भारतमा काेराेना सङ्क्रमण बढेसँगै नेपाल भित्रिने नाकामा सजगता अपनाइँदै

 चैत १०, २०७७ मंगलबार १९:२०:३५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – मङ्गलवार बिहान गड्डाचौकी नाकामा गरिएको स्वास्थ्य परीक्षणमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका १९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण (एन्टिजेन पोजेटिभ) देखिएको छ । भारतको महाराष्ट्रबाट घर फर्किँदै गरेका ती पुरुषको एन्टिजेन परीक्षण पोजेटिभ देखिएको हो । उनलाई अहिले महाकाली अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको छ । 

नाकामा चहलपहल

भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अहिले केही राज्यमा फेरि लकडाउन गरिएको छ । तर नेपालको पश्चिमी सीमा नाकाहरूमा भने यतिबेला भारतबाट नेपाल भित्रिनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । कोरोना कहरकै बीच रोजगारीका लागि भारत गएकाहरू पनि यतिबेला नयाँ वर्ष मनाउन घर फर्किन थालेका छन् । यो क्रमसँगै एकातिर नाकामा आवतजावत गर्नेको सङ्ख्या बढ्दै छ भने अर्कातिर सङ्क्रमणको जोखिम पनि थपिँदै गएको छ । 

सीमामा सजगता

भारतमा कोरोना सङ्क्रमणका कारण विभिन्न राज्यमा लकडाउन भएसँगै नेपाल सरकारले नाकाहरूमा सजगता अपनाउन स्वास्थ्य कार्यालयहरूलाई परिपत्र गरिसकेको छ । अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा नाका भएर भारतबाट भित्रिनेहरूको एन्टिजेन परीक्षण सुरु गरिएको छ । स्वास्थ्यकर्मीको टोलीले नाकामा हेल्थ डेस्क स्थापना गरी भारतको पञ्जाब, महाराष्ट्रलगायतका जोखिमयुक्त (सम्भावित) ठाँउबाट भित्रिने र कोरोनाको लक्षण देखिएकाहरूको स्वास्थ्य परीक्षण गरिरहेका छन् । 

भारतमा सङ्क्रमण बढेकाले नेपाल भित्रिनेहरूमा सङ्क्रमणको अवस्था जाँच गर्न नाकाहरूमा एन्टिजेन परीक्षण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्ट बताउनुहुन्छ । उहाँका अनुसार सङ्घ तथा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको पत्राचारअनुसार भारतबाट भित्रिने शङ्कास्पद व्यक्तिहरूको मात्रै एन्टिजेन तथा मलेरियाको परीक्षण गर्ने गरिएको छ । 

‘अहिले दैनिक पाँच सयको हाराहारीमा नेपाली स्वदेश भित्रिरहेका छन् तर तीमध्ये हामीले झण्डै एक सय जनाको मात्रै एन्टिजेन परीक्षण गरिरहेका छौँ’, भट्टले भन्नुभयो, ‘सबैको जाँच गर्न हामीसँग प्रयाप्त किट पनि छैन । त्यसैले भारतमा जोखिममा रहेका राज्यबाट आएका व्यक्तिहरूको मात्रै एन्टिजेन परीक्षण गरेका हौँ ।’

कमजोर व्यवस्थापन

स्वास्थ्य कार्यालयले नाकामा सजगता अपनाए पनि अन्य व्यवस्थापन भने फितलो देखिँदा नेपालमा सङ्क्रमण भित्रिन सक्ने जोखिम बढेको छ । 

दुई दिनअघि मात्रै गड्डाचौकी नाकाबाट भित्रिएका प्युठान, बझाङ र बैतडीका गरी तीन जनाको पनि एन्टिजेन रिपोर्ट पोजेटिभ देखियो । उनीहरुमध्ये बैतडीका एक जना महेन्द्रनगरमा मामाको घरमा आइसोलेशनमा बसे । अन्य दुई जना भने क्वरेण्टीन र आइसोलेशनको अभावमा सार्वजनिक गाडी चढेर घर (प्युठान र बझाङ) गए । 

सङ्क्रमित व्यक्तिहरुलाई राख्न क्वरेण्टीन तथा आइसोलेशन र त्यहाँसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्थापन नहुँदा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् । 

कोरोना सङ्क्रमणको दर बढेका बेला व्यवस्थापनको सबै काम राम्रो भए पनि अहिले सङ्क्रमण दर घटेसँगै त्यसमा ध्यान नदिएकाले फेरि कोराना परीक्षण तथा आइसोलेशनको व्यवस्थापन गर्न समस्या देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कोरोना फोकल पर्सन हेमराज भट्टको भनाइ छ । 

बन्द छन् क्वरेण्टीन र आइसोलेशन

गएको वर्ष कोरोना कहरका बीच खोलिएका क्वरेण्टीन र आइसोलेशन अहिले बन्द अवस्थामा छन् । गएको कात्तिक २० गते सरकारले क्वरेण्टीन बनाइएका विद्यालयहरु खाली गरी पठनपाठन सुरु गर्न निर्देशन दिएसँगै पालिकाहरुले सञ्चालन गरेका विद्यालयबाहेक सबै क्वरेण्टीन बन्द भएका थिए । जसले गर्दा सङ्क्रमितहरु होम आइसोलेशन र महाकाली प्रादेशिक अस्पतालको आइसोलेशनमा बस्ने व्यवस्था मिलाइएको थियो । तर केही महिनायता कञ्चनपुरमा कोरोना सङ्क्रमणको दर शून्य छ, यही कारण महाकाली अस्पतालको आइसोलेशनसमेत बन्द अवस्थामा थियो । 

केही समय सङ्क्रमित नरहेकाले आफूहरुले आइसोलशनलाई अर्को परियोजनका लागि प्रयोग गरे पनि अहिले तयारी अवस्थामा ल्याएको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

‘बीचमा हामी कहाँ कोरोनाको बिरामी नभएकाले आइसोलेशनलाई बन्द गरेका थियौँ’, मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रेष्ठले भन्नुभयो ‘अहिले २५ वेड तयार भइसकेको छ । अब त्यस्तो केस आए समस्या हुदैन ।’

तयारी अवस्थामा छौँ : प्रजिअ

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो भने एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएकाहरूलाई राख्नका लागि आवश्यक तयारी भइसकेको बताउनुहुन्छ । उहाँका अनुसार सङ्क्रमण नियन्त्रणका लागि सरोकारवाला पक्षसँग समन्वय तथा आवश्यक व्यवस्थापनको काम भइरहेको छ । 

उहाँले भारतमा सङ्क्रमणको दर बढ्दै गए पनि तत्काल डराउनुपर्ने अवस्था नरहेको बताउँदै आफूहरूले स्वास्थ्य जाँचलाई प्रभावकारी बनाएकाे बताउनुभयो । ‘अहिले नाका अरू बेला जस्तो सामान्य नै छ । त्यसैले अहिले नै डराइहाल्नुपर्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘हामीले एन्टिजेन परीक्षण पनि गरिरहेका छौँ । फेरि हामीसँग पुरानो अनुभव पनि भएकाले त्यस्तो जोखिमयुक्त अवस्था आए आवश्यक निर्णय हुन्छ ।’  

अन्तिम अपडेट: बैशाख २, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया