परम्परागत संस्कारलाई चुनौती दिँदै मधेशका महिला

 चैत २५, २०७७ बुधबार ११:४९:१५ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डाै – एकातिर इँटाको पर्खाल । वरपर बाँसको चोया बेरेर लिपपोत गरी टिनले छाएको चिटिक्कको छाप्रो । छाप्रोभित्र बढीमा दुई जना बस्न मिल्ने ठाउँ । एक कुनामा ग्याँसको सिलिण्डर र बीचमा राखिएको छ चुलो । चुलो वरपर इँटा थुपारिएर अग्लो पारिएको छ । पसलभित्र समोसा, पकौडा लगायतका खानेकुरा छन् । यो हो, रौतहटको ईशनाथ नगरपालिकाकी रुबी गुप्ताको खाजा पसल । 

रुबी गुप्ता

हिजोआज रुबीका दिन खाजा पसलमै बित्छन् । पहिले खेतबारीको काममा व्यस्त हुने रुबी अहिले खेतीसँगै व्यावसाय पनि गर्नुहुन्छ । मधेसी समुदायका कतिपय ठाउँमा अझै पनि महिलालाई व्यापार व्यवसाय गर्न दिईंदैन । महिलालाई घरभित्र र बारीको काममा मात्र सीमित राखिन्छ । महिलाले पसल गर्नु त परैको कुरा, नचिनेको पुरुषसँग बोल्न समेत पाइँदैन । 

आफ्नै श्रीमती, छोरीले व्यावसाय गरेर नचिनेको मान्छेसँग बोलेको त पुरुषलाई अझै पच्दैन । तर रुबीले भने परम्परागत संस्कारलाई चुनौती दिंदै गाउँमै खाजा पसल सञ्चालन गर्नुभएको छ । उहाँ आफै समोसा, पकौडा, आलुचप लगायतका खानेकुराहरु पकाएर बेच्नुहुन्छ । उहाँले यो काम थालेको दुई वर्ष भयो ।

सुरुमा पसल खोल्दा गाउँभरी रुबीको चर्चा भयो । महिला भएर पसल खोलेर बस्ने भन्दै धेरैले कुरा काट्न थाले । रुबीका सासुसुरालाई पनि बुहारीले पसल खोलेर बस्ने कुरा मन परेन । रुबीले सासुससुरा र श्रीमानलाई व्यापार गरे पैसा आउँछ भन्दै सम्झाउनुभयो । 

रुबीलाई गाउँमा व्यापार गर्ने सोच भने सामुदायिक छलफल केन्द्रमा जान थालेपछि आएको हो । उहाँ गाउँमा रहेको ‘खुस्बु सामुदायिक छलफल केन्द्र’मा जान थाल्नुभएको पाँच वर्ष भयो । छलफल केन्द्रमा जाँदा महिलाले पनि गाउँमै काम गरेर पैसा कमाउन सकिने कुरा थाहा पाउनुभयो । त्यसपछि रुबीले व्यापार गर्ने योजना बनाउनुभयो । 

रुबीले व्यापार गर्ने योजना बनाएपछि ग्रामिण विकास केन्द्र (आरडीसी) नेपाल रौतहटले व्यापार सम्बन्धी तालिम दियो । तालिममा व्यापार के हो, कसरी गर्ने, थोरै रकमबाट कसरी व्यवसाय गर्न सकिन्छ भन्नेबारे थाहा भयो । तालिममा रुबीले ५ हजार रुपैयाँ पाउनुभयो ।  तालिमबाट पाएको पाँच हजारमा रुबीले थप पाँच हजार थपेर चिया पसल खोल्नुभयो । चिया पसल खोल्दा राम्रो भएपछि रुबीले चिया पसलमा ससुरालाई राखेर त्यहीँ नजिकै खाजा पसल खोल्नुभयो । 

‘ससुराले चिया पसल चलाउनुहुन्छ । मैले खाजा पसल चलाउँछु । एकदिनमा हजार, दुई हजार जति हुन्छ । सानै भए पनि व्यापार गरेपछि पैसा आउँदो रहेछ’ रुबीले खुसी हुँदै भन्नुभयो । रुबीका ६ छोरी २ छोरा गरी ८ जना छोराछोरी छन् । सबै छोराछोरी विद्यालय जान्छन् । उहाँका श्रीमान भारतको पञ्जाबमा काम गर्नुहुन्छ । 

‘श्रीमान भारतमा काम गर्नुहुन्छ । म घरमै काम गर्छु । दुवैले पैसा कमाउँदा एकजनाको खर्च भए, अर्कोको पैसा बच्छ । मेरो पैसाले छोराछोरीलाई पढाउन र घरखर्च चलेको छ’ रुबीले भन्नुभयो ।

घरकै सटरमा खुद्रा पसल

एक तले पक्की घर । त्यही घरमा छ पसल  । पसलमा पानीको बोतलमा झुण्डाइएको पेट्रोल, बिस्कुट, कुरमुरे, स्याम्पु लगायतका धेरै सामान राखिएका छन् । खुट्टामा पाउजु, नीलो ब्लाउज रातोनीलोे रंगिन सारी, सारीको सप्को  टाउकोमाथि राखेर शैलदेवी पसलमै बसिरहनुभएको छ । 

शैलदेवी

शैलदेवीको घर रौतहटको ईशनाथ नगरपालिकाको औरैया हो ।  उहाँले खुद्रा पसल सुरु गर्नुभएको एक वर्ष भयो । शैलदेवीलाई पनि रुबीले जस्तै घरमै बसेर पैसा कमाउन मन लाग्यो । शैलदेवीले श्रीमानसँग कुरा राख्नुभयो । तर, श्रीमान शैलदेवीको कुरामा सहमत हुनुभएन ।  श्रीमानलाई श्रीमतीले पसल खोलेर बस्दा गाउँको मान्छेले के भन्लान भन्ने डर थियो । 

शैलदेवीले श्रीमानसँग ८ सय रुपैयाँ मागेर भारतको चैनपुरबाट सामान ल्याएर घरकै अगाडि राखेर बेच्नुभयो । श्रीमानको सहमतिबिनै पसल खोल्नुभएकी शैलदेवीले पनि व्यवसाय सम्बन्धी तालिम लिनुभएको थियो । तालिमपछि शैलदेवीले पनि पाँच हजार रुपैयाँ पाउनुभयो । 

पाँच हजार रुपैयाँ पाएपछि शैलदेवीले फेरि सामान थप्नुभयो । उहाँ पसलमा बस्नेमात्र हैन, बेच्न चाहिने सामान पनि आफै ल्याउनुहुन्छ । बिस्तारै सामानको माग बढ्न थाल्यो । श्रीमतीले घरमै राखेको खुद्रा पसलबाट आम्दानी हुन थालेपछि शैलदेवीका श्रीमानले घरकै अगाडि सटर निकाल्नुभयो । श्रीमतीले घरमै सुरु गरेको खुद्रा पसलबाट राम्रो कमाइ हुन थालेपछि अहिले शैलदेवीका श्रीमान पनि सहयोग गर्नहुन्छ ।

‘श्रीमती पसलमा बस्दा धेरैले कुरा सुनाउँथे । महिला भएर पसलमा बस्ने भन्थे, मलाई पनि राम्रो लाग्दैन थियो । तर, केही हँुदैन रहेछ । झन फाइदा हुँदो रहेछ भन्ने थाहा भयो । अहिले म पनि खुसी छु’ शैलदेवीका श्रीमानले भन्नुभयो ।

शैलदेवीका श्रीमान  तरकारी बेच्नुहुन्छ । गाउँमै तरकारी किनेर उहाँ सदरमुकाम गौरमा बेच्नुहुन्छ । श्रीमानले तरकारी बेच्ने, श्रीमतीले पसल गर्ने गर्दा शैलदेवीलाई छोराछोरी पढाउन सहज हुन थाल्यो । शैलदेवीका दुइजना  छोराछोरी छन् । उनीहरु बोर्डिङमा पढ्छन् । 

‘मेरो व्यवसायबाट अहिले श्रीमान पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु । मैले व्यावसाय गर्न थालेपछि पैसा बचता पनि गर्न थालेकी छु’ शैलदेवीले भन्नुभयो । 

शैलदेवीको पसल छेउमै उहाँकी देवरानी पिंकीको पनि किराना पसल छ ।  जेठानी शैलको  व्यापार राम्रो चलेको देख्दा पिंकीलाई पनि व्यावसाय गर्ने रहर लाग्यो । गएको असोज महिनामा पिंकीले आफ्नै घरको अगाडि किराना पसल थाप्नुभयो । 

पिंकी कुमारी

पिंकीकुमारी उहाँका श्रीमान पहिले दिल्लीमा फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो । अर्काको देशमा काम गर्दा खान बस्न ठिक्क हुन्थ्यो । उहाँहरु त्यहाँको काम छोडी घर फर्के । पिंकीलाई आफ्नै गाउँमा केही व्यापार गर्न मन लाग्यो । 

‘सुरुमा त मेरो श्रीमानले म तरकारी बेच्छु, तिमी घरको काम गर भन्नुभयो । तर, मलाई आफैले पनि केही गर्नु थियो । पढेलेखेको पनि छैन आफूले गर्न सक्ने पसल नै ठीक जस्तो लाग्यो । व्यापार सुरु गरेँ’, पिंकी भन्नुहुन्छ, ‘हामी महिलाले परदेशमा काम गर्न हुने, आफ्नै ठाउँमा गर्न किन नहुने ? 

‘दिनभरी अरुको काम गर्नुभन्दा आफ्नो घरमै काम गर्दा समय पनि बच्यो । घरखर्च पनि चल्छ । अरुकोमा किन्न पनि परेन, अरुलाई माग्न पनि परेन । सानै भए पनि आफ्नै व्यवसाय गर्नु फाइदा,’ पिंकीले भन्नुभयो ।

सीप सिकेर ६६ महिला व्यवसायमा

महिला र बालिकामाथि हुने हिंसा अन्त्य गर्ने अभियान अन्तर्गत रौतहटको परोहा नगरपालिका र ईशनाथ नगरपालिकाका ६६ महिलाले व्यवसाय सम्बन्धी सिप सिकेर व्यावसाय सुरु गरेका छन् । तालिम पूरा गरेका हरेक महिलाले पाँच हजार रुपैयाँ आर्थिक सहयोग पाए पछि बाख्रापालन, कुखुरापालन, तरकारी खेती, सिलाइकटाई लगायतका व्यवसाय सुरु गरेका छन् । 

पहिले घर र बारी भन्दा बाहिर नदेखेका महिलाहरु अहिले व्यवसायमा आबद्ध भएपछि समाजका मान्छेसँग बोल्न सक्ने भएका छन् । व्यवसाय सुरु गरेपछि घर खर्च चलाउनदेखि बचतसम्म गर्न पाउँदा महिलाहरु खुसी भएका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया