देशका पाँच सय ३० ठाउँको जङ्गलमा डढेलो, काठमाण्डौको वायु प्रदूषण विश्वकै उच्च

 चैत २३, २०७७ सोमबार २०:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै – अहिले देशको पाँच सय ३० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ । वन तथा भू संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार ६० जिल्लाका पाँच सय ३० ठाउँमा डढेलो लागिरहेको हो ।

अनुगमन प्रणालीका अनुसार अहिले सबैभन्दा धेरै सिन्धुलीकाे ३१ ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ । यस्तै बर्दिया र डोटीकाे ३०/३० ठाउँमा, बाँकेकाे २९ ठाउँमा, मकवानपुरको २४ ठाउँमा, सल्यानको २१ ठाउँमा र ओखलढुङ्गाको २० ठाउँमा डढेलो लागिरहेको छ ।

वन क्षेत्रमा लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल डढेर नष्ट भएको छ भने कतिपय वन्यजन्तु तथा पक्षी मारिएका छन् । थुप्रै जङ्गलको डढेलो बस्तीमा पुग्ने खतरा रहेकाले गाउँलेहरू बस्ती जोगाउन खटिरहेका छन् । जङ्गलहरू डढिरहेको भए पनि आगो निभाउन सरकारले प्रभावकारी काम नगरेको स्थानीयबासी बताउँछन् ।

डढेलो बढेसँगै देशभरको वायु प्रदूषण पनि बढेको छ । काठमाण्डौ अहिले संसारकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । अहिले काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सय ४३ रहेको छ । दोस्राे वायु प्रदूषित सहर म्यानमारको योङ्गनको एक्यूआई एक सय ६९ छ ।

एक्यूआई दुई सयभन्दा माथि गएमा स्वास्थ्यका लागि खतरनाक मानिन्छ । अहिले काठमाण्डौ उपत्यकाका सबैजसो हावाको प्रदूषण मापन केन्द्रहरूले हावाको अवस्था खतरनाक भएको सङ्केत दिइरहेका छन् ।

चैत १३ गते एक्कासी सुरु भएको वायु प्रदूषण गएको बुधवार पानी परेपछि केही घटेको थियो तर साेमवार (आज) बिहानैदेखि प्रदूषणको मात्रा बढेको हो । देशका धेरै जङ्गलमा डढेलो लागिरहेकाले प्रदूषणको मात्रा बढेको वातावरण विभागले जनाएको छ ।

यसैबीच काठमाण्डाैसहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न स्वास्थ्य विज्ञले आग्रह गरेका हुन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण बढेकाे हुँदा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परे गुणस्तरीय मास्क प्रयोग गर्नसमेत अनुरोध गर्नुभयो । उहाँले वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकाले बाहिर ननिस्कन अनुरोध गर्नुभयो ।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेकाे छ । विश्वमा यस्तै कारणले बर्सेनि ७० लाख मानिसकाे ज्यान जाने गरेको छ ।   

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया