्धान प्रतिवेदन साथ मिसिलमा संलग्न नभएको तथा त्याे फोटो किर्ते गरी बदनियतपूर्वक नभएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूले अनुसन्धान मिसिलमा संलग्न कागजातहरू प्रमाणीकरण, अनसुन्धान, भौतिक सबुतको परीक्षण गर्ने कार्यमा कमी कमजोरी भएको प्रतिवेदनमा औँल्याइएको छ। ‘जाहेरवाला पक्षहरूसँग प्रभावकारी एवम् नियमित समन्वय र सम्पर्क गर्ने कार्यमा कमी कमजोरी गरेको देखिएको छ, प्रतिवेदनमा भनिएको छ, विभागीय कारबाहीअनुसार सचेत गराइ जवाफदेही बनाउनुपर्ने देखिन्छ। 

छानबिन समितिको पाँच सुझाव

छानबिन समितिले प्रतिवेदन दिँदै केही पीडितमैत्री सुझाव पनि दिएको छ ।
१. घटनाबाट पीडित अथवा प्रभावित परिवारजनहरूसँग अनुसन्धान अधिकृतलगायत अनुसन्धानमा खटिएका अन्य प्रहरी कर्मचारीहरूले पारदर्शी रूपमा र पीडित मैत्रीपूर्ण व्यवहार नियमित रूपमा गरी आवश्यक समन्वय, सम्पर्क, सहकार्य तथा परामर्श गर्नुपर्ने सुझाव छानबिन समितिको छ ।

२. शव जाँच मुचुल्का तथा पाेस्टमार्टम प्रतिवेदनमा मृतकको बाहिरी शारीरिक अवस्था र चोटपटक–घाउँखत, शरीरमा लगाएको कपडाको अवस्था सम्बन्धमा सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी विवरण समान अवस्थाको बनाउनुपर्ने साथै अविलम्ब पोस्टमार्टम गरी भिसेरा परीक्षणका लागि तुरुन्त पठाइ प्रतिवेदन यथाशीघ्र प्राप्त गर्न सम्बन्धित निकाय एवम् पक्षसँग नियमित सम्पर्क र समन्वय गर्नुपर्ने ।

३. अभद्र व्यवहार कसुरमा अनुसन्धानमा रहेका प्रतिवादीहरूको कर्तव्य ज्यान कसूरमा समेत प्रतिवादी कायम भएको अवस्थामा अभद्र व्यवहार कसुरको अनुसन्धान प्रतिवेदनसमेतको कार्य सम्पन्न गरेर मात्र कर्तव्य ज्यान कसूरमा पक्राउ अनुमति लिई कर्तव्य ज्यान कसुरमा अनुसन्धान अवधि पर्याप्त लिने रणनीति लिनुपर्ने, त्यसका लागि अनुसन्धान अधिकृतले सम्बन्धित जिल्ला न्यायाधिवक्तासँग राम्रो समन्वय गर्नुपर्ने । 

४. अनुसन्धान मिसिल तयार पार्दा लेखन कार्य तथा अनुसन्धानमा खटिएका अनुसन्धानका सहयोगी प्रहरी कर्मचारीसमेतले पञ्जिका बनाउँदालगायत अन्य कागजात गर्दासमेत गम्भीरताका साथ हेरी अनुसन्धान अधिकृतबाट नियमित रुजु तथा प्रमाणित गराउनुपर्ने ।  

५. शव जाँच प्रकृति मुचुल्काको कार्य गर्दा सबै प्रकृतिका घटनास्थल तथा शवकाे पर्याप्त फोटो अनिवार्य लिनुपर्ने ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया