बझाङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा, लगाउन छुटेका बालबालिका फेला पार्नेलाई दुई हजार पुरस्कार

 बैशाख १३, २०७८ सोमबार २०:११:३२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । सोमवार एक कार्यक्रमका बीच बझाङलाई नेपालकै सातौँ जिल्लाका रुपमा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो । 

‘स्थानीय स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता’ भन्ने नाराका साथ बझाङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । केही वर्ष अघिसम्म खोप नपाउँदा दादुरा, रुबेला, पोलियो जस्ता रोगले बालबालिकाको ज्यान जाने गरेकोमा अहिले भने बाल मृत्युदर घटेको पाइन्छ ।  

बझाङमा जन्मेदेखि २३ महिना उमेरभित्रका ९० प्रतिशत बालबालिकाले खोप पाएका छन् । खोप लगाउन छुटेका बालबालिकालाई पनि खोपको दायरामा ल्याइ घरघरमा पुगेर उनीहरुको तथ्याङ्क लिने गरेको खप्तड छान्ना गाउँपालिकाका स्वास्थ्य संयोजक ईश्वर भट्टराईले बताउनुभयो । यसलाई निरन्तरता दिन लागिपर्ने बताउँदै उहाँले गाउँभन्दा बाहिर गएका तथा अभिभावक रोजगारीका सिलसिलामा विदेश जाँदा बालबालिका पनि सँगै जाने हुँदा केही खोप लगाउन छुट्ने र  निगरानीमा राख्न समस्या हुने गरेको भट्टराईको भनाइ छ । 

खोप लगाउन कोही पनि बालबालिका नछुटून् भन्ने उद्देश्यले स्वास्थ्य कार्यालय बझाङले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र पालिकामार्फत विभिन्न सचेतनामूलक कार्यक्रम तथा घरदैलो अभियान सञ्चालनमा ल्याएको छ । 

कसैले खोप नलगाएका बालबालिका फेला पारेर जानकारी दिए ती व्यक्तिलाई दुई हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताउनुभयो । सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन जिल्लामा  खोप क्लिनिक थप गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र खोपसम्बन्धी तालिमको व्यवस्था मिलाउने उहाँले जानकारी दिनुभयो । 

अहिले ९० प्रतिशतले मात्रै खोप पाएका भए पनि असार महिनाभित्र सय प्रतिशत पुर्याउने लक्ष्य स्वास्थ्य कार्यालयले  राखेको उहाँको भनाइ छ । 

बझाङ सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता जिल्ला हो । सुदूरपश्चिमका कैलाली र बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुन बाँकी छन् ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया