‘गएकाे वर्ष झन्डै १६ कराेड मानिसले गम्भीर भाेकमरीकाे सामना गरे’

 वैशाख २३, २०७८ बिहीबार १९:७:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गर्नुपरेको जनाएको छ । राष्ट्र सङ्घसमेतका १६ संस्थाले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ । 

त्यस प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ देशलाई केन्द्रित गरेको राष्ट्र सङ्घको भनाइ छ । प्रतिवेदनले गएकाे वर्ष उत्पन्न खाद्य सङ्कटको आकार र कठिनाइ खासगरी दीर्घकालिक द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दि र मौसमी प्रतिकूलताले उत्पन्न भएको औल्याएको छ । 

सन् २०१९ मा झन्डै दुई करोड मानिसले खाद्य सङ्कट बेहोर्नुपरे पनि सन् २०२१ मा झन्डै १६ करोड मानिसले सङ्कट, आपत्काल वा भोकमरीको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनका अनुसार भयानक सङ्कटबाट गुज्रिरहेका विश्वका १० देशका झन्डै दुई तिहाइ नागरिकले चरम खाद्य सङ्कट झेलेका छन् जसमा कङ्गो, यमन, अफगानिस्तान, सिरिया, सुडान, उत्तरी नाइजेरिया, इथियोपिया, दक्षिण सुडान, जिम्बाब्वे हाइटी रहेका छन् । बुर्किना फासो, दक्षिण सुडान र यमनका झन्डै एक लाख ३३ हजार मानिस भोकमरीबाट अतिशय पीडामा छन् ।

राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन सय सात पृष्ठको 'ग्लोबल रिपोर्ट अन फूड क्राइसिस' अर्थात् विश्वको खाद्य सङ्कट प्रतिवेदनको भूमिका लेख्दै भन्नुभएको छ, ‘चरम खाद्य असुरक्षा सामना गरिरहेका र खाद्यान्न, पोषण र जीविकोपार्जनको अति जरुरी परेका मानिसको सङ्ख्या बढ्दो क्रममा छ ।’

उहाँले भन्नुभएको छ, ‘अकाल र भोकमरीको एक्काइसौँ शताब्दीमा कुनै स्थान छैन । हामीले भोक र द्वन्द्व दुवैलाई एकैसाथ समाधान गर्नुको विकल्प छैन ।’ 

विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री आरिफ हुसैनले पाँचौँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा खाद्य सङ्कट निम्तिनुमा प्रमुख रूपमा द्वन्द्व नै जिम्मेवार रहेको बताउनुभयो । उहाँले गएकाे वर्ष विश्वका २३ राष्ट्रका झन्डै १० करोड मानिसले खाद्य सङ्कट बेहाेरेकाे जानकारी दिनुभयो । 

‘हामीले द्वन्द्वको राजनीतिक समाधान नखोज्दासम्म मानवीय सहायता चाहिने मानिसको सङ्ख्यामा कुनै कमी आउने देखिन्न’ उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया