कैलालीका युवा डल्फिन संरक्षणमा जुटे

 वैशाख १२, २०७८ आइतबार १३:४६:७ | रासस
unn.prixa.net

कैलाली - कैलालीका नदीमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी डल्फिन संरक्षणका लागि स्थानीयस्तरबाट थुप्रै प्रयास भएका छन् । वर्षायाममा कैलालीका मोहना, पथरिया र काढानदीमा देखिने डल्फिन संरक्षणका लागि स्थानीय युवाले विभिन्न प्रयास गरेका छन् । युवाको प्रयासमा स्थानीय र प्रदेश सरकार पनि सहयोगीका रूपमा जोडिएका छन् ।

डल्फिन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कैलालीको भजनी र टीकापुरका युवाले त्रिवेणीधाम धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने अभियानसमेत सुरु गरेका छन् ।

डल्फिन संरक्षणमा लागेका युवाले टीकापुर नगरपालिका-७ ढुङ्गानाटोल, वैदी, कुन्तिपुर र भजनी नगरपालिका-३ दैलेखटोल, नयाँ बस्ती, बर्दवा र वडा नं ८ सोनाफाँटा, खल्लाटोल र काढाढिकको मोहना, पथरिया र काढानदीका डल्फिन क्षेत्रको त्रिवेणीधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन अभियान सुरु गरेको संरक्षणकर्मी बताउँछन् ।

यहाँ डल्फिन पाइने मात्र नभएर टीकापुर-७ सत्तीमा रहेका पदमप्रकाशेश्वर महादेव मन्दिर, सत्ती कर्णाली सामुदायिक वन, ओजुवाताल, टीकापुर उद्यान, वीपी निकुञ्जलगायतका ठाउँ पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेका छन् ।

'भजनी नगरपालिकामा रहेका छोड्नैया ताल, लौकाभौका ताल, वसन्ता जैविकमार्ग, माशक्ति स्वरुपा मन्दिर, राजी, थारू, कठरिया समुदायका विभिन्न संस्कृति यहाँका पहिचानका चिनारी हुन्', स्थानीय संरक्षणकर्मी तथा डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गाना भन्नुहुन्छ, 'डल्फिन क्षेत्र तथा त्रिवेणीधामले कैलालीको चिसापानी क्षेत्र, मूलपानी क्षेत्र, बर्दगोरिया मन्दिर, घोडाघोडी तालजस्ता पर्यटकीय क्षेत्रको अवलोकन गर्नका लागि मध्यक्षेत्रको रूप लिनसक्छ । त्यसैले यहाँको विकासमा तीनवटै सरकारको ध्यान जानुपर्ने आवश्यकता छ ।'

पर्यटक आर्कषणका लागि यहाँ डल्फिन अवलोकन गर्न दृश्यावलोकन स्तम्भ (भ्यूटावर) र त्रिवेणीधाम क्षेत्र विकासका लागि राधाकृष्ण मन्दिर निर्माण, दुर्गा मन्दिर, रामजानकी मन्दिर, कालीका माता थान र महुन्याल थान निर्माण भएका छन् ।

हनुमान मन्दिर, जलेश्वर शिवालय, जलेश्वर गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, सूर्यनारायण, कालभैरव, सरस्वती मन्दिर शिलान्यास भएर निर्माणाधीन अवस्थामा छन् । यहाँ पर्यटकीय धार्मिक विकासको राम्रो सम्भावना रहेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका महासचिव जयप्रसाद ढुङ्गानाले बताउनुभयो ।

'यहाँ नेपाल सरकारको लगानीमा हुलाकी सडक निर्माण भइरहेको छ । हुलाकी-बैदी ढुङ्गानाटोलसम्म सडक कालोपत्र योजनाअन्तर्गत २५० मिटर सडक कालोपत्र, रानीजमरा कुलरिया सिँचाइ आयोजनाले डल्फिनमैत्री तटबन्ध निर्माण, भजनी नगरपालिकाले डीपीआर तयार गरी काम गरिरहेको छ', महासचिव ढुङ्गाना भन्नुहुन्छ ।

टीकापुर-७, रानीजमरा कुलरिया सिँचाइ आयोजना, सेक्टर वन कार्यालय भजनी टीकापुरको सहयोग र डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीको पहलमा कालाकुण्डा सामुदायिक वनमा वृक्षरोपण गरी नदी तटीय क्षेत्र हराभरा बनाउने कार्यसमेत भएको उहाँको भनाइ छ । डल्फिन संरक्षण र प्रचारका लागि थुप्रै प्रयास भएका छन् ।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले टीकापुर-७ ढुङ्गानाटोल बैदीमा डल्फिन सूचना केन्द्र स्थापना, डल्फिन संरक्षण अक्षयकोष स्थापना, पूर्वपर्यटनमन्त्री स्व रवीन्द्र अधिकारी स्मृति बाटिका निर्माण प्रक्रिया, भजनी-८ मा डल्फिन सङ्ग्रहालय, डल्फिन पुस्तकालय स्थापना र वडा नं ३ मा दैलेखीटोल डल्फिन स्तम्भ निर्माण गर्ने निर्णय गरिएको छ ।

युवाहरुको सक्रियतामा डल्फिन संरक्षण क्षेत्रमा पटकपटक बृहत् नदी सरसफाइ अभियान सुरु, पर्यटन प्रवर्द्धन, प्रचारप्रसार अभियान, संरक्षण क्षेत्र घोषणाजस्ता कार्य सञ्चालन भइरहेका छन् । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल र त्रिवेणीधाम धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समिति कैलालीको संयुक्त प्रयासमा पथरिया, काढानदीमा त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणका लागि पहल सुरु भएको स्थानीयवासी छविराम चौधरीले बताउनुभयो ।

'भजनी-८ खल्लाटोल र टीकापुर-७ ढुङ्गानाटोलको पथरिया नदीमा झुलुङ्गे पुल निर्माण, डल्फिन पथमार्ग निर्माण, त्रिवेणी डल्फिन वाटरपार्क निर्माण, जलयात्राका लागि र्याफ्टिङ सेवा सुरु गर्न पहल गरिरहेका छौँ', चौधरीले भन्नुभयो, 'ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माणका लागि पहल गर्ने निर्णय गरी अभियान सुरु गरेका छौँ । यसमा स्थानीय सरकारलाई साथमा लिएर अघि बढ्नेछौँ ।'

टीकापुर-७ का वडाध्यक्ष रामलाल डगौरा थारूले डल्फिन संरक्षण मात्र होइन, यहाँको पर्यटकीय विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । 'हामीले बजेटअनुसार सक्दो प्रयास गरेका छौँ । वर्षातमा देखिने डल्फिन हेर्न विदेशी नागरिकसमेत आउने गरेका छन् । उनीहरुले डल्फिन क्षेत्रमा अन्य सुविधा पाउने वातावरण बनाउन प्रयासरत छौँ', वडाध्यक्ष चौधरीले भन्नुभयो, 'विश्वमै दुर्लभ मानिएको जलचर प्राणी यहाँ पाइने भएकाले डल्फिन संरक्षणका लागि सरकारले योजना बनाएर काम गर्न आवश्यक छ ।' 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया