गण्डकी : हराएका भनिएका सांसद शाही अस्पतालमा !

 वैशाख १५, २०७८ बुधबार २०:९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधवार (आज) हुने भनिएको मतदान स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले आज चार बजेका लागि मतदानको कार्यसूची राखे पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि बैठक नै चल्न सकेन । दिउँसो चार बजे बैठक सुरु हुने तालिका भए पनि साढे चार बजेसम्म शाही नपुगेपछि खोजी भएको थियो । कतैबाट पनि उहाँको अवस्था थाहा हुन नसकेपछि उहाँलाई एमालेले बेपत्ता बनाएको नेपाली कांग्रेस र माओवादीका सांसदले आरोप लगाएका थिए ।

तर हराएका भनिएका सांसद शाही पोखराकै चरक अस्पतालमा भर्ना भएको अवस्थामा भेटिनुभएको छ । उहाँले कोरोना पोजेटिभ भएको रिपोर्ट देखाएपछि भर्ना गरेर उपचार चलिरहेको अस्पतालले जनाएको छ । तर गण्डकी प्रदेश प्रयोगशालाले मङ्गलवार (हिजो) स्वाब सङ्कलन गर्दा  सांसद खिमविक्रम शाहीको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।

नेपाली कांग्रेसले जनमोर्चाका सांसद शाहीलाई अविश्वासको प्रस्तावमा मत दिन रोक्नकै लागि षड्यन्त्र भएको आरोप लगाएको छ ।

यसअघि राष्ट्रिय जनमोर्चाले पनि आफ्ना सांसद खिमविक्रम शाहीको जीवनरक्षाको माग गरेको थियो । सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको र उहाँको जीवन रक्षा गर्न सभामुखलाई पत्र लेखेपछि  सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।

गण्डकीमा एमाले र जनमोर्चाको सरकार रहेकोमा जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसदसहित एमालेको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् ।

चार दल मिलेर नयाँ सरकार गठनको लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ  ।  

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया