एपीएफ विराट गोल्डकपकाे फाइनलमा प्रवेश

 बैशाख २, २०७८ बिहिबार ८:१४:५२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा सशस्त्र प्रहरीकाे एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

सहिद मैदानमा बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर-११ लाई  ३-२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नका लागि सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब काठमाण्डौ र भारतको पञ्जाब पुलिस क्लबको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

जितका लागि एपीएफका सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम आक्रामक देखिए पनि पहिलो हाफको २६ औं मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गरेर टिमलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको क्रस पासलाई सनिशले पेलान्टी एरियामा गरेको वान टच गोलमा परिणत भयो ।

पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबरीमा ल्याउन निकै सङ्घर्ष गरे पनि  सफल हुन सकेन ।  

खेलको ५३ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डीबक्स एरिया नजिक बललाई होल्ड गरी गरेको प्रहार गोलमा परिणत भयो ।  विराटनगरले  गोल गरेेर खेल बराबरीमा ल्याएको १४ मिनेट बित्न नपाउँदै एपीएफका रवि थिङले ६७ मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । श्याम नेपालीले निकालिएको क्रस पासलाई रविले जाली चुमाए ।

दोस्रो हाफपछि २-१ गाेलले अग्रता कायम गरेको एपीएफले दोस्रो गोल गरेको दुई मिनेट  बित्न नपाउँदै विराटनगरले ६९ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए । विराटनगरका प्रकाश बुढाथोकीले पेलान्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गराउँदै खेल बराबरीमा ल्याएका हुन् ।

९० औं मिनेटको निर्धारित समयसम्म खेल २/२ गोलमा बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । 

थप गरिएको अतिरिक्त समयको २७ औं मिनेटमा एपीएफका मणि लामाले डीबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमको जितको लागि सुनिश्चित भयो ।

विराटनगर-११ ले पहिलो सेमिफाइनल खेलमा नै हार ब्यहोरेपछि छैठौं संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना पूरा नहुने भएकाे छ । 

खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाएका छन् ।  

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया