बालविवाह रोक्ने अभियानमा कति धेरै चुनौती

 चैत २३, २०७७ सोमबार १२:३८:५ | इन्द्रसरा खड्का
unn.prixa.net

बाँके - बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौनाकी कमला विश्वकर्मामाथि हातपात भयो । घरको आँगनमै बसिरहेको बेला रक्सी खाएर खाएर पुगेका एक व्यक्तिले एक्कासी आक्रमण गर्यो । कमलाको कानमा चोट लाग्यो, कानमा लगाएको गहना भाँचियो । कमलामाथि हातपात गर्नुको कारण थियो, बालविवाह रोक्नु । कुरो २०७६ साल असोज २० गतेको हो । ​

असोज पहिलो हप्ता कमलाको छिमेकमा १२ वर्षीया खड्का थरकी केटी र  १४ वर्षीय चौधरी थरका केटाको बिहेको कुरा चलेको थियो । यो कुरा कमलालाई थाहा भयो । बालविवाहबारे जनचेतना जगाउने कमलाले उमेर नपुगी बिहे नगराउन सल्लाह दिनुभयो । केटाकेटीसहित अभिभावकलाई पनि सम्झाउनुभयो । तर, कसैले कुरा सुनेनन् । 

बिहेको मिति तोकियो । पटक पटक सम्झाउँदा नसुनेपछि कमलाले आफ्नै आँखा अघिल्तिर बालविवाह हुन नदिने भन्दै प्रहरीलाई खबर गर्नुभयो । इलाका प्रहरी कार्यालय धामपुरबाट प्रहरीको टोली पुग्यो । प्रहरीले केटाकेटी र उनीहरुका परिवारलाई पनि सम्झाइ बुझाइ गर्यो । 

उमेर नपुगी विवाह गरेमा पक्राउ गर्ने भन्दै प्रहरीको टोली फर्कियो । कमलाको कारण भतिजाको बिहे रोकिएको भन्दै केटाको काका नाता पर्नेले असोज २० गते कमलालाई रक्सी खाएर कुटपिट गरे । 

आफूमाथि कुटपिट भएपछि कमलाले प्रहरीलाई फोन गर्नुभयो । प्रहरीले कुटपिट गर्नेलाई पक्राउ गर्यो । कमलाले आफ्नै टोलको चिनेको मान्छे भएकाले भाँचिएको गहना बनाइदिने र कानको उपचार गरिदिने सर्तमा चार हजार जरिवाना तिराएर मिलापत्र गर्नुभयो ।  ‘यो त हातपात भएको घटना मात्र हो । बालविवाह गर्नु हुन्न भनेकै आधारमा गाली गलौज त कति सहनु पर्यो कति,’ कमलाले काम गर्दा भोग्नु परेको समस्या सुनाउनुभयो । 

कमला भन्नुहुन्छ, ‘महिलामाथि हिंसा, हुन्छ, उमेर नपुग्दै बिहे हुन्छ । हामीले जनप्रतिनिधिसँग समन्वय गर्न खोज्दा उहाँहरु आफ्नो पार्टीको भन्दै संरक्षण गर्नुहुन्छ अनि कसरी यस्ता अपराध रोकिन्छन् ?’ 

जनप्रतिनिधि मात्र हैन, यस्तो अभियानमा काम गर्दा प्रहरीले नै सहयोग नगरेको कमलाको गुनासो छ । ‘हामीलाई प्रहरीले पनि साथ दिँदैन । गोप्य रुपमा सूचना दिँदा पनि प्रहरीले नाम खुलाइदिन्छ । यसो गर्दा त हामीलाई समाजमा काम गर्न गाह्रो हुन्छ नि’ कमलाले भन्नुभयो ।

यस्ता चुनौतीको सामना गर्दै काम गर्दा अहिले महिला हिंसाका घटनामा कमी आएको उहाँ बताउनुहुन्छ ।  ‘हाम्रो अभियानले महिलाहरुमा सबैभन्दा ठूलो परिवर्तन आएको छ । घरको कुरा बाहिर लैजानु हुँदैन भनेर हिंसा सहेर बस्थे । तर अहिले आफूमाथि भएको हिंसाबारे आफैँ आवाज उठाउन थालेका छन् । सोचमा परिवर्तन आएको छ’ कमलाले भन्नुभयो ।

बालविवाह रोक्दा मानसिक तनाव 

बाँकेको राप्ती सोनारी गाउँपालिका-५ सन्तपुरकी सपना विक खड्कालाई बालविवाह रोकेकै कारण मानसिक समस्या भयो । स्थानीयले दिएको धम्कीले सपना तीन महिनासम्म तनावमा पर्नुभयो । मानसिक तनाव उत्पन्न हुनुको एउटा घटना उहाँलाई सधैं याद आइरहन्छ । गएको भदौ पहिलो हप्ता सपना बिहानै उठ्नुभयो । आँगनमा वल्लोपल्लो घरका मान्छेले ‘फलानोले हिजो केटी भगाएर ल्यायो नि’ भनेर कुरा गरिरहेको सुन्नुभयो ।

केटी भगाएर ल्याउने घर नजिकैकौ १७ वर्षीय केटा भएको सपनालाई थाहा भयो । सपना केटाको घरमा जानुभयो । घरमा केटाको दिदी मात्र हुनुहुन्थ्यो । केटा र केटाकी आमा भगाएर ल्याएकी केटीको लागि लुगा किन्न गएका रहेछन् । सपनाले केटाको दिदीसँग केटीको उमेर सोध्नुभयो । केटीको उमेर १६ वर्षको मात्रै भएको थाहा भयो । सपनाले केटाको दिदीसँग भाइको उमेर सानै भएकाले बिहे गर्न सल्लाह दिएर घर फर्किनुभयो । 

त्यही दिन साँझ केटाकी आमा र भागेर आएकी केटी लुगा सिलाउन सपनाको देवरानीको घरमा आए । सपनाले २० वर्ष नपुगी बिहे गर्न पाइँदैन, बालविवाह गरेमा कारबाही हुन्छ भन्नुभयो ।

तर उहाँले पटक पटक सम्झाउँदा पनि उनीहरुले मानेनन् । पछिल्लो दिनमै बिहे गर्ने तयारी चल्यो ।

‘लकडाउन थियो । गाउँमा धुमधाम बिहे हुन लाग्यो । विवाह नगर्नुस् भन्दा सुनेनन् । आँखै अगाडि उमेर नपुगेका केटाकेटीले बिहे गर्न लागेको कसरी हेर्न सक्थेँ र ?’ सपनाले बिहे रोकेको घटना सम्झनुभयो ।

दिउँसो १२ बजेको थियो । गाउँभरका मान्छे जम्मा भएर बिहे भइरहेको थियो । इलाका प्रहरी कार्यालय धामपुरबाट प्रहरीको टोली पुग्यो । प्रहरीले मण्डपबाटै बेहुला बेहुली र पण्डित सहितलाई पक्राउ गर्यो । 
प्रहरीले बेहुला बेहुली पक्राउ गरेपछि बिहे नै रोकियो । बिहे रोकिँदा केटाको परिवार नै सपनामाथि खनियो । गाउँलेहरुले पनि सपनालाई गाली गरे ।

‘बिहेका लागि एक लाखभन्दा बढी खर्च भयो । तेरै कारणले बिहे रोकिएकाले २ लाख पैसा दिनुपर्छ भन्दै गाउँले र केटाको परिवारले धम्की दिँदा मलाई केही महिना मानसिक तनाव नै भयो’ सपनाले बालविवाह रोक्दा खेप्नुपरेको चुनौती सुनाउनुभयो ।  ‘बिहे रोकिएपछि कहिले घरमै आएर त कहिले फोनमा गाली गरे । म मात्र हैन मेरो कारण घरपविारमाथि पनि गालीगलौज भयो । यो घटनापछि त मलाई मानसिक समस्या भयो’ सपनाले भन्नुभयो । 

गाउँ भाँड्ने केटी भन्दै गालीगलौज

रौतहटको रामपुर खापकी सञ्जिदा प्रविणले पनि बालविवाहको विरुद्धमा काम गर्दै आउनुभएको छ । गाउँ गाउँमा गएर बालविवाह गर्न हुँदैन भन्दै सम्झाउँदा उहाँले पनि गाली गलौज सहनु पर्यो । 


रौतहटको परोहा नगरपालिका ७ नरकटीयामा १६ वर्षीया किशोरीको २५ वर्षका केटासँग बिहेको कुरा चल्दै थियो । केटा बिहेको लागि विदेशबाट आएका थिए । बिहेको लागि केटा र केटी पक्ष तयार भइसकेका थिए । 

किशोरीले बिहेको लागि आफ्नो इच्छा नभएको र परिवारले जबरजस्ती बिहे गरिदिन लागेको सञ्जिदालाई बताइन् । सञ्जिदाले केटीको घरमा गएर अभिभावकलाई सम्झाउनुभयो । किशोरीका आमाबुवाले कुरा बुझ्नुभयो तर, केटाकी आमाले सञ्जिदालाई गाली गर्नुभयो ।

‘सामान्य गाली मात्र हैन । छोराको बिहे रोकिदिएको भन्दै मलाई गाउँमै आउन नदिने, काममा गइरहेको बेला स्कुटर नै रोकिदिने गर्दा गाउँमै जान समस्या भयो’ सञ्जिदाले भन्नुभयो ।  उहाँ भन्नुहुन्छ, ‘बालविवाह रोक्दा मैले मात्र हैन मेरो परिवारले समेत गाली सुन्न पर्यो । म गएको ठाउँ मात्र हैन घरमै आएर तेरो छोरीलाई सम्झाउ भन्दै आमालाई समेत गाली गरे ।’

बालविवाह र महिला हिंसा रोक्न गाउँमा गएर काम गर्दा मौलानाले समेत सञ्जितालाई गाली गरे । ‘कतिले हाम्रा छोरी चेलीलाई बिगार्ने भन्दै गाली गरे, कतिले धर्म नै परिवर्तन गराउन लागेकी भन्दै धम्की दिए,’ काम गर्दाको चुनौती सुनाउँदै सञ्जिदाले भन्नुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा केटीलाई घरबाहिर गएको राम्रो मान्दैनन् । म स्कुटी चलाएर गाउँ गाउँ घुम्दा कति समस्या भोग्नु पर्यो होला । हिँड्ने बाटोमा पिट्न आए । कोही गाली गर्दै घरमा आए तर, म माथि हातपात भने कसैले गर्न सकेनन् ।’

अन्तिम अपडेट: बैशाख ५, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया