प्रयोगविहीन ५ हजारभन्दा धेरै अक्सिजन सिलिन्डर अस्पताललाई, दुरुपयोग भएका सिलिन्डर सङ्कलन हुँदै

 बैशाख २५, २०७८ शनिबार ७:५३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अक्सिजन सिलिन्डरको अभावका कारण बिरामीको उपचार प्रभावित भएपछि प्रयोगविहीन भएका सिलिन्डर अस्पतालमा पुर्याउन थालिएको छ ।

काठमाण्डौ उपत्यकासहित देशभर नै दुरुपयोग भएका अक्सिजनको सिलिन्डर सङ्कलन गर्ने काम धमाधम भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो पाँच दिनमा पाँच हजारभन्दा धेरै अक्सिजन सिलिन्डर सङ्कलन गरी विभिन्न अस्पतालमा पठाएको उहाँले बताउनुभयो । दुरुपयोग भएका अक्सिजन सिलिन्डरको खोजीका लागि प्रहरीले अभियान नै चलाएको छ। अक्सिजनको सिलिन्डर अभावमा उपचार नै प्रभावित हुन थालेपछि दुरुपयोग भएका सिलिन्डरको सङ्कलनका प्रहरीले सहजीकरण गर्दै आएको छ ।

स्वास्थ्यको प्रयोजनबाहेकका क्षेत्रमा प्रयोग भएका अक्सिजनको सिलिन्डर सङ्कलनमा थप कडाइ गरिने पनि प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो  । उहाँले स्टक एवं डम्प भइ बसेका सिलिन्डरको खोजीलाई बढाएको र कहीँकतै दुरुपयोग भइरहेको पाइए प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन पनि आग्रह गर्नु भएको छ ।  

औद्योगिक क्षेत्रसँगै कवाडी लगायतमा क्षेत्रमा सिलिन्डर दुरुपयोग भइरहेको  पाइएको छ । अहिले कोरोनाको महामारीले अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । यस्तो अवस्थामा सिलिन्डरको दुरुपयोग नगर्न पनि प्रहरीले आग्रह गरेको छ । केही समयअघि मात्रै सिलिन्डरको दुरुपयोग रोक्न प्रहरीलाई अक्सिजन उद्योगको निगरानीको जिम्मा दिइएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया