निर्मला हत्या प्रकरणको छानबिन गर्न आए एसएसपी चन्द

 भदौ ७, २०७५ बिहिबार १२:४२:३६ | दुर्गा उपाध्याय

कञ्चनपुर – ७ नम्बर प्रदेश प्रहरीले एसएसपी विक्रम चन्दलाई निर्मला हत्या प्रकरण र प्रहरीको अनुसन्धानको छानबिन तथा अनुसन्धानका लागि कञ्चनपुर पठाएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले शान्ति सुरक्षा कायम गर्न नसकेको र घटनाको निष्पक्ष छानबिन नगरेको आरोप लागेपछि प्रदेश प्रहरीले बिहीबारबाट काम सुरु गर्ने गरी चन्दलाई कञ्चनपुर खटाएको हो ।

प्रदेश प्रहरीले घटनाको अनुसन्धानका लागि एसएसपी चन्दलाई कञ्चनपुर पठाए पनि स्थानीयले भने आन्दोलन र प्रदर्शनका कार्यक्रमलाई अझ सशक्त बनाएका छन् । उनीहरुले बिहीबार बिहानैदेखि चोक चोकमा टायर बालेर प्रदर्शनलाई चर्काएका हुन् ।

स्थानीयले पूर्वपश्चिम राजमार्गमा बन्द गरेका छन् भने व्यापारीले समेत स्वस्फूर्त रुपमा व्यापार व्यवसाय बन्द गरेर आन्दोलनमा होमिएका छन् । एसएसपी चन्दलाई घटनाक्रम, नागरिक समाजसँग भेटघाट र प्रहरीको अनुसन्धानको फाइल हेरी सत्यतथ्य पत्ता लगाउने जिम्मेवारीका साथ पठाइए पनि स्थानीय भने उनीमाथी पनि विश्वस्त हुन सकेका छैनन् ।

निर्मलाको हत्या भएको झण्डै एक महिनासम्म वास्तविक दोषी पत्ता नलाग्नुको कारण प्रहरीको संलग्नता हुन सक्ने स्थानीय नरेश भट्टले बताउनुभयो । निर्मलाको बलात्कार र हत्यामा प्रहरी सुरुदेखि नै मौन रहेकाले उनीहरुले आवश्यक प्रमाणहरु नै नष्ट गरेको हुन सक्ने स्थानीयको बुझाई छ ।

प्रदर्शनकारीले एसपी र डीएसपी विरुद्ध नाराबाजी गर्दै उनीहरुको निलम्बनको माग गरेका छन् । यसअघि, निर्मलाको बलात्कार र हत्या संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

तर वास्तविक अपराधिलाई जोगाउन प्रहरीले मानसिक रुपमा अस्वस्थ व्यक्तिलाई सार्वजनिक गरेपछि आन्दोलन र प्रदर्शन उग्र बनेको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया