ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजारभन्दा धेरै कारबाहीमा

 बैशाख ३, २०७८ शुक्रबार ८:२८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार जनाभन्दा धेरै कारबाहीमा परेका छन् ।

काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा २ हजार १ सय ५० जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबैभन्दा धेरै जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गर्नेहरु कारबाहीमा परेका छन् । २४ घण्टामा जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गर्ने एक सय ९२ जनालाई कारबाही भएको छ ।

यस्तै, ढोका खुला राखेर गाडी चलाउने १२३, जथाभाबी गाडी रोकेर यात्रु चढाउने र ओराल्ने ८८ जना, पाटपूर्जा बिग्रिएका गाडी चलाउने ७२ जना, रातो बत्तीमा नरोकिने ४६, नम्बर प्लेट स्पष्ट नभएको गाडी चलाउने ३४ र जाँडरक्सी खाएर गाडी चलाउने ९ जनालाई कारबाही भएको छ ।

ट्राफिक प्रहरीले सडक लेन अनुशासन पालना नगर्ने तथा सवारी चालक अनुमति (लाइसेन्स)लगायत कागजात नभएकालाई पनि कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया