कोरोना जाँच गर्नुपर्ने पीरले आउन मान्दैनन् बिरामी, जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

 बैशाख १५, २०७८ बुधबार १३:३२:४९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – जिल्ला अस्पताल बझाङमा दैनिक सेवा लिन आउने बिरामीहरुको सङ्ख्या पछिल्लो समय निकै घटेको छ । बैशाखको पहिलो हप्तादेखि जिल्ला अस्पतालमा अन्य सेवा दिनु पूर्व कोरोना जाँच गर्न थालिएपछि यहाँ उपचार लिन आउनेको संख्यामा निकै कमी आएको हो । 

चैत महिनासम्म दैनिक रुपमा २/३ सय बिरामी उपचारको लागि आउने गरेकोमा कोरोना परीक्षण गरेर मात्र जाँच गर्न थालेपछि अहिले दैनिक ४०/४५ जना सेवाग्राही मात्रै स्वास्थ्य संस्थामा पुग्ने गरेका जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर मिलन खड्काले बताउनुभयो ।

‘अस्पतालमा सेवा लिन आउँदा सबै भन्दा पहिला लक्षण देखिएका र शंङ्का लागेका सेवाग्राहीको एन्टिजेन मार्फत कोरोना परीक्षण गर्ने गरेका छौँ’, उहाँले भन्नुभयो, ‘त्यसपछि मात्रै अन्य सेवा दिने गरेका कारण यहाँ सेवा लिन आउने सेवाग्राहीहरु एकाएक कम भएका हुन् ।’

अस्पतालमा भएको  भेन्टिलेटर प्रयोगविहीन 

बझाङ जिल्ला अस्पतालमा दुई वटा भेन्टिलेटर छन् । तर जनशक्तिको अभावका कारण भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेका छन्  । पर्याप्त तालिमको अभावका कारण भेन्टिलेटर सञ्चालनमा ल्याउन समस्या भएको त्यहाँ कार्यरत डाक्टर योगेन्द्र खातीले बताउनुभयो ।

खातीले वि.सं. २०७७ साल  कात्तिक महिनामा ४ दिने भेन्टिलेटर सम्बन्धी तालिम प्राप्त गर्नुभएकाे थियाे । तालिम लिएको झण्डै एक महिनापछि मंसिर महिनामा जिल्लामा भेन्टिलेटर जडान गरियो । अहिले त्यो भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छ ।

‘भेन्टिलेटर सञ्चालन गर्दा कम्तीमा पनि दुई महिनाको तालिम वा त्यो सम्बन्धी दक्ष जनशक्तिको आवश्यकता पर्छ’, डाक्टर खातीले भन्नुभयो, ‘चार दिन पनि राम्रोसँग तालिम प्राप्त भएन, त्यसैमाथि तालिम सिकेको महिनौंपछि भेन्टिलेटर आइपुग्यो । जटिल प्राविधिक कुरा चार दिनको तालिमले सम्भव हुँदैन ।’

अहिले जनशक्ति अभावका कारण सिकिस्त बिरामीलाई जिल्ला बाहिर रेफर गर्नु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

हेल्प डेस्कमा खटिन मानेनन् स्वास्थ्यकर्मी 

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्लाका विभिन्न ठाउँमा हेल्प डेस्क राख्न खोज्दा स्वास्थ्यकर्मीहरु बस्न मानेका छैनन् । स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको सुनिश्चितता नगरेको भन्दै आफूहरुले हेल्प डेस्कमा खटिन नमानेको एकजना स्वास्थ्यकर्मीले बताउनुभयो ।

‘कोरोना महामारीमा प्रत्यक्ष खटिएका स्वास्थ्यकर्मीको नाममा आएको भत्ता पालिकाका जनप्रतिनिधि र पालिकाकै कार्यालयमा काम गर्नेहरुले बाँडीचुडी खाए, हामीलाई भत्ता मिलेन’ नाम नखुलाउने शर्तमा एक जना अहेवले भने ‘आएको सुविधा आफू खाने अनि तातो भुङग्रोमा हामीले अगाडि जानु पर्ने यो कहाँको नियम हो ?’ 

स्वास्थ्यकर्मीहरु खटिन नमान्दा बाहिरी जिल्लाबाट बझाङ प्रवेश गर्ने नाका बित्थडमा भारत तथा नेपालका विभिन्न जिल्लाबाट आउनेहरु बिना कुनै परीक्षण गाउँ फर्किरहेका छन् । यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले भने जिल्लामा कोरोनाको जोखिम बढ्दै गएका बेला यसलाई नियन्त्रण गर्नका लागि पालिकाहरु संवेदनशील नभएको बताउनुभयो ।

‘हामी उच्च जोखिमको अवस्थामा छौँ । तत्काल नियन्त्रणका उपाय थालौँ भनेर हामीले भनिरहेका छौँ’ जोशीले भन्नुभयो, ‘अरु काममा व्यस्त भएर हो कि के भएर हो पालिकाहरुले जोखिमको वेवास्ता गरिरहेका छन । पालिकाहरु नै संवेदनशील भएनन् भने अवस्था झन भयावह हुन सक्छ ।’

बझाङमा पछिल्लो दुई हप्ताको अवधिमा मात्रै लक्षण देखिएका शंकास्पद बिरामीहरुको जाँच गर्दा ८३ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । ३ सय ९० जनामा एन्टिजेन परीक्षण गर्दा ८३ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितहरु मध्ये ६ जना आइसोलेसनमा उपचाररत छन भने एक जनाको ज्यान गएको छ । 

‘परीक्षण गरिएकाहरुमा ३० प्रतिशत भन्दा बढीलाई सङ्क्रमण देखिन थालेको छ’ स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन नारायण जोशीले भन्नुभयाे, ‘परीक्षण कम भएकाले सङ्क्रमित थोरै देखिएका हुन ।’ 
 

अन्तिम अपडेट: चैत २७, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया