कृषिमा रमाउँदै, मनग्गे कमाउँदै म्याग्देली

 चैत २५, २०७७ बुधबार २०:११:७ | रासस
unn.prixa.net

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका ६ ठाडाखानीकी हिमाली छन्त्यालले यो वर्ष आलु बिक्री गरेर मात्रै दुई लाख रुपैयाँ कमाउनुभयो । आलुको बिउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोप्नुभएकी छन्त्यालले थोरै रोपे पनि आलुको राम्रो भाउ आएकाले उहाँलाई कुनै दुखेसो छैन । 

सधैँजस्तो आलु बेच्न बजार लान पनि परेन, ग्राहकले घरमै आएर लगे । थोरै आलु रोपेर राम्रो मूल्यमा बेचेकाले छन्त्याल आलु खेतीबाट सन्तुष्ट हुनुहुन्छ । म्याग्दीको उपल्लो भेगमा अहिले धमाधम हिउँदे आलु खनेर बेच्ने समय हो । यो वर्ष आलुको बिउ आकासिएकाले बिउ अभावमा थोरै रोपे पनि हिउँदे आलुको राम्रो भाउ पाएकोमा आलु किसान खुसी छन् ।

राम्चेकी लीलमाया पुनलाई पनि थोरै आलु रोपेकोमा कुनै पछुतो छैन । महँगो बिउ भएकाले थोरै आलु रोपे पनि आम्दानी उठेर पनि आफूलाई पुग्दो भएकाले उहाँ खुसी हुनुहुन्छ । छन्त्याल र पुन जस्तै म्याग्दीका धेरै किसान अहिले कृषि कर्मबाट नै मनग्य आम्दानी हुन थालेपछि खेतीपातीको काममा नै हौसिएका छन् ।

दुई वर्षसम्म आयातित तरकारीको भर पर्नुपर्ने म्याग्दी अहिले तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । विशेषगरी कोरोना भाइरसको कारण भारतीय तरकारी नेपाल छिर्न नपाएपछि गाउँ–गाउँमा तरकारी व्यापारी छिर्न थालेकाले यो वर्ष आलुलगायतका तरकारीको मूल्यले राम्रो भाउ पाएको किसानले बताएका छन् । 

कात्तिक अन्तिममा रोपेको हिउँदे आलु अहिले खन्ने मौसम हो । म्याग्दीमा हिउँदे आलु बिक्री गरेर यो वर्ष पाँच करोड रुपैयाँभन्दा बढी आम्दानी हुने कृषकको भनाइ छ ।

तरकारीपछि म्याग्दीका किसान च्याउ खेती, भैँसी पालन र बाख्रा पालनप्रति आकर्षित भएका छन् ।

दुई दशक पहिले गाउँघरमा दूध बिक्न मुस्किल हुने म्याग्दीमा अहिले भने दूधको खोसाखोस नै हुने गरेको छ । जब सहर बजार जस्तै गाउँमा क्रमिक रूपमा दूध बिक्न थाल्यो, किसानले बिस्तारै दूधबाट आम्दानी लिन थाले ।  

मङ्गला गाउँपालिका २ का धर्मराज पौडेलले दूध बिक्री गरेर मासिक ८५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पौडेलमात्र होइन, बाबियाचौर क्षेत्र वरपरका किसान र बेनी नगरपालिकाका अधिकांश वडाका किसानले दूध बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

त्यसैगरी यहाँका किसानले च्याउ खेतीलाई पनि आम्दानीको गतिलो माध्यम बनाएका छन् । म्याग्दीको बेनी नगरपालिका ४ सिङ्गा राक्से, मालिका गाउँपालिका ७ बिम, बेनी नगरपालिका २ ज्यामरुककोट लगायतका गाउँमा व्यावसायिक रूपमा च्याउ खेती सुरु गरिएको छ ।

बेनी नगरपालिका ४ राक्सेका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत रूपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरूले सुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रूप लिएको छ ।

राक्से सिर्जनशील कृषि फर्म नै दर्ता गरेर गएको तीन वर्षदेखि च्याउ खेती सुरु गरेका मैना खत्री र गीता कार्कीले च्याउ बिक्री गरेर वार्षिक चार लाख रुपैयाँ कमाउन थालेपछि उनीहरूको सिको गरेर गाउँमा च्याउ खेतीको लहर नै चलेको छ । च्याउ बिक्री गरेर गएको वर्ष म्याग्दीमा ६५ लाख रुपैयाँ आम्दानी भएको च्याउ किसानले बताएका छन् ।

वैदेशिक रोजगारबाट फर्केका म्याग्दीका युवा अहिले बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका छन् । जसको उदाहरण हुनुहुन्छ, बेनी नगरपालिका २ खबरका कर्णबहादुर खड्का । नौ वर्ष अरबको खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा ८० लाख गुमाउनुभएका खड्काले गाउँमा नै फर्केर बाख्रा पालन व्यवसाय सुरु गर्नुभएको छ । खड्काले साउदी, कतार र इराकमा नौ वर्ष पसिना बगाएर कमाएको ८० लाख रुपैयाँ अमेरिका जाने प्रयासमा डुबेपछि गाउँमा नै फर्किएर बाख्रा पालन व्यवसाय सुरु गर्नुभएको हो ।

चार वर्ष साउदी, तीन वर्ष इराक र दुई वर्ष कतार गरी नौ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने प्रयासमा सकिएपछि अमेरिकाको सपना बिर्सिएर गाउँकै व्यवसायमा खड्का रमाउनुभएको हो । खड्काले खाडी देशमा कमाएको पैसाले बेनी र पोखरामा गरी तीन वटा घडेरी जोड्नुभएको थियो । 

‘म अमेरिका छिर्न लागेका बेला बोर्डरमा त्यहाँको प्रहरीले पक्राउ गर्‍यो अनि त्यहीँबाट फर्काइदियो’, उहाँले भन्नुभयो, ‘राम्रै भयो अहिले आफ्नै ठाउँमा पौरख गर्न पाएँ ।’ सुरुमा कुखुरा पालनबाट व्यवसाय थाल्नुभयो तर यो व्यवसायबाट सोचेजस्तो भएन । कमाइको साटो उल्टो घाटा भयो, उहाँ हार्नु भएन । पहिलेदेखि नै आफूले गर्दै आएको बाख्रा पालन गर्न थाल्नुभयो । 

खड्काले सात लाख रुपैयाँ बैंकमार्फत ऋण लिनुका साथै अन्य पैसा सरसापट गरी १५ लाख रुपैयाँको लगानीमा बाख्रा पालन व्यवसाय थाल्नुभयो । दिप्सन कृषि तथा पशुपक्षी फर्म दर्ता गरी सुरु गरेको व्यवसायमा अहिले ४० स्थानीय र बोयर क्रस जातका बाख्रा छन् । खड्का जस्तै म्याग्दीका ४० जना युवाले पनि बाख्रा पालन व्यवसाय सुरु गरेका पालिकाका कृषि शाखाले जनाएका छन् । सबैभन्दा बढी मङ्गला गाउँपालिकाका युवा बाख्रा पालनतर्फ लागेको पाइएको छ । 

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया