दाङमा आजदेखि  लकडाउन

 बैशाख १७, २०७८ शुक्रबार ६:४४:१० | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा आज बिहान ६ बजेदेखि लकडाउन सुरु भएको छ ।

काेराेनाको नयाँँ भेरियन्टसहितको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनकाे घाेषणा गरिएकाे हाे । 

गएकाे मंगलवार घोराहीमा भएको सर्वदलीय बैठकले आजदेखि आउँदाे २५ गते बेलुका ६ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो ।

दाङमा लकडाउनको प्रभाव बिहानैदेखि देखिएको छ भने बजार, यातायात सबै सुनसान भएकाे छ । 

लकडाउनकाे समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने भएकाे छ । 

यस्तै अत्यावश्यक गाडीबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइएको छ । बैठकले कोरोना विशेष बेलझुण्डि अस्पताललाई ६५ बेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय बेड बनाउने निर्णय गरेको थियाे । 

तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजनसहितको ४०/४० बेड र प्रत्येक गाउँपालिकाले २० बेड क्षमताका अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गर्ने निर्णय भएको थियाे। दाङका १० वटै पालिकाले आइसोलेशन सेन्टर बनाउने काम सुरु गरेका छन ।

कोरोना महामारीकाबीच खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।

वैशाख २५ गतेपछि भने अवस्था हेरेर थप निर्णय लिइने प्रमुख जिल्ला अधिकारी पाैडेलले जानकारी दिनुभयाे। 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया