ठाउँ-ठाउँमा आइसोलेशन केन्द्र बन्दै, अक्सिजन उत्पादन बढाइँदै

 बैशाख २१, २०७८ मंगलबार ९:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - ठाउँ-ठाउँमा आइसोलेशन केन्द्र बनाउने र अक्सिजन उत्पादन बढाउने काम सुरु भएको छ ।

काठमाण्डौसहित सङ्क्रमित बढी भएका जिल्लाका अस्पतालमा बिरामीले बेड पाउने सम्भावना कम हुँदै गएपछि स्थानीयबासिन्दा, सङ्घसंस्था, पालिका र प्रदेश सरकारको पहलमा आइसोलेशन केन्द्र बनाउन थालिएको हो । कतिपय ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र बनिसकेको छ भने कतिपय ठाउँमा बनाउने तयारी छ ।

केन्द्र सरकारले भौतिक पूर्वाधारको सङ्ख्या बढाउने तयारी गरेसँगै पालिकाहरुमा पनि आइसोलेशन केन्द्र तथा अस्थायी अस्पताल बनाउने क्रम बढ्न थालेको हो । पालिकाहरुले अस्पतालमा बेड क्षमता बढाउने, सामान्य आइसोलेशनलाई स्तरोन्नति गरेर अक्सिजनसहितको बेड बनाउने काम गरिरहेका छन् ।

च्यासलमा स्थानीयको अग्रसरतामा आइसोलेशन केन्द्र

ललितपुरको च्यासलका स्थानीयबासिन्दाले अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार गरेका छन् ।

च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा पाँच बेडको अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार गरिएको हो । कोरोनाबाट सङ्क्रमित हुने स्थानीय बासिन्दाका लागि आइसोलेशन सेन्टर तयार गरिएको च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यञ्जनकारले जानकारी दिनुभयो ।

भक्तपुरमा कलेजमा १०० बेडको आइसोलेशन केन्द्र

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इञ्जिनियरिङ कलेजमा १०० बेडको आइसोलेशन केन्द्र बनाइएको छ ।

कलेजले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न भन्दै १०० बेड आइसोलेशन केन्द्र बनाएको हो । आइसोलेशन बेडमा बिरामीलाई चाहिने स्यानिटाइजर, साबुन, टावेल, टुथपेस्टलगायत सबै सामाग्री राखिएको छ । स्थानीय सरकारको र कलेजको सहयोगमा आइसोलेशन केन्द्र बनाइएको हो ।

मूलपानी नगर अस्पताल सञ्चालनमा

काठमाण्डौको मूलपानीमा कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा अहिले दश सङ्क्रमितको उपचार भइरहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमितका बिरामीलाई भर्ना गरी उपचार सुरु गरिएको जानकारी दिँदै उहाँले सङ्क्रमितको उपचारका लागि आवश्यक परेमा ०१–४१५३५९३ मा सम्पर्क गर्न सकिने बताउनुभयो । साथै नगरपालिकाभित्र कसैलाई कोभिडको शङ्का लागेमा उपचारका लागि एम्बुलेन्स आवश्यक परे ९८४१६५५६२१ चिरन कटुवाल, ९८६१–६६९३०६ कृष्ण बिसुन्खेलाई सम्पर्क गर्न सकिने जानकारी गराइएको छ । 

चन्द्रागिरी अस्पतालमा आइसोलेशन केन्द्र बनाइने

काठमाण्डौको चन्द्रागिरी नगरपालिकाले चन्द्रागिरी अस्पताल थानकोटमा आइसोलेशन केन्द्र बनाउने भएको छ ।

काठमाण्डौ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरस्तरीय अस्पतालका रुपमा रहेको चन्द्रागिरी अस्पताल थानकोट र मनमोहन अस्पताल दहचोकमा आइसोलेशन सेन्टर निर्माण गर्न लागेको जानकारी दिनुभयो । चन्द्रागिरी अस्पतालमा २० र मनमोहन अस्पतालमा ३०० भन्दा बढी कोरोना सङ्क्रमितको उपचार गर्न सकिने उहाँको भनाइ छ ।

टोखा नगरपालिका​मा अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र बन्ने

टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र बन्ने भएको छ ।

काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको यो नगरपालिकाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र निर्माण गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ मा रहेको राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेशन केन्द्र स्थापना गर्न पहल भइरहेको जानकारी दिनुभयो । राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र ८० शय्याको हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी राख्ने व्यवस्था गरेको छ । 

दाङका पालिकामा अक्सिजनसहितको बेड बन्दै

दाङका धेरै पालिकाहरु अक्सिजनसहितको बेड बनाउन सक्रिय छन् । तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शय्याकाे अस्पताल तयार पारेको छ ।

अक्सिजन उपलब्ध हुनासाथ अस्पताल सञ्चालन हुने नगरपालिकाले जनाएको छ । त्यस्तै लमही नगरपालिकाले २५ शय्या, बबई गाउँपालिकाले ३० शय्या, दंगिशरणले १० शय्या, शान्तिनगरले २० शय्या र बंगलाचुलीले १५ शय्याका अस्पताल तयार पारेका छन् । देउखुरी उपत्यकाका चार पालिकालाई केन्द्रीत गरी लमहीमा आइसोलेशनसहितको अस्पताल बनाउने काम भैरहेको छ ।

गढवा नगरपालिकाले १५ शय्याको र बंगलाचुली गाउँपालिकाले पनि १५ शय्याको अस्पताल बनाउँदैछ । जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका पालिकाले कम्तीमा २० तथा महानगर र नगरपालिकाले ४० शय्याका अक्सिजनसहितको बेड बनाउने निर्णय गरेअनुसार पालिकाहरु अक्सिजनसहितका आइसोलेशन केन्द्र तथा अस्पताल बनाउन जुटेका छन् । 

कपिलवस्तुमा पनि बन्दै 

कपिलवस्तु नगरपालिकाले २२ बेडको आइसोलेशन सेन्टर बनाएको छ । आइसोलेशन सेन्टरमा भेन्टिलेटर र आईसीयू चाहिनेबाहेकका बिरामीलाई राखिने छ । वाणगंगा नगरपालिकाले १५ शय्याको अक्सिजनसहितको आइसोलेशन केन्द्र तयार गरेको छ । विजयनगर गाउँपालिकाले पनि १८ बेडको आइसोलेशन केन्द्र बनाएको छ । 

बाँकेमा धमाधम आइसोलेशन केन्द्र 

अस्पतालमा बिरामीको चाप बढेपछि बाँकेका पालिकाले धमाधम आइसोलेशन केन्द्र बनाइरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले ५० बेडको आइसोलेशन केन्द्र बनाएको छ । खजुरा गाउँपालिकाले ५० बेडको आइसोलेशन केन्द्र बनाएको छ । कोहलपुर नगरपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा बेड क्षमता बढाएर २५ पुर्याउने र अरु ठाउँमा २५ बेडको आइसोलेशन बनाउने नगरपालिकाले जनाएको छ । 

रुपन्देहीमा आइसोलेशन केन्द्र तथा अस्थायी अस्पताल बनाइँदै​​

रूपन्देही जिल्लाका १६ वटै पालिकाहरुले आइसोलेशन केन्द्र तथा अस्थायी अस्पताल बनाउने कामलाई तीव्रता दिएका छन् । सैनामैना नगरपालिकाले अस्थायी कोभिड अस्पताल बनाउन थालेको छ । तिलोत्तमा नगरपालिका-२ को स्वास्थ्य कार्यालयलाई रुपान्तरण गरी २० शय्याको आइसोलेशन केन्द्र सञ्चालन गरेको छ । सियारी गाउँपालिकाले पाँच शय्याको अक्सिजन सिलिण्डरसहितको आइसोलेशन बनाएको छ । 

नवलपरासीमा अक्सिजनसहितको कोरोना उपचार केन्द्र

पश्चिम नवलपरासीका पालिकाले आइसोलेशन र अस्थायी अस्पताल बनाउन थालेका छन् । सुनवल गाउँपालिकाले अक्सिजनसहितको २० बेडको कोरोना उपचार केन्द्र बनाएको छ । बर्दघाट नगरपालिकाले १० बेडको अक्सिजनसहितको आइसोलेशन केन्द्र बनाएको छ । सबै पालिकाले आइसोलेशन तथा अस्थायी अस्पताल बनाइरहेका छन् ।

दमौली अस्पतालमा आईसीयू र भेन्टिलेटर कक्ष तयार

तनहुँको दमौली अस्पतालले सात आईसीयू र चार वटा भेन्टिलेटरसहितको शय्या तयार पारेको छ ।

नयाँ भेरियेन्टसहितको कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा अस्पतालले आईसीयू र भेन्टिलेटर कक्ष तयार पारेको हो । स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा अस्पतालले आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । आईसीयू र भेन्टिलेटरको व्यवस्था भएपछि अब कोभिडका गम्भीर प्रकृतिका बिरामीलाई पनि बाहिर पठाउनु नपर्ने दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले जानकारी दिनुभयो । 

यस्तै दमौली अस्पताल परिसरमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया पनि सुरु भएको छ ।  जेठ महिनाभित्र अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन थालिने अस्पतालले जनाएको छ । 

काठमाण्डौमा एक हजार शय्याको अस्थायी अस्पताल बनाउने तयारी

सरकारले नेपाली सेनामार्फत काठमाण्डौ उपत्यकामा एक हजार शय्याको अस्थायी संरचनाको अस्पताल बनाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार देशवासीका नाममा सम्बोधन गर्दै शय्या नपाउने समस्या टार्न नेपाली सेनालाई १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । सातै प्रदेशमा एक, एक हजारको होल्डिङ सेन्टर र काठमाण्डौमा १ हजार शय्याको अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गङ्गालाल अस्पतालमा अक्सिजन उत्पादन  सुरु

काठमाण्डौ महानगरपालिकाको लगानीमा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको छ ।

प्लान्टबाट आइतवारदेखि अक्सिजन उत्पादन सुरु गरिएको हो । प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ ।  यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ ।

मुटुको समस्या भएर केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले छिटै कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट राख्ने तयारी रहेको जानकारी दिनुभएको छ ।

प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर

कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । कोराना भाइरस सङ्क्रमणका बिरामीलाई अक्सिजनको अभाव भएपछि फाउन्डेशनले सोमवार ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो । 

यस्तै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिन्डर र टीकापुर अस्पताललाई २० सिलिन्डर उपलब्ध गराउने फाउन्डेशनले जनाएको छ । 

कर्णालीमा अक्सिजन प्लान्ट सञ्चालन

कर्णालीमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भएर थन्किएको अक्सिजन प्लान्ट आइतवारदेखि सञ्चालनमा आएको छ । आइतवारदेखि नै कोभिड अस्पतालको आइसोलेशन कक्षमा अक्सिजन आपूर्ति गरिएको अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया